काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २०८२ कात्तिक १५ गते भएको सम्झौता पूर्ण रुपमा कार्यान्वयन गर्न सम्बन्धित सरोकारवाला निकायहरूलाई अनुरोध गरेको छ ।
शनिबार सामाजिक सञ्जालमार्फत एक सूचना जारी गर्दै मन्त्रालयले सो अनुरोध गरेको हो ।
सो सम्झौताअनुसार निजी मेडिकल तथा डेन्टल कलेज र अस्पतालहरूमा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीहरूलाई न्यूनतम पारिश्रमिक र सेवा सुविधाहरू उपलब्ध गराउने कार्य कार्यान्वयनको अन्तिम चरणमा रहेको समेत मन्त्रालयले जनाएको छ ।
तर केही स्वास्थ्य संस्थाहरूले उक्त सम्झौता पालना नगरेको भनी गुनासो प्राप्त भएको सूचनामा उल्लेख छ ।
साथै यस विषयमा नियमित अनुगमन गर्ने र अनुगमनका क्रममा सम्झौता पालना नभएको पाइएमा आवश्यक कानुनी वा प्रशासनिक कदम चालिने समेत सम्बन्धित सरोकारवालाहरुलाई मन्त्रालयले जानकारी गराएको छ ।

प्रतिक्रिया