काठमाडाैं– आगजनीपछि स्वास्थ्य मन्त्रालयले कर्मचारीहरूलाई सात दिनभित्र कार्यसम्पादन मूल्याङ्कन फाराम (कासमा) पुनः भर्न निर्देशन दिएको छ।
जेनजी आन्दोलनका क्रममा भएका आगजनीका कारण मन्त्रालयसँगै कर्मचारीहरूको मूल्याङ्कन फाराम नष्ट भएपछि मन्त्रालयले पुनः मूल्याङ्कन प्रक्रिया अघि बढाएको हो।
मन्त्रालयले विभाग, केन्द्र, बोर्ड र अस्पतालहरूलाई परिपत्र जारी गर्दै असोज २२ देखि २८ गतेभित्र सबै कर्मचारीहरूले आर्थिक वर्ष २०८१/८२ को कार्यसम्पादन मूल्याङ्कन फाराम भरी दर्ता गर्न निर्देशन दिएको छ।
दर्ता भएपछि सात दिनभित्र सम्बन्धित सुपरिवेक्षक र पुनरावलोकनकर्ताबाट मूल्याङ्कन गराई उपलब्ध गराउन भनिएको छ।
निजामती सेवा ऐन र स्वास्थ्य सेवा नियमावलीमा भएका प्रावधानअनुसार पुनः मूल्याङ्कनको प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ।
अधिकृत दसौँ तहसम्मका कर्मचारीहरूको मूल्याङ्कन एक तह माथिको सुपरिवेक्षक र सोभन्दा माथिको पुनरावलोकनकर्ताबाट गरिनेछ। त्यस्तै, कार्यालय प्रमुख तथा एघारौँ तहका कर्मचारीहरूको मूल्याङ्कन मन्त्रालयमा गरिने व्यवस्था गरिएको छ।
स्वास्थ्य मन्त्रालयको सचिवस्तरीय निर्णय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्रका आधारमा जारी परिपत्रमा मूल्याङ्कन कार्य निर्धारित समयभित्र पूरा गर्न स्पष्ट निर्देशन दिइएको छ।

प्रतिक्रिया