+
Search

ताजा अपडेट +

पपुलर +

धरान उपमहानगरको बजेट डेढ महिनापछि पारित, २ अर्ब ७६ करोड विनियोजन

पालिका लाइभ
२०८३ श्रावण २९, शुक्रबार

काठमाडाैं- धरान उपमहानगरपालिकाले चालू आर्थिक वर्षका लागि २ अर्ब ७६ करोड १९ लाख २७ हजार बराबरको बजेट बल्ल पारित गरेको छ । बिहीबार १९औं नगर सभामा कार्यवाहक मेयर अइन्द्रविक्रम बेघाले पेश गरेको बजेट पारित गरेको हो । योसँगै धरानले बजेट होलिडेबाट पार पाएको छ ।

स्थानीय तहले असार १० भित्र बजेट ल्याइसक्नुपर्ने कानुनी प्रावधान छ । तर, यहाँ आन्तरिक विवादले बजेट पारित हुन सकेको थिएन । धरानले सडक तथा भौतिक पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, रोजगारी र विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ ।

बेघाले नगर कार्यपालिकातर्फ २ अर्ब ४७ करोड ४८ लाख ३३ हजार र २० वटा वडा कार्यालयतर्फ २८ करोड ७० लाख ९४ हजार विनियोजन गरेका छन् । आन्तरिक राजस्वबाट १ अर्ब ४० करोड ९४ लाख ८८ हजार, सङ्घीय अनुदानबाट ८६ करोड १९ लाख, प्रदेश सरकार अनुदानबाट ९ करोड १६ लाख ४८ हजार, राजस्व बाँडफाँटबाट ३२ करोड ८८ लाख ९१ हजार, सडक बोर्डबाट १ करोड र गत वर्षको मौज्दातबाट ७ करोड प्राप्त हुने अनुमान गरिएको छ ।

बजेटमा सहरी योजना तथा भौतिक पूर्वाधार विकासतर्फ ९९ करोड ५० लाख विनियोजन गरिएको छ । त्यसमध्ये खाल्डाखुल्डीमुक्त नगर कार्यक्रममा ४ करोड, धरानको भानुचोक सौन्दर्यीकरण, स्थायी स्टेज निर्माणमा १ करोड र सभागृह निर्माणको लागि २ करोड विनियोजन गरिएको छ ।

यस्तै, स्वास्थ्यतर्फ १२ करोड ४५ लाख, सशर्त अनुदानबाट ९ करोड ३३ लाख, धरान अस्पताल सञ्चालनका लागि २ करोड र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गर्ने कार्यक्रमका लागि ५० लाख छुट्याइएको छ ।

शिक्षा, युवा तथा खेलकुदतर्फ ४९ करोड ८६ लाख ८२ हजार विनियोजन गरिएको छ । सङ्घ तथा प्रदेश सरकारको सशर्त अनुदानसहितको सो बजेटबाट शैक्षिक तथा खेलकुद कार्यक्रम सञ्चालन गरिने साथै एउटा सामुदायिक विद्यालयलाई स्कुल बस उपलब्ध गराउने कार्यक्रम बजेटमा समेटिएको छ ।

त्यसैगरी, सामाजिक विकासमा आन्तरिक स्रोतबाट १० करोड विनियोजन गरिएको छ । सुकुमवासी व्यवस्थापनमा ५० लाख, सिटी सफारी तथा ट्याम्पो चालकको दुर्घटना सहयोग कोष २० लाख, सडक मानव व्यवस्थापन, खेलकुद, बाँदर नियन्त्रणमा १० लाख, विपन्न परिवारका सदस्यको दाहसंस्कार साझेदारीका लागि १० लाख, लैङ्गिक समानता र समावेशीकरण कार्यक्रममा १ करोड ५ लाख विनियोजन गरिएको छ ।

आर्थिक विकासमा ६ करोड ८० लाख विनियोजन गरिएको छ । जसमध्ये सङ्कटग्रस्त सहकारी व्यवस्थापनका लागि ५ करोड छुट्याइएको छ । वन, वातावरण, ऊर्जा तथा विपद् व्यवस्थापनतर्फ ३ करोड ९५ लाख ७५ हजार विनियोजन गरिएको छ । विपद् व्यवस्थापन कोषका लागि २ करोड छुट्याइएको छ । बजेटमा कानुन तथा न्याय सम्पादनतर्फ आन्तरिक स्रोतबाट २० लाख विनियोजन भएको छ ।

यस्तै, धरानको खानेपानी चतरा कोशी नदीबाट पानी आपूर्ति गर्ने सरकारको योजनामा साझेदारीका लागि ३ करोड ११ लाख आन्तरिक स्रोतबाट विनियोजन गरिएको बेघाले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ