काठमाडौं– इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ। उनको निधनप्रति ४० दिन राष्ट्रिय शोक घोषणा गरिएको छ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले आफ्नै सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत खामेनी मारिएको दाबी गरेका थिए। तर त्यसबेला इरानबाट औपचारिक पुष्टि भएको थिएन। इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी सञ्चारमाध्यम एनबीसीसँगको कुराकानीमा आफ्ना नेता सुरक्षित र स्वस्थ रहेको बताएका थिए।
तर पछि इरानको सरकारी टेलिभिजनका एक प्रस्तोताले भावुक हुँदै सर्वोच्च नेता खामेनीको मृत्यु भएको र ४० दिन शोक मनाइने घोषणा गरिएको जानकारी दिएका छन्। बीबीसीले उक्त समाचार उद्धृत गर्दै प्रसारण गरेको जनाएको छ।
अलजजिराका अनुसार इरानको फार्स न्युज एजेन्सीले पनि खामेनी शनिवार बिहान सबेरै आफ्नो कार्यालयमा कार्यरत रहँदा मारिएको जनाएको छ। एजेन्सीका अनुसार सरकारले ४० दिन राष्ट्रिय शोक र सात दिन सार्वजनिक बिदा घोषणा गरेको छ। इरानकै तस्निम न्युज एजेन्सीले समेत खामेनीको मृत्यु पुष्टि गरेको छ।
८६ वर्षीय खामेनी सन् १९८९ देखि इरानको सर्वोच्च नेताका रूपमा कार्यरत थिए। उनले इस्लामिक गणतन्त्र इरानका संस्थापक आयतुल्लाह रुहोल्लाह खोमेनीको उत्तराधिकारीका रूपमा पद सम्हालेका थिए। खोमेनीले सन् १९७९ को इस्लामिक क्रान्तिको नेतृत्व गर्दै अमेरिकाप्रति निकट मानिएका शाह मोहम्मद रेजा पहलवीको शासन अन्त्य गरेका थिए।
खामेनीसँग सरकारका सबै निकाय, सेना र न्यायपालिकामाथि अन्तिम अधिकार रहने संवैधानिक व्यवस्था छ। उनी देशका सर्वोच्च आध्यात्मिक नेताका रूपमा समेत प्रभावशाली रहँदै आएका थिए। आफ्नो शासनकालमा उनले पश्चिमा देशहरूसँगको तनावपूर्ण सम्बन्ध, कडा आर्थिक प्रतिबन्ध तथा स्वदेशभित्र उठेका आर्थिक र राजनीतिक विरोध प्रदर्शनको सामना गरेका थिए।
उनले संयुक्त राज्य अमेरिकालाई इरानको प्रमुख शत्रुका रूपमा परिभाषित गर्दै आएका थिए भने इजरायललाई पनि प्रमुख विरोधी राष्ट्रका रूपमा चित्रित गर्दै आएका थिए। इरानको शक्तिशाली सुरक्षा संरचनामा इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स र बासिज अर्धसैनिक बलको भूमिका महत्त्वपूर्ण मानिन्छ, जसले शासनको स्थायित्वमा ठुलो प्रभाव पारेका छन्।
आणविक कार्यक्रमका सन्दर्भमा खामेनीले इरानले कहिल्यै पनि आणविक हतियार नबनाउने र कार्यक्रम नागरिक प्रयोजनका लागि मात्र भएको दाबी गर्दै आएका थिए। अमेरिकी गुप्तचर निकाय र संयुक्त राष्ट्रसंघीय आणविक निगरानी निकायले पनि इरानले आणविक हतियार निर्माण गरिरहेको ठोस प्रमाण फेला नपारेको उल्लेख गरिएको छ। यद्यपि, इजरायल र ट्रम्प प्रशासनका केही अधिकारीहरूले इरानमाथि आणविक हतियार विकासको आरोप लगाउँदै आएका थिए।
हालैका वर्षहरूमा इजरायलसँगको तनाव थप चुलिएको थियो। जुन २०२५ मा भएको १२ दिने युद्धपछि इरानले इजरायलमाथि प्रतिरोधात्मक आक्रमण गरेको घटनाले क्षेत्रीय अस्थिरता बढाएको थियो। त्यसक्रममा इजरायली रक्षा मन्त्री इजरायल काट्जले खामेनीको अस्तित्व अन्त्य हुनुपर्ने अभिव्यक्ति दिएका थिए। फेब्रुअरी २८, २०२६ मा भएको आक्रमणका क्रममा खामेनी र इरानी राष्ट्रपति मसुद पेजेस्कियानलाई लक्षित गरिएको इजरायली अधिकारीहरूले स्वीकार गरेका थिए।
यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु ले खामेनीविरुद्धको सम्भावित कारबाहीबारे कडा संकेत दिएका थिए। अमेरिकी राष्ट्रपति ट्रम्पले पनि इरानी नागरिकलाई सम्बोधन गर्दै आफ्नो शासन आफैँ सम्हाल्न आह्वान गरेका थिए, जसलाई कतिपय विश्लेषकहरूले सत्ता परिवर्तनको संकेतका रूपमा व्याख्या गरेका छन्।
प्रतिक्रिया