काठमाडौं– नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) को हुप्सेकोट गाउँपालिका-५ धौवादी क्षेत्रमा ठूलो परिमाणमा फलाम खानीको सम्भावना देखिएको छ। खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा करिब १० करोड मेट्रिकटन फलामको कच्चा पदार्थ (धाउ) रहेको प्रारम्भिक प्रक्षेपण गरिएको छ।
विभिन्न चरणमा गरिएको अध्ययनले नाम्जाकोटदेखि धौवादीसम्म फैलिएको करिब १० किलोमिटर क्षेत्रफलमा फलामको भण्डार रहेको पुष्टि गरेको विभागका अधिकारीहरू बताउँछन्। सोही सम्भावनालाई व्यावसायिक उत्पादनमा रूपान्तरण गर्ने लक्ष्यसहित ‘धौवादी फलाम कम्पनी लिमिटेड’ स्थापना भई थप अनुसन्धानको काम अघि बढाइएको छ।
कम्पनीका अनुसार करिब ४१ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको खानीबाट दीर्घकालीन रूपमा दैनिक १ हजार ५ सय टनसम्म फलाम उत्पादन गर्न सकिने सम्भावना छ। वार्षिक करिब ५ लाख टन फलामजन्य वस्तु उत्पादन गर्न सकिने आँकलन गरिएको छ, जसले देशको कुल मागको करिब २५ प्रतिशत आयात प्रतिस्थापन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
हाल खानी सञ्चालन पूर्व वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रक्रिया जारी रहेको छ भने विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने काम पनि छिट्टै सुरु गरिने जनाइएको छ। खानीसम्म पहुँच सहज बनाउन आवश्यक पूर्वाधार तथा सडक स्तरोन्नति कार्यसमेत अघि बढाइएको छ।
परियोजना सञ्चालनमा आएमा स्वदेशी पुँजी परिचालन, रोजगारी सिर्जना र स्टिल उद्योगको विकासमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ।
प्रतिक्रिया