काठमाडौं– अब देशका सबै ७५३ स्थानीय तहमा वाणिज्य बैंकको पहुँच पुगेको छ। अर्थ मन्त्रालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/८२ सम्ममा सबै स्थानीय तहमा कम्तीमा एउटा वाणिज्य बैंक पुगेको हो।
गत आर्थिक वर्षसम्म ७५२ स्थानीय तहमा मात्र वाणिज्य बैंकको सेवा पुगेको थियो।
मन्त्रालयका अनुसार २०८१/८२ आर्थिक वर्षको अन्त्यसम्ममा बैंक तथा वित्तीय संस्थाका शाखा संख्या ११ हजार ५२६ पुगेका छन्। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा अलि घटेको हो। अघिल्लो वर्ष यस्तो शाखा संख्या ११ हजार ५३० थियो।
वित्तीय पहुँचमा भने विस्तार भइरहेको मन्त्रालयले जनाएको छ। २०८२ असारसम्म देशभर २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५२ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक गरी जम्मा १०७ वटा बैंक तथा वित्तीय संस्था क्रियाशील छन्।
गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप वृद्धि भएको छ।
निक्षेप १२.६ प्रतिशतले बढेर ७२ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ। तर, निक्षेपको तुलनामा कर्जा प्रवाह वृद्धि दर कम छ। निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जा ८.४ प्रतिशतले बढेर ५४ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ। कुल आन्तरिक कर्जा ७.३ प्रतिशतले बढेको मन्त्रालयले जनाएको छ। निष्क्रिय कर्जा दर ४.६२ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको ४.४५ प्रतिशतभन्दा बढी हो।
कुल कर्जा लगानीमध्ये विपन्न क्षेत्रका लागि प्रवाह हुने कर्जा ५.५८ प्रतिशत छ, अघिल्लो वर्ष सो हिस्सा ६.०४ प्रतिशत थियो।
ब्याजदर क्रमशः घट्ने क्रममा छन्। २०८२ असार मसान्तमा ९१ दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर २.९५ प्रतिशत, अन्तर बैंक ब्याजदर २.९६ प्रतिशत, वाणिज्य बैंकको औसत आधार दर ६.०२ प्रतिशत, निक्षेप ब्याजदर ४.१९ प्रतिशत र कर्जाको औसत ब्याजदर ७.८५ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यसै अवधिमा निक्षेप र कर्जाको औसत ब्याजदर क्रमशः ५.७७ प्रतिशत र ९.९३ प्रतिशत थियो।
यसैगरी, बीमा व्यवसायमा पनि उल्लेखनीय विस्तार भएको मन्त्रालयले जनाएको छ। बीमाप्रति नागरिकको पहुँच र सचेतना दुवैमा वृद्धि भएको छ। आर्थिक वर्ष २०८१/८२ मा बीमाको पहुँच ४८.३३ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको ४३.२७ प्रतिशतभन्दा बढी हो।
उक्त अवधिमा जीवन बीमालेख संख्या १२.६ प्रतिशत र निर्जीवन बीमालेख संख्या ११.८ प्रतिशतले बढेका छन्।
बीमा प्रिमियम संकलन पनि १४.८ प्रतिशतले बढेर दुई खर्ब २७ अर्ब १९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा प्रिमियम संकलन एक खर्ब ९७ अर्ब ९७ करोड रुपैयाँ मात्र थियो।
प्रतिक्रिया