गोरखा- कृषि उत्पादन वृद्धि, पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना र आधारभूत सेवाको विस्तारलाई केन्द्रमा राख्दै अजिरकोट गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम ल्याएकाे छ।
गाउँपालिकाको १९औँ गाउँसभामा अध्यक्ष दीपक देवकोटाले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले स्थानीय स्रोत, साधन र सम्भावनाको अधिकतम उपयोगमार्फत आत्मनिर्भर, समृद्ध र सुखी अजिरकोट निर्माण गर्ने नीति तथा कार्यक्रम ल्याएकाे हाे।
अध्यक्ष देवकोटाले गाउँपालिकाको समग्र आर्थिक तथा सामाजिक रूपान्तरणलाई केन्द्रमा राख्दै कृषि, पर्यटन र ऊर्जालाई विकासको प्रमुख आधारका रूपमा अघि बढाइने बताए। उनले स्थानीय सरकार जनताको नजिकको सरकार भएकाले नागरिकको जीवनस्तरमा प्रत्यक्ष परिवर्तन ल्याउने गरी नीति तथा कार्यक्रम तर्जुमा गरिएको उल्लेख गरे।
नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई आर्थिक विकासको प्रमुख आधारका रूपमा स्थापित गरिएको छ। ‘हाम्रो खेत, हाम्रो गौरव’ अभियान सञ्चालन गर्दै स्थानीय तथा रैथाने बाली संरक्षण, उत्पादन वृद्धि र व्यवसायीकरणलाई प्राथमिकता दिइएको छ।
बाँझो जमिन उपयोग कार्यक्रम सञ्चालन गरी उत्पादन वृद्धि गर्ने, कृषि उपज संकलन केन्द्र स्थापना गर्ने, कृषि एम्बुलेन्स सेवा सञ्चालन गर्ने तथा ‘एक घर, एक प्रशिक्षित कृषक’ अभियानमार्फत कृषकलाई आधुनिक प्रविधिसँग जोड्ने योजना अघि सारिएको छ।
कफी, स्याउ, अलैँची, किवी, एभोकाडो लगायत उच्च मूल्यका नगदे बालीको उत्पादन तथा बजारीकरणलाई प्रोत्साहन गर्ने नीति गाउँपालिकाकाे रहेकाे छ। साथै किसानको समस्या तत्काल सम्बोधन गर्न ‘किसान कल सेन्टर’ र द्रुत प्रतिक्रिया टोली गठन गर्ने नीति लिइएको छ।
रोजगारी र उद्यमशीलता विकासतर्फ गाउँपालिकाले स्थानीय उत्पादनको ब्राण्डिङ, प्रशोधन र बजारीकरणमा जोड दिएको छ। वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उत्पादनमूलक क्षेत्रमा आबद्ध गर्ने, स्थानीय उद्योग तथा उद्यमलाई सहुलियतपूर्ण वातावरण उपलब्ध गराउने तथा ‘स्थानीय श्रम, स्थानीय रोजगारी’ अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने नीति सार्वजनिक गरिएको छ।
पर्यटन क्षेत्रलाई आर्थिक समृद्धिको महत्त्वपूर्ण आधारका रूपमा विकास गर्ने लक्ष्यसहित गाउँपालिकाले नागेपोखरी, दुधपोखरी, नारदपोखरी, भच्चेक थानी पार्क, हात्तीसुँढे गुफा लगायतका पर्यटकीय क्षेत्रको संरक्षण, पूर्वाधार विकास तथा प्रवर्द्धनका कार्यक्रम अघि सारेको छ। ‘एक वडा, एक नमुना होमस्टे’ कार्यक्रमलाई निरन्तरता दिँदै अजिरकोटलाई ग्रामीण इको–कल्चरल पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।
शिक्षा क्षेत्रतर्फ सामुदायिक विद्यालयको गुणस्तर सुधारलाई प्राथमिकतामा राखिएको छ। ‘एक वडा, एक आवासीय विद्यालय’ अवधारणालाई निरन्तरता दिइएको छ भने गाउँपालिकाभित्र स्नातक तहसम्म अध्ययन हुने क्याम्पस स्थापना गर्ने पहललाई पनि अगाडि बढाइने भएको छ। ‘पढ्दै कमाउँदै’ अभियानमार्फत विद्यार्थीलाई व्यवहारिक तथा उत्पादनमूलक शिक्षासँग जोड्ने नीति लिइएको छ।
स्वास्थ्य सेवाको पहुँच र गुणस्तर सुधारलाई समेत प्राथमिकता दिइएको छ। भच्चेक आधारभूत अस्पतालको सेवा विस्तार, गर्भवती महिलाका लागि निःशुल्क अल्ट्रासाउण्ड सेवा, मानसिक स्वास्थ्य कार्यक्रम, स्वास्थ्य बीमा विस्तार तथा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र शहीद परिवारलाई विशेष स्वास्थ्य सेवा उपलब्ध गराउने योजना समावेश गरिएको छ।
खानेपानी तथा सरसफाइ क्षेत्रमा सबै नागरिकलाई स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्ने, अजिकोट बृहत् खानेपानी आयोजनालाई प्रभावकारी रूपमा अगाडि बढाउने तथा बजार क्षेत्रको फोहोर व्यवस्थापनका लागि ल्यान्डफिल साइट निर्माण गर्ने नीति सार्वजनिक गरिएको छ।
महिला, बालबालिका, दलित, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकको सशक्तीकरणका लागि लक्षित कार्यक्रम सञ्चालन गरिने भएको छ। महिला उद्यमशीलता, बालमैत्री शासन, दलित समुदायको आर्थिक सशक्तीकरण तथा सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने कार्यक्रमलाई पनि नीति तथा कार्यक्रममा समेटिएको छ।
युवा तथा खेलकुद विकासलाई प्राथमिकतामा राख्दै सीपमूलक तालिम, खेल पूर्वाधार निर्माण तथा स्वरोजगार प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ।
अध्यक्ष देवकोटाले स्थानीय स्रोत र सम्भावनाको अधिकतम उपयोग गर्दै उत्पादन वृद्धि, रोजगारी सिर्जना, सेवा प्रवाहमा सुधार र सुशासन प्रवर्द्धनमार्फत अजिरकोटलाई समृद्धिको नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन्।
पूर्णपाठ
प्रतिक्रिया