+
Search

ताजा अपडेट +

पपुलर +

कटहरियामा करार र ज्यालादारी कर्मचारीको आन्दोलन, प्रशासनिक सेवा ठप्प

पालिका लाइभ
२०८२ आश्विन २४, शुक्रबार ०८:५२ गते

रौतहट– कटहरिया नगरपालिकाका करार र ज्यालादारी कर्मचारीहरू लामो समयदेखि तलब तथा सेवा सुविधा नपाएको भन्दै आन्दोलनमा उत्रिएका छन्। उनीहरूले धर्नासँगै वडा नम्बर १ देखि ९ सम्मका सम्पूर्ण कार्यालयहरूमा तालाबन्दी गरेका छन्।

तालाबन्दीका कारण नगरपालिकाको नियमित प्रशासनिक कामकाज ठप्प भएको छ। वडा नम्बर ८ का कर्मचारी मुकुन्द यादवका अनुसार सबै वडाका कर्मचारीहरूले सामूहिक रूपमा तालाबन्दी गर्दै कार्यालयका साँचो राखेका छन्।

वडा नम्बर १ मा कार्यरत करार कर्मचारी मुकेश कुशवाहाले माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्। उनका अनुसार यसअघि संयुक्त रूपमा ज्ञापनपत्र बुझाए पनि नगरपालिकाले माग बेवास्ता गरेको बताए।

ज्ञापनपत्रमा तलब र सेवा सुविधाको तुरुन्त भुक्तानीको माग गरिएको थियो। तर, नगरपालिले पटक–पटक आश्वासन दिएर पनि समस्या समाधान नगरेको भन्दै कर्मचारीहरू आन्दोलित भएका हुन्।

नगरप्रमुख अजय प्रकाश जयसवालले तिहारअघि नै करार कर्मचारीको समस्या समाधान गरिने बताएका छन्।

उनका अनुसार कर्मचारीहरूले मागअनुसारका आवश्यक कागजात बुझाएमा तलब भुक्तानीको प्रक्रिया अघि बढाइनेछ। उनले वडा कार्यालयहरूको तालाबन्दी खोल्न वडाध्यक्षहरूलाई आग्रह पनि गरेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics