+
Search

ताजा अपडेट +

पपुलर +

वडा कार्यालयको नयाँ भवन चर्कियो, गाउँपालिकाको कार्यालयबाट सेवा प्रदान

पालिका लाइभ
२०७६ कार्तिक ५, मंगलवार

गोरखा- अजिरकोट गाउँपालिका–३ को वडा कार्यालय निर्माणमा लापरबाही भएको छ ।

कमसल सामग्रीको प्रयोगले भवनको पेटी चर्केको छ भने केही भाग भत्किएको छ । भवनमा लगाइएको रङ समेत उडेको छ ।

कार्यालय निर्माणको जिम्मेवारी ठेकेदार मनु गुरुङले लिएका थिए ।

गत २९ फागुनमा भवन निर्माण सम्पन्न गरी वडालाई हस्तान्तरण गरेको ठेकेदार गुरुङले बताए । उता वडाध्यक्ष तयाराज गुरुङले भने कार्यालय हस्तान्तरण नभएको बताए ।

दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेकेदार गुरुङले ३८ लाख ९६ हजारमा ठेक्का लिएका थिए ।

ठेकेदारले कार्यालय हस्तान्तरण गरे पनि कार्यालयमा कुनै काम भएको छैन । सेवाग्राही सामान्य कामका लागि पनि भच्चेक नै धाउनुपर्ने बाध्यता छ ।

गाउँपालिकाकै एक कोठामा त्वयाराज गुरुङले वडा कार्यालय चलाएका छन् ।

‘उहाँको घर भच्चेकमा छ । आफूलाई पायक पर्ने भएकाले वडा कार्यालय त्यहीँ राखिएको हो,’ सत्तारुढ नेकपाकी जिल्ला कमिटी सदस्य अनिता भुजेलले भनिन्, ‘त्यहींबाट काम चलाइराखेका छन् ।’

अजिरकोट गाउँपालिकाका अध्यक्ष फणिन्द्र धितालले वडा कार्यालय निर्माणमा लापरबाही भएको पाइए छानिबिन गरेर कारबाही गर्ने बताए । ‘वडा कार्यालयको भवन सम्पन्न भयो भन्ने सुनेको छु ।

विस्तृत रूपमा वडाअध्यक्षले निगरानी गर्नुभएको थियो । कार्यालय चिरा परेको, भत्केको मलाई जानकारी छैन,’ उनले भने, ‘पहिला गएर हेर्दा ठीकै थियो संरचना । अहिले त्यस्तो भएको रहेछ भने हामी भवन स्वीकार गर्देनौं । छानबिन गरेर कारबाही गछौं ।’

ठेकेदार गुरुङले भने चर्केका तथा भत्केका भागहरु बनाउने बताए । उता वडाध्यक्ष गुरुङले भने भवन बनाएर हस्तान्तरण नभइसकेकाले भच्चेकमा नै वडा कार्यालय चलाएको बताएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ