गोरखा- पालुङटार नगरपालिका वडा नं. १ र २ को सिमानामा रहेको पाउरोटी भण्डारबाट चापाभञ्जाङ जाने बाटोको चोकमा लगाएको स्ट्रोङ मेसिनरी वालको काम हचुवाको भरमा गरेको भन्दै स्थानीय बासिन्दाले भत्काएका छन् ।
पाउरोटी भण्डारबाट चापाभञ्ज्याङ जाने बाटोमा लगाइँदै गरेको उक्त स्ट्रोङ मेसिनरी वालको स्टमेट स्थानीय बासिन्दालाई नदेखाइएको र वालमा गुणस्तरहीन सामग्रीको प्रयोग गरेको भन्दै आक्रोशित भएका सर्वसाधारण गत बिहीबार वाल भत्काएका हुन् ।
१२ लाखको योजना रहेको उक्त वाल निर्माणको काम गर्नका लागी उपभोक्ता समिति गठन गरेको र उपभोक्ता समितिले काम गर्नका लागी नगरपालिकामा जाँदा आफूहरूलाई २५ गते भित्र तपाइहरूले काम गर्न सक्नुहुन्न यो काम मैले ठेकेदारलाई दिइसकेको छु भन्दै नगरपालिकाका इन्जिनियर नीरज देवकोटाले फर्काइदिएको पूर्व गाविस प्रतिनिधि समेत रहेका स्थानीय कृष्ण गिरीले जानकारी दिए ।
इन्जिनियर देवकोटाले काममा अवरोध सृजना गरे योजना बन्द गरिदिने धम्की दिएको गिरीले बताए । स्थानीय प्रकाश न्यौपानेले जनप्रतिनिधिहरूले समेत जनताको गुनासो नसुनी कामको गुणस्तरीयतामा ध्यान नदिएको दुखेसो व्यक्त गरे ।
नगरपालिकाले समयमा योजनाको काम नगरेको र उक्त स्ट्रोङ मेसिनरी वालको चाहानामा नौ घर परिवारको तीन सय मुरी धान उत्पादन हुने खेत बँझिने अवस्थामा पुगेको दुखेसो स्थानीय गोकर्ण आचार्यले गरे ।
किसानहरूको खेत बाँझो हुन लागेको र खेत नरोपिने अवस्था सिर्जना भएको प्रसंगमा वडा नं. १ का वडा अध्यक्ष कृष्ण परियारलाई जानकारी गराउँदा आफ्नो फुर्सद नभएको प्रतिक्रिया दिएर पन्छिन खोजेका छन् ।
पालुङार नगरपालिकाका नगरप्रमुख इं दीपक बाबु कँडेलले नगरपालिकाले किसानको खेत बाँझो हुन नदिने भन्दै किसानलाई पाइपको व्यवस्था मिलाएर भए पनि खेत बाँझो हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।
योजना अनुगमन समितिको संयोजक समेत रहेकी उपप्रमुख पम्फा बसेलले स्थलगत अनुगमन गर्न जाँदा काममा गुणस्तर नदेखेर बनेको संरचना भत्काएर गुणस्तरीय काम गर्न निर्देशन दिएको दाबी गरिन् ।
उनले ’कुनै पनि योजनामा जनताले चासो राख्नु सकारात्मक कुरा हो, तर योजनाको नाममा कानुनलाई हातमा लिन खोज्नु गलत भएको बत्ताइन्। उनले उक्त योजनामा ठेकेदारको हेलचक्र्याइँ देखिएको समेत बत्ताइन् ।
नगरपालिकाका इन्जिनियर नीरज देवकोटाले भने एउटा योजनामा दुई वटा उपभोक्ता समिति बनेर आएकोले नगरप्रमुख सहभागितामा ठेक्का दिएको बताए ।
हेब्बी स्टक्चरको काम गर्न उपभोक्ता समितिलाई गाह्रो हुने हुँदा नगरपालिकाले उक्त काम ठेक्का दिएको इन्जिनियर देवकोटाको भनाई छ ।
प्रतिक्रिया