काठमाडौं– नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो महिनासम्मको आर्थिक तथा वित्तीय स्थितिको विवरण सार्वजनिक गरेको छ। मंगलबार सार्वजनिक गरिएको तथ्यांकअनुसार देशको बैंकिङ क्षेत्रमा निक्षेप र कर्जा दुवैमा वृद्धि देखिएको छ भने ब्याजदर घट्ने संकेत देखिएको छ।
राष्ट्र बैंकका अनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति १.८७ प्रतिशतमा सीमित छ, जसले मुद्रास्फीति दबाब घटिरहेको संकेत गर्दछ। त्यस्तै, विदेशी विनिमय सञ्चिति २८८१ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ। यो सञ्चिति अमेरिकी डलरमा २० अर्ब ४१ करोड बराबर हो, जसले १६ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न पर्याप्त क्षमता जनाउँछ।
चालु खाता १३० अर्ब ६९ करोडले र शोधनान्तर स्थिति १५३ अर्ब ६८ करोडले बचतमा रहेको छ। विप्रेषण आप्रवासमा पनि उल्लेखनीय वृद्धि भएको छ- नेपाली रुपैयाँमा ३३.१ प्रतिशत र अमेरिकी डलरमा २७.६ प्रतिशतले। चालु आर्थिक वर्षको भदौ महिनामा मात्रै १७४ अर्ब ६७ करोड रुपैयाँ बराबरको विप्रेषण देश भित्रिएको राष्ट्र बैंकले जनाएको छ।
राजस्व र खर्चको पक्षमा पनि सुधार देखिएको छ। भदौसम्ममा सरकारको खर्च १८० अर्ब १७ करोड र राजस्व परिचालन १५७ अर्ब ५३ करोड पुगेको छ। विस्तृत मुद्राप्रदाय ०.३ प्रतिशतले बढेको छ भने वार्षिक विन्दुगत आधारमा यो वृद्धि १२.४ प्रतिशत रहेको छ।
बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप परिचालन भदौ महिनामा ०.५ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ०.९ प्रतिशतले बढेको छ। वार्षिक विन्दुगत आधारमा निक्षेपमा १२.५ प्रतिशत र कर्जामा ७.८ प्रतिशतको वृद्धि भएको छ, जसले अर्थतन्त्रमा क्रियाशीलता विस्तार भइरहेको संकेत दिन्छ।
तरलता सहज बन्दै गएसँगै ब्याजदर घट्ने सम्भावना पनि बढेको देखिन्छ। राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाबीचको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर २.७५ प्रतिशतमा झरेको छ। त्यसैगरी, ९१ दिन अवधिको ट्रेजरी बिलको भारित औसत ब्याजदर पनि घटेर २.१३ प्रतिशतमा सीमित भएको छ।
वाणिज्य बैंकहरूको निक्षेपमा भारित औसत ब्याजदर ३.९६ प्रतिशत र कर्जामा ७.६६ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकले जनाएको छ। अघिल्ला महिनामा भन्दा यी दरहरू केही घटेकाले निकट भविष्यमै वाणिज्य बैंकहरूले निक्षेप र कर्जामा ब्याजदर थप समायोजन गर्न सक्ने वित्तीय विश्लेषकहरूको अनुमान छ।
चालु आर्थिक वर्षको सुरुवाती महिनामा नेपालका मौद्रिक सूचकहरू सन्तुलित देखिएका छन्। मुद्रास्फीति नियन्त्रित रहँदा वैदेशिक सञ्चिति बलियो, विप्रेषण बढ्दो र बैंकिङ क्षेत्र स्थिर दिशातर्फ उन्मुख रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।
प्रतिक्रिया