+
Search

ताजा अपडेट +

पपुलर +

लक्ष्मी सनराइज बैंक २७ करोड ३६ लाख घाटामा, प्रतिशेयर आम्दानी २.०४ रुपैयाँ ऋणात्मक

पालिका लाइभ
२०८२ माघ १५, बिहीबार

काठमाडौं– लक्ष्मी सनराइज बैंकको खुद नाफा ऋणात्मक बनेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकले २७ करोड ३६ लाख १५ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब १६ करोड २० लाख ७६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

खुद ब्याज आम्दानी र कुल सञ्चालन आम्दानीमा वृद्धि देखिए पनि इम्पेरमेन्ट चार्ज उल्लेख्य रूपमा बढेका कारण बैंकको नाफा ऋणात्मक हुन पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १.१४ प्रतिशतले बढेर ५ अर्ब २४ करोड ९० लाख ३७ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकको यस्तो आम्दानी ५ अर्ब १९ करोड १ लाख रुपैयाँ रहेको थियो।

यसैगरी, बैंकको खुद फि तथा कमिशन आम्दानी १८.१५ प्रतिशतले वृद्धि भई १ अर्ब १८ करोड ३ लाख ७ हजार रुपैयाँ पुगेको छ। आम्दानीतर्फ सुधार देखिँदा पनि खर्च पक्षको दबाबका कारण बैंकको समग्र नतिजा कमजोर बनेको देखिन्छ।

समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ९.४४ प्रतिशतले बढेर ७ अर्ब ३४ करोड ३९ लाख ८८ हजार रुपैयाँ पुगेको छ। तर, इम्पेरमेन्ट चार्ज उच्च रहँदा बैंक १५ करोड ९८ लाख ८ हजार रुपैयाँ सञ्चालन घाटामा पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ७९ करोड ३० लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो।

बैंकको इम्पेरमेन्ट चार्ज अघिल्लो वर्षको १ अर्ब ७९ करोड रुपैयाँबाट बढेर ४ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ, जसले बैंकको नाफामा ठुलो दबाब सिर्जना गरेको देखिन्छ।

यस अवधिमा बैंकको खराब कर्जा अनुपातमा भने केही सुधार देखिएको छ। गत वर्ष पुस मसान्तमा ५.६७ प्रतिशत रहेको खराब कर्जा यस वर्षको सोही अवधिमा घटेर ५.५० प्रतिशतमा झरेको छ। यद्यपि, खराब कर्जा अझै उच्च तहमा रहेकाले बैंकको जोखिम व्यवस्थापनमा चुनौती कायम देखिन्छ।

नाफा ऋणात्मक भएसँगै बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ ०४ पैसा ऋणात्मक रहेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १६६ रुपैयाँ २३ पैसा रहेको छ। पुस मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा ८४ करोड २७ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ६ रुपैयाँ २९ पैसा ऋणात्मक देखिएको छ।

२६ अर्ब ७८ करोड ११ लाख रुपैयाँ चुक्ता पुँजी रहेको लक्ष्मी सनराइज बैंकको जगेडा कोषमा १८ अर्ब ५८ करोड रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्म बैंकले ३ खर्ब ८४ अर्ब २३ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ८७ अर्ब ९० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ