+
Search

ताजा अपडेट +

पपुलर +

शिक्षकको आँखा, पत्रकारको कलम र समाजको ‘राजनीतिक चस्मा’

यो बुझ्न किन यति गाह्रो भइरहेको छ कि बाटो, बिजुली, पानी र विद्यालयको कुनै राजनीतिक दल हुँदैन? यी त समाजका साझा आवश्यकता हुन्। विकास कुनै दलको स्वामित्वमा रहने विषय होइन, यो त सबै नागरिकको साझा अधिकार र जिम्मेवारी हो।

वासुदेव देवकोटा (शिक्षक)
२०८२ फाल्गुन २९, शुक्रबार

बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म म विद्यालयको कक्षाकोठामा हुन्छु। हातमा मार्कर वा चक र डस्टर लिएर भविष्यका कर्णधारहरूलाई ज्ञान बाँड्दै उनीहरूको सपना र सम्भावनालाई आकार दिने प्रयास गरिरहेको हुन्छु। तर जब विद्यालयको घण्टी बज्छ र म कक्षाकोठाबाट बाहिर निस्कन्छु, तब मेरो हातमा मोबाइल र कलम हुन्छ। त्यतिबेला म शिक्षक मात्र रहन्नँ । म आफ्नो गाउँको सचेत नागरिक, पत्रकार र समाजको ऐना बन्ने प्रयास गरिरहेको एउटा साधारण मान्छे हुन्छु।

करिब दुई दशकभन्दा बढी समयदेखि म यही बाटोमा हिँडिरहेको छु। गाउँ समाजका सुख–दुःख, अभाव र सम्भावनाका कथा कहिले लेखमार्फत त कहिले भिडियोमार्फत सामाजिक सञ्जालमा सार्वजनिक गर्दै आएको छु। मेरो उद्देश्य कहिल्यै जटिल वा व्यक्तिगत स्वार्थले प्रेरित थिएन। मेरो सपना यति हो, मेरो गाउँमा विकास होस्, बाटाघाटा बनुन्, सार्वजनिक सेवा सुधारियोस् र समाजमा देखिएका बेथिति अन्त्य होउन्।

तर विडम्बना के छ भने, समाजले मेरो यो प्रयासलाई प्रायः संकुचित राजनीतिक दृष्टिकोणबाट हेर्ने गरेको छ। जब म कुनै भत्किएको बाटोको भिडियो खिचेर फेसबुकमा राख्छु, त्यसको जिम्मेवारी पाएका राजनीतिक समूहका केही कार्यकर्तालाई लाग्छ- म उनीहरूको विरोध गर्दैछु। तर जब कसैले गरेको राम्रो कामको खुलेर प्रशंसा गर्छु, तब अर्का पक्षलाई लाग्छ- म कसैसँग ‘बिकेको’ छु।

यो बुझ्न किन यति गाह्रो भइरहेको छ कि बाटो, बिजुली, पानी र विद्यालयको कुनै राजनीतिक दल हुँदैन? यी त समाजका साझा आवश्यकता हुन्। विकास कुनै दलको स्वामित्वमा रहने विषय होइन, यो त सबै नागरिकको साझा अधिकार र जिम्मेवारी हो।

फुर्सदको समयमा गाउँका समसामयिक विषयमा लेख लेख्दा वा भिडियो पोस्ट गर्दा कतिपयले प्रश्न गर्छन्- ‘शिक्षक भएर किन राजनीति गरेको?’ तर समाजको यथार्थ देखाउनु वा विकृति उजागर गर्नु राजनीति हो त? मेरो बुझाइमा एउटा शिक्षकको जिम्मेवारी कक्षाकोठामा पाठ पढाएर तलब लिनु र पेन्सनको दिन पर्खनु मात्र होइन। शिक्षकले समाजमा चेतना फैलाउने, प्रश्न उठाउने र परिवर्तनका लागि संवाद सिर्जना गर्ने काम पनि गर्नुपर्छ।

यदि म आफ्नो गाउँमा पुल अधुरो रहेको, बाटो अलपत्र परेको, पानीको समस्या समाधान नभएको, विद्यालय वा स्वास्थ्य संस्थाको अवस्था कमजोर रहेको देख्दा पनि मौन बस्छु भने मैले आफ्ना विद्यार्थीलाई ‘सत्य, न्याय र विकास’को पाठ कसरी पढाउने?

मेरो लागि पत्रकारिता कुनै राजनीतिक दललाई रिझाउन, कसैलाई जिताउन वा हराउन होइन। यो त समाजलाई सचेत गराउने एउटा माध्यम हो। तर दुर्भाग्यवश, आजकल तथ्यभन्दा बढी भ्रमले स्थान पाउने गरेको देखिन्छ। विशेष गरी सामाजिक सञ्जालमा मैले राख्ने सानो जानकारी वा भिडियोमाथि रचनात्मक सुझाव दिनुको सट्टा धेरैले मेरो ‘राजनीतिक आस्था’ खोज्न थाल्छन्। कसैले रिसको भरमा आलोचना गर्छन्, कसैले अनुमानका आधारमा भ्रम फैलाउँछन्।

२०–२५ वर्षको सञ्चार यात्रामा मैले एउटा कुरा स्पष्ट रूपमा बुझेको छु- धेरै मानिसहरू सत्य सुन्न तयार हुँदैनन्। उनीहरू आफ्नो दल, गुट वा समूहको स्वार्थसँग मेल खाने कुरा मात्र सुन्न चाहन्छन्। म सबैसँग विनम्र आग्रह गर्न चाहन्छु- मलाई कुनै दलको झन्डामुनि उभ्याएर नहेर्नुहोस्। म सबैभन्दा पहिले शिक्षक हुँ, र शिक्षकको पहिलो धर्म सत्य बोल्नु हो। मैले खिचेका भिडियो र लेखेका शब्दहरूमा तपाईंले कुनै राजनीतिक रङ होइन, समाजको साझा समस्या देख्नुपर्छ। त्यस्ता समस्या प्रस्तुत गर्नुको उद्देश्य आरोप लगाउनु होइन, बरु समाजलाई सूचित गर्नु र समाधानतर्फ ध्यानाकर्षण गराउनु हो।

जबसम्म हामी विकासका मुद्दालाई राजनीतिक कित्ताकाटबाट बाहिर निकाल्न सक्दैनौँ, तबसम्म हाम्रो गाउँ वा नगर सधैँ पछि परिरहनेछ। मेरो दुई दशकभन्दा बढीको अनुभवले भन्छ- जबसम्म हामी शिक्षक र पत्रकारलाई ‘हाम्रो’ र ‘तिम्रो’ भनेर विभाजन गर्छौँ, तबसम्म समाजको वास्तविक उन्नति सम्भव हुँदैन।

म शिक्षक हुँ, मेरो व्यक्तिगत आस्था पनि हुन सक्छ। तर मेरो फुर्सदमा गरिएको सामाजिक प्रयास सधैँ साझा हितका लागि हो। त्यसैले म सबैलाई आग्रह गर्छु- मेरो भिडियो वा पोस्टमा कुन दलको गन्ध छ भनेर खोज्नुभन्दा, त्यहाँ उठाइएको समस्याले तपाईंको गाउँलाई कति असर गरिरहेको छ भनेर मनन गर्नुहोस्।

आलोचना र भ्रमको खेती गर्नेहरूले मेरो यात्रा रोक्न सक्ने छैनन्। एउटा कर्तव्यनिष्ठ शिक्षक र सचेत नागरिकका रूपमा मेरो कलम र क्यामेरा सधैँ समाजको हितमा चलिरहनेछ। सामाजिक समस्या उजागर गर्दा मात्र आलोचना गर्नेहरूलाई मेरो एउटै सन्देश छ ‘तपाईंका शब्दहरूले मेरो कलम रोकिने छैन।\

बरु म अझ स्पष्ट र बुलन्द आवाजका साथ समाजका मुद्दा उठाइरहनेछु। किनकि मेरो आस्था समाजको उन्नति, प्रगति र भलाइमा छ। मेरो राजनीति भनेकै विकासको राजनीति हो।

प्रतिक्रिया

लेखकको बारेमा

वासुदेव देवकोटा (शिक्षक)