कास्की- पोखरामा जारी १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्र्तगत पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज भएको महिला क्रिकेटको उद्घाटन खेलमा नेपालले विजयी शुरुआत गरेको छ ।
आयोजक नेपालले पहिलो खेलमा माल्दिभ्समाथि १० विकेटको ठूलो जीत निकालेको हो ।
टस जितेर ब्याटिङ रोजेको माल्दिभ्स १०.१ ओभरमा १६ रनमै समेटिएको थियो ।
सात रनमा पहिलो विकेट गुमाएको माल्दिभ्सले ११ रनमा दोस्रो र तेस्रो, १५ रनमा चौथो, पाँचौँ, छैटौँ र सातौँ तथा १६ रनमा बाँकी विकेट गुमाएको थियो ।
माल्दिभ्सको पारीमा हम्जा नियाजले नौ तथा हाफ्सा अब्दुल्लाले चार रन जोडिन् । बाँकी सबै खेलाडी शून्यमै आउट भए । नेपालले अतिरिक्त तीन रन दिएको थियो ।
जीतका लागि १७ रनको लक्ष्यसहित मैदान उत्रिएको नेपालले पहिलो ओभरमै विजयी लक्ष्य पार ग¥यो । मात्रै पाँच बलको सामना गरेकी काजल श्रेष्ठले तीन चौका प्रहार गर्दै अविजित १३ रन जोडिन ।
पाँच बल फालेकि माल्दिभ्सका बलर समा अलीले चार अतिरिक्त रन दिएपछि ‘ननस्ट्राइक’मा रहेकी सीता मगरले एक बल पनि सामना गर्नुपरेन ।
दुई दशमलव एक ओभरमा दुई मेडनसहित बिना रन ६ विकेट लिएकी अञ्जली चन्द ‘वुमन अफ दी म्याच’ भयो । करुणा भण्डारीले दुई ओभरमा दुई विकेट लिइन् । उनले उनले एक मेडन राख्दै चार रन खर्चिएकि थिइन् ।
जीतपछि नेपाली टोलीका कप्तान रुबिना क्षेत्री बेलबासीले प्रतियोगितामा राम्रो शुरुआत गर्न सकेकामा खुशी लागेको सुनाए ।
यही प्रतियोगिताका लागि आफूहरुले लामो समयदेखि मेहनत गरेको बताउँदै उनले नेपाली महिला क्रिकेट टोलीले केही गरी देखाउने अवसरका रूपमा यो प्रतियोगितालाई लिएको बताए ।
माल्दिभ्सका कप्तान जुना मारियाले नेपाल बलियो टोली भएको धारणा राखिन् ।
पहिलो अन्तर्राष्ट्रिय खेल भएका कारण उत्कृष्ट प्रदर्शन गर्न नसके पनि यस प्रतियोगितालाई आफूहरुले अनुभव बटुल्ने अवसरका रूपमा लिएको उनले बताए ।
प्रतियोगिताअन्तर्गत मङ्गलबार श्रीलङ्का र बङ्गलादेशबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया