गोरखा– चुमनुब्री गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रम सार्वजनिक गरेकाे छ ।
‘दिगो विकास, अनुपम संस्कृति, उन्नत पर्यटन समृद्ध चुमनुब्री’ भन्ने नारासहित प्रस्तुत नीति तथा कार्यक्रममा भाषणकला सुधारदेखि लिएर कर्मचारी टिकाउने रणनीति, स्वदेशी उत्पादन प्रवर्द्धन, पर्यटन पूर्वाधार विस्तार, र हाइड्रोपावरको शेयरसम्मको योजना समेटिएर नीति तथा कार्यक्रम ल्याएकाे हाे ।
गाउँपालिका अध्यक्ष निमा लामाले गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै, ‘स्थानीय स्रोत र सम्भावनाको अधिकतम उपयोग गर्दै चुमनुब्रीलाई समृद्ध र आत्मनिर्भर बनाउने बाटोमा हामी दृढ छौं,’ भन्दै जनताको सहभागिता र सहकार्यमा आधारित कार्यान्वयनमा जोड दिएकाे छ।
यो वर्ष गाउँपालिकाले विद्यार्थी तथा युवालाई भाषणकला, नेतृत्व सीप लगायत व्यक्तित्व विकासमा आधारित कार्यक्रम सञ्चालन गर्ने, विद्यालयस्तरमै पढौं, सिकौं, कमाऔं जस्ता नारासहितको अभ्यासात्मक कार्यक्रम समाबेश गरेकाे छ ।
दुर्गम क्षेत्रमा प्राविधिक र दक्ष जनशक्ति टिकाउन कठिन भइरहेको अवस्थामा कर्मचारी कार्यसम्पादनलाई गुणस्तरीय बनाउने उद्देश्यसाथ तलबबाहेक प्रोत्साहन भत्ता, तालिम र बसोबास सुविधामा जोड दिने नीति ल्याइएको छ।
यस वर्ष नीति तथा कार्यक्रममा एक महत्वपूर्ण नविन प्रस्ताव पनि समेटिएको छ- ‘गाउँभित्र निर्माण हुने जलबिद्युत आयोजनामा स्थानीय जनताको सेयर सुनिश्चित गर्ने’। यसका लागि संघीय सरकारसँग प्रसारण लाइन निर्माणमा सहकार्य गर्दै स्थानीय जनताको स्वामित्व र प्रत्यक्ष लाभ सुनिश्चित गरिने जनाइएको छ।
पर्यटनको सम्भावना उजागर गर्न मनास्लु पदमार्ग, बौद्ध गुम्बा, मौलिक संस्कृतिको संरक्षण, होमस्टे प्रवर्द्धन, र अन्तर्राष्ट्रिय महोत्सव आयोजना गरिनेछ। मनास्लु आरोहण गर्ने पर्यटकका परिवार र विदेशी प्रतिनिधिहरूको सहभागितामा विशेष महोत्सव आयोजना गर्ने तयारी समेत नीति तथा कार्यक्रममा समेटिएको छ।
शिक्षा क्षेत्रमा स्थानीय पाठ्यक्रम लागू गर्ने, एक विद्यार्थी एक कम्प्युटर कार्यक्रम, छात्रवृत्ति, र विद्यालयमा साइन्स र आईसीटी ल्याब सञ्चालन गरिने योजना छ। स्वास्थ्य क्षेत्रमा गर्भवती र आपत्कालीन बिरामीको हेलिकप्टरबाट उद्धार, आँखा केन्द्र स्थापनाजस्ता विशेष कार्यक्रम छन्।
एकल महिला, अपाङ्गता भएका व्यक्ति, गरिब र जेहेन्दार विद्यार्थीलाई लक्षित गरेर छुट्टाछुट्टै कार्यक्रम सञ्चालन गरिनेछ।
चुमनुब्री गाउँपालिकाले प्रस्तुत गरेको यो नीति तथा कार्यक्रमले दुर्गम हिमाली बस्तीलाई बहुआयामिक विकासतर्फ अग्रसर गराउने स्पष्ट संकेत दिएको छ।
पूर्णपाठ
प्रतिक्रिया