+
Search

ताजा अपडेट +

पपुलर +

इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त

पालिका लाइभ
२०८२ चैत्र ३, मंगलवार

काठमाडौं– इला होटल एण्ड रिसोर्टले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा लक्ष्मण थापालाई नियुक्त गरेको छ। सञ्चालक समितिले थापालाई चैत ५ गतेदेखि लागू हुने गरी नियुक्त गरेको हो।

थापासँग आतिथ्य व्यवस्थापन क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव रहेको छ। उनले नेपालसहित भानुआतु, माल्दिभ्स, मलेसिया, संयुक्त अरब इमिरेट्स र साउदी अरबजस्ता विभिन्न मुलुकका उच्चस्तरीय होटल, रिसोर्ट र क्यासिनोमा नेतृत्वदायी भूमिकामा काम गरेका छन्।

आइएमई हस्पिटालिटीमा आबद्ध हुनुअघि थापा सिद्धार्थ हस्पिटालिटी समूहमा प्रमुख सञ्चालन अधिकृतका रूपमा कार्यरत थिए। सो अवधिमा उनले ३० भन्दा बढी होटल, रिसोर्ट, क्याफे र भेन्यूहरूको सञ्चालनमा नेतृत्व प्रदान गरेका थिए।

उनले काठमाडौंस्थित होटल याक एण्ड यति, भानुआतुस्थित इरिरिकी आइल्यान्ड रिसोर्ट एण्ड ज्वेल क्यासिनो, चितवनस्थित सिजी हस्पिटालिटी, भैरहवास्थित टाइगर प्यालेस रिसोर्ट लगायतका प्रतिष्ठित संस्थामा विभिन्न नेतृत्वदायी भूमिकामा काम गरेका छन्।

त्यसैगरी, थापासँग ले मेरिडियन दुबई, द वेस्टिन लाङकावी, सेराटन माल्दिभ्स, अलोफ्ट अबुधाबी र रोजवुड जेद्दाह जस्ता अन्तर्राष्ट्रिय ब्रान्डहरूसँग काम गरेको अनुभव पनि छ।

आइएमई हस्पिटालिटीका अनुसार थापाको अन्तर्राष्ट्रिय अनुभव र नेपालमा देखिएको नेतृत्व क्षमताले कम्पनीको सेवा गुणस्तर अभिवृद्धि र सञ्चालन सुदृढीकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएको बताएको छ।

आइएमई हस्पिटालिटी अन्तर्गत कम्पनीले काठमाडौंको लाजिम्पाटस्थित होटल ले हिमालय, पोखराको लेकसाइड रिट्रिट, बागलुङ र गैँडाकोटस्थित होटल इला लगायतका विभिन्न होटल र रिसोर्टको व्यवस्थापन गर्दै आएको छ।

यो इकाई आइएमई ग्रुपको आतिथ्य क्षेत्रअन्तर्गत कार्यरत छ।

नियुक्तिपछि थापाले इला होटल एण्ड रिसोर्टको सेवा स्तर उकास्ने, सेवा संस्कृतिलाई सुदृढ बनाउने, होटलको नेटवर्कलाई नेपालको विभिन्न पर्यटकीय गन्तव्यसम्म पुर्‍याउने र दिगो तथा परिणाममुखी वृद्धि हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ