रौतहट– गुजरा नगरपालिकाका शिक्षक र विद्यालय कर्मचारीहरूले तीन महिनादेखि तलब–भत्ता नपाएको भन्दै आन्दोलन थालेका छन्। उनीहरूले साउनदेखि असोज महिनासम्मको तलब–भत्ता र चाडपर्व खर्च समेत नगरपालिकाले नदिएको गुनासो गरेका छन्।
माध्यमिक विद्यालय कनकपुरका प्रधानाध्यापक मनोजकुमार यादवका अनुसार दसैँजस्तो महान् चाड बितिसक्दा पनि तलब–भत्ता नआएपछि शिक्षकहरू असन्तुष्ट भई आन्दोलित भएका हुन्।
उनले अब आउने चाडपर्वअघि तलब–भत्ता उपलब्ध गराउनुपर्ने अडानसमेत राखेका छन्। यस सम्बन्धमा शिक्षकहरूले नगरपालिकामा ज्ञापनपत्र पनि बुझाएका छन्।
नगरपालिका अध्यक्ष सन्तलाल चौधरीले आन्दोलित शिक्षकहरूको मागका विषयमा सहमति भइसकेको जानकारी दिएका छन्।
उनका अनुसार साउनदेखि असोजसम्मको तलब–भत्ता तथा चाडपर्व खर्च दीपावलीअघि उपलब्ध गराइनेछ। साथै, आगामी दिनमा शिक्षकहरूको तलब–भत्ता मासिक रूपमा भुक्तानी गरिने र बालविकास शिक्षकहरूको हकमा नगरपालिकाबाट थप गरिएको रकमसहित नियमित रूपमा दिने सहमति भएको छ।
नगरपालिकासँग भएको सहमति कार्यान्वयन गर्न शिक्षकहरूले आग्रह गरेका छन्।
प्रतिक्रिया