+
Search

ताजा अपडेट +

पपुलर +

सीमा क्षेत्रमा दिनहुँ सयौँ नेपालीको स्वदेश भित्रिने लर्को

पालिका लाइभ
२०७७ जेष्ठ ११, आईतवार

काठमाडौं- भारतमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण निरन्तर बढिरहेको र बन्दाबन्दीका बीच पनि भारतले रेल सेवा सञ्चालनमा ल्याएकाले भारतबाट स्वदेश फर्कने नेपालीको दिनहुँ सीमा नाकामा लर्को लाग्ने गरेको छ।

शनिबार मात्र विभिन्न सीमानाकाबाट सयौंको संख्या नेपाल भित्रिएका छन्। भारतीय क्वारेन्टाइनमा १४ दिनभन्दा बढी समय बिताएका एक हजार दुई सय नेपाली बेलहिया नाका हुँदै नेपाल भित्रिएका छन् ।

क्वारेन्टाइन अवधि पूरा गरेपछि उनीहरू दसगजामा अलपत्र परेका थिए भने स्वदेश फर्किन पाउनुपर्ने माग गर्दै बेलहिया नाकामा शुक्रबार नाराबाजी गरेका थिए। भारतमा अलपत्र परेपछि स्थानीय प्रशासन र विभिन्न पालिकाको सक्रियतामा शुक्रबार राति उनीहरूलाई नेपाल भित्र्याइएको हो ।

इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक ईश्वरी अधिकारीले उनीहरूलाई क्वारेन्टाइनमा राख्ने गरी स्वदेश ल्याइएको जानकारी दिए। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले शुक्रबार एक हजार १८५ जना नेपालीलाई रुपन्देही भित्र्याइएको बताए।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ