+
Search

ताजा अपडेट +

पपुलर +

गाेरखा कांग्रेसमा हलचल:

राजेन्द्र बजगाईँले छाडे कांग्रेस, भन्छन्- ‘विदेशी एजेन्ट र पाखण्डीसँग बस्न सकिनँ’

उनको राजीनामापछि गोरखा कांग्रेसमा हलचल मच्चिएको छ। उनी गोरखा कांग्रेसका महासमिति सदस्यसमेत रहेकाले उनको पार्टी परित्यागले स्थानीय तहदेखि केन्द्रीय तहसम्म चर्चा र चासो बढाएको छ।

पालिका लाइभ
२०८२ माघ ११, आईतवार

काठमाडौं– नेपाली कांग्रेसभित्र ‘बिचौलिया’ र विवादित पात्रका रूपमा चिनिएका निवर्तमान प्रतिनिधिसभा सांसद राजेन्द्र बजगाईँले पार्टी परित्याग गरेका छन्। केही निकृष्ट पात्रका कारण आफू कांग्रेस छाड्न बाध्य भएको उनको भनाइ छ।

कांग्रेस समग्रमा निर्दोष भए पनि एकाध व्यक्तिका कारण आफू अलग भएको दाबी उनले गरेका छन्।

‘धेरै भारी मनले म नेपाली कांग्रेससँगको आबद्धता समाप्त गर्ने निर्णयमा पुगेको छु। एकाध निकृष्ट पात्रका कारण निर्दोष कांग्रेसलाई छाड्नुपर्ने अवस्था आयो,’ बजगाईँले लेखेका छन्।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर–१ बाट निर्वाचित बजगाईँ कांग्रेस सभापति गगन थापासँग लामो समयदेखि असहमत रहँदै आएका थिए। थापा सभापति बनेमा आफ्नो टिकट रोक्ने विषयमा पहिल्यै जानकारी गराएको दाबी पनि उनले गरेका छन्।

‘तिमी सभापति भयौ भने मेरो टिकट रोक्नेछौ र प्रधानमन्त्री भयौ भने झूटा मुद्दा लगाउनेछौ भनेर मैले पहिल्यै स्पष्ट रूपमा भनेको थिएँ,’ बजगाईँले भनेका छन्। उनले कांग्रेसका धेरै नेता तथा कार्यकर्ता निष्ठावान् भए पनि मुठ्ठीभर व्यक्तिहरूले इमानदार नेता–कार्यकर्तामाथि शासन गरिरहेको आरोप लगाएका छन्।

यसपटक कांग्रेसले गोरखा–१ मा प्रेम खत्रीलाई उम्मेदवार बनाएको छ। विशेष महाधिवेशनको उद्घाटन समारोहमा सहभागी भए पनि बजगाईँ निर्वाचन प्रक्रियामा संलग्न भएनन्। कांग्रेसले खत्रीलाई उम्मेदवार बनाएपछि उनले पार्टी छाडेको बताइएको छ।

‘पनामा पेपर्स’ नामक सन् २०१५ मा इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिस्ट्स (आईसीआईजे) ले सार्वजनिक गरेको दस्तावेजअनुसार बजगाईँको विदेशमा लगानी रहेको दाबी गरिएको थियो।

खोज पत्रकारिता केन्द्रका अनुसार उक्त रिर्पाेटमा भनिएकाे थियाे,

बेलायतको कम्पनी रजिस्ट्रेसन कार्यालय ‘कम्पनिज हाउस’का अनुसार उनले सन् २००४ मा लन्डनमा ‘गोरखा इन्काउन्टर्स लिमिटेड’ र सन् २०१० मा ‘एफएनबी पब्लिसिङ लिमिटेड’ मा लगानी गरेका छन्।

पछि ‘गोरखा इन्काउन्टर्स लिमिटेड’ को नाम परिवर्तन गरी ‘द हिमालयन एड्भेन्चर लिमिटेड’ बनाइएको थियो। उक्त कम्पनीमा लन्डन निवासी लेखनाथ पाण्डे, ब्रिटिस नागरिक म्यागी मग्वाया र नेपाली नागरिक बजगाईँ शेयर सदस्य रहेका छन्। पाण्डे गैरआवासीय नेपाली हुन् भने बजगाईँ नेपालमै बसोबास गर्ने पर्यटन व्यवसायी हुन्।

बजगाईँले नेपालमा पनि ‘गोरखा इन्काउन्टर्स’ नामबाट पर्यटन व्यवसाय गर्दै आएका छन्। प्राप्त विवरणअनुसार उनले २०५५ सालमा नेपालमा कम्पनी दर्ता गरेका थिए। त्यसको पाँच वर्षपछि अर्थात् सन् २००४ (वि.सं. २०६०) मा नेपालमै सञ्चालनमा रहेको कम्पनीकै नाममा लन्डनमा नयाँ कम्पनी दर्ता गरेको देखिन्छ।

उनले ट्याक्स हेवनसँग सम्बन्धित लगानी पनि नेपालमा भित्र्याएको देखिन्छ। उद्योग विभागको प्रत्यक्ष वैदेशिक लगानी विवरणअनुसार बजगाईँले अष्ट्रेलियन ‘सिल्भर हेरिटेज’ समूहसँग साझेदारी गरी तीन देशमा कम्पनी स्थापना गरेर नेपालमा लगानी ल्याएका छन्। होटल तथा क्यासिनो सञ्चालनका लागि तीन चरणमा कुल ३ अर्ब ७८ करोड रुपैयाँ नेपालमा भित्रिएको देखिन्छ।

यो लगानी हङकङ, ब्रिटिस भर्जिन आइल्यान्ड्स र बेलायतका कम्पनीहरूसँग सम्बन्धित छ। तीमध्ये हङकङको ‘आईआरपी एशिया लिमिटेड’ अन्तर्गतको ‘सिल्भर हेरिटेज लिमिटेड’, ब्रिटिस भर्जिन आइल्यान्ड्सको ‘सिल्भर हेरिटेज लिमिटेड’ र बेलायतको ‘सिल्भर हेरिटेज लिमिटेड’ रहेका छन्। बजगाईँसँग साझेदारीमा लन्डन निवासी डेविड फ्र्यांकेलले पनि २ करोड २५ लाख रुपैयाँ विदेशी लगानी ल्याएको देखिन्छ।

बेलायतमा आफ्नो नाममा कम्पनी रहेको कुरा बजगाईँले स्वीकार गरेका छन्। ‘बेलायतको एक पाउन्डको गिफ्टेड कम्पनीमा म पनि संलग्न छु। मैले आफैँ लगानी गरेको होइन,’ उनले भने, ‘यहाँको पैसा त्यो कम्पनीमा लगिएको छैन।’

ब्रिटिस भर्जिन आइल्यान्ड्सबाट आएको लगानीबारे उनले भने, ‘यो देश कर छलीका हिसाबले कालोसूचीमा परेको भन्ने कुरा मलाई थाहा थिएन। सरकारले लगानी स्वीकृत गरिसकेको छ, त्यसबारे म धेरै बोल्न चाहन्नँ।’

कांग्रेस सभापति थापा प्रधानमन्त्री भए यही विषयलाई मुद्दा बनाएर आफूलाई फसाइने डरका कारण पार्टी छाडेको बताइए पनि बजगाईँ यसबारेमा खुलेर बोल्न चाहँदैनन्।

उनको राजीनामापछि गोरखा कांग्रेसमा हलचल मच्चिएको छ। कांग्रेसका महासमिति सदस्यसमेत रहेकाले उनको पार्टी परित्यागले स्थानीय तहदेखि केन्द्रीय तहसम्म चर्चा र चासो बढाएको छ। उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेशको तयारीमा रहेको स्रोतको दाबी छ। यद्यपि, बजगाईँ भने आफू ‘पर्ख र हेर’ को अवस्थामा रहेको बताउँछन्।

याे पनि,

कांग्रेस सांसद बजगाईंको आरोप: ‘पर्यटनमन्त्री पाण्डेले घुस लिएर क्यासिनोको लाइसेन्स बाँडे’

आफ्नै पार्टीका मन्त्रीमाथि गम्भीर आरोप लगाएका सांसद बजगाईंले मागे माफी

सांसद राजेन्द्र बजाईं भन्छन्- शशांकले ३ गाडी र सुनको रोलेक्स घुस लिए

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ