गोरखा– राष्ट्रिय गौरवको मर्स्याङ्दी कोरिडोर निर्माणको विषयमा गोरखाको पालुङ्टारमा विवाद भएको छ ।
मनाङदेखि चितवनसम्म निर्माण हुने २२० केभिए क्षमताको प्रसारण लाइन पालुङ्टारको मुटु ठाँटिपोखरीबाट लैजाँदा त्यसले सहरी सुन्दरता बिगार्नुका साथै बस्तीलाई असुरक्षित बनाउने स्थानीयले विरोध गरेका हुन् ।
मर्स्याङ्दीको छेउछेउ जहाँ मानव बस्ती छैन, त्यहाँबाट लानु पर्ने हो’ संघर्ष समितिका अध्यक्ष श्रीकृष्ण पाण्डेले भने, ‘तर नेपाल सरकारले स्मार्ट सिटीको रूपमा घोषणा गरेको पालुङ्टार नगरपालिकाको शोभा बिगार्ने र यहाँका बस्ती असुरक्षित बनाउने हिसाबले जुन काम हुन लागेको छ, त्यो हामीलाई स्वीकार्य छैन ।’
सरकारले लमजुङ सहित गण्डकी अञ्चलमा उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा व्यवस्थित गर्ने उद्देश्यले मर्स्याङ्दी कोरिडोर २२० केभिए प्रसारण आयोजना निर्माण गरिरहेको छ ।
करिडाेर मार्फत मनाङबाट लमजुङ, गोरखा, तनहुँ हुँदै चितवनमा सम्म ११० किलो मिटर लामो प्रसारण लाइन निर्माण गर्ने सरकारको योजना छ ।
१६५ मिटर अग्लो पोलमा १६ सय मेगावाटसम्म विद्युत बोक्न सक्ने नेपालकै सबै भन्दा बढी क्षमताको उक्त प्रसारण लाइन मानव बस्तीलाई असर नगर्ने गरी बनाउनु पर्ने हुन्छ ।
‘अन्य थुप्रै विकल्प हुँदा हुँदै ठेकेदारलाई नाफा हुने गरी छोटो माध्यमबाट बस्तीलाई जोखिममा पारेर आयोजना बनाउन लागिएको छ’ पाण्डेले भने, ‘यसले लिगगिकोटबाट सञ्चालन हुन लागिरहेको प्याराग्लाडिङलाई असर गर्छ ।
बस्तीको विचबाट यती ठुलो लाइन लैजाँदा हामी सधैँ त्रासमा बाच्नु पर्ने हुन्छ ।’ पहिले मर्स्याङ्दी नदीको किनार हुँदै आयोजना बनाउने स्टमेट तयार गरिएको थियो ।
तनहुँका शीर्ष राजनैतिक दलको दबाबमा स्टमेट परिवर्तन गरी पालुङ्टार हवाई मैदान नजिकैबाट प्रसारण लाइन निर्माण गर्न लागिएको थियो ।
अन्तर्राष्ट्रिय मापदण्ड अनुसार विमान स्थल नजिक उच्च क्षमताको प्रसारण लाइन निर्माण गर्न नमिल्ने भएपछि नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएन ।
त्यसपछि पालुङ्टार नगरपालिकाको वडा नम्बर ४ र ५ का केही भू-भागमार्फत प्रसारण लाइन निर्माण अगाडी बढाउने आयोजनाले तयारी गरेपछि स्थानीय विरोधमा उत्रिएका हुन् ।
‘अब हामी आन्दोलनमा उत्रिनुको विकल्प भएन ठेकेदारलाई फाइदा हुने हिसाबले पहुँचको भरमा स्टमेट परिवर्तन गरेर यताबाट ल्याउने काम भएको छ’ संर्घष समितिका अध्यक्ष पाण्डेले भने, ‘यो कुरा हामी कुनै पनि हालतमा मान्न तयार छैनौँ ।’
करिब ३ वर्ष अघि काम सुरु भएको उक्त आयोजनालाई ३ खण्डमा विभाजन गरी ठेक्का लगाइएको छ ।
पहिलो खण्ड अन्तर्गत मनाङबाट लमजुङ हुँदै गोरखाको पालुङ्टार स्थित मार्कीचोक सवस्टेशनमा उक्त प्रसारण लाइन जडान हुने आयोजनाले बताएको छ ।
त्यहाँबाट आँपपिपल (हर्मी) चोरकाटे हुँदै तनहुँमा जोड्ने समेत तयारी गरिएको भन्दै स्थानीयले उक्त कुरा आफूहरूलाई मान्य नभएको बताएका छन् ।
त्यसले झनै ठुलो बस्ती जोखिममा पर्ने उनीहरूको दाबी छ ।यता मर्स्याङ्दी कोरिडोर २२० केभिए प्रसारण आयोजनाका इन्जिनियर नारायण रेग्मीले पनि पालुङ्टारका स्थानीयले केही असन्तुष्टि जनाएको बताए। ‘त्यहाँबाट कोरिडोर बनाउनु हुँदैन भन्ने उहाँको माग छ’ उनले भने ।
प्रतिक्रिया