+
Search

ताजा अपडेट +

पपुलर +

हाटबजार:

पालुङटारको पहल : किसानका नबिकेका उत्पादन नगरपालिकाले नै किन्ने, कृषकहरू उत्साहित

नगरपालिकाले बिक्री नहुने तरकारी, फलफूल र अन्य उत्पादन खरिद गर्ने, स्थानीय किसानलाई आर्थिक राहत र आत्मविश्वास

पालिका लाइभ
२०८२ आश्विन २५, शनिबार ११:२२ गते

पालुङटार– स्थानीय उत्पादनको संरक्षण र किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले पालुङटार नगरपालिकाले हाटबजारमा नबिकेका कृषिजन्य वस्तुहरू आफैँ किन्ने नीति ल्याएको छ। यस पहलले किसानहरूको आत्मविश्वास बढाएको छ र कृषि क्षेत्रमा संलग्न युवाहरूलाई पनि सकारात्मक सन्देश दिएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाले वडा नं. ४, बाह्रपिर्केमा हरेक बिहीबार सञ्चालन हुने हाटबजारमा किसानहरूले ल्याएका तरकारी, फलफूल, दुग्धजन्य उत्पादन र घरेलु वस्तु बिक्री नहुने अवस्थामा नगरपालिका आफैँ खरिद गर्ने व्यवस्था गरेको छ। खरिद गरिएका उत्पादन विद्यालय, बालगृह, वृद्धाश्रम र अन्य सार्वजनिक संस्थामा वितरण गरिने छ। यसले किसानले आफ्नो मेहनतको उचित मूल्य पाउने वातावरण सिर्जना गरेको छ।

नगरपालिकाका अनुसार यो योजना खरिदमा सीमित छैन। दीर्घकालीन रूपमा यसले स्थानीय उत्पादन, आत्मनिर्भरता र कृषि पेशाको सम्मान बढाउने उद्देश्य राखेको छ। कृषकहरूले यसबाट ठुलो राहत पाएको बताएका छन्। पालुङटार–४ की कृषक मिना कुमालले भनिन्, ‘पहिले बजारमा सामान नबिक्दा घाटा हुन्थ्यो, अहिले नगरपालिका नै किनिदिँदा राहत मिलेको छ। अब हामी अझ धेरै उत्पादन गर्न उत्साहित भएका छौँ।’

यस्तै, युवा कृषक कमल गुरुङले भने, ‘पहिले हाटबजारमा नबिकेपछि सामान कुहिन्थ्यो, अहिले कम्तीमा नोक्सान हुँदैन। यसले हामीजस्ता साना किसानलाई ठुलो हौसला दिएको छ।’

नगरपालिकाले किसानका उत्पादनको मूल्य निर्धारणका लागि एक समिति गठन गरेको छ, जसले बजार दरअनुसार निष्पक्ष मूल्य तय गर्ने व्यवस्था मिलाएको छ। यसले मनोमानी मूल्य निर्धारण वा दलीय प्रभाव बिना कारोबार सुनिश्चित गर्दछ। नगरप्रमुख विवश चिन्तनका अनुसार यो प्रणालीले बजारमा मूल्य सन्तुलन कायम गर्न सहयोग पुर्‍याउनेछ।

पालुङटार नगरपालिकाको यो पहल प्रदेशमै उदाहरणीय बनेको छ। कृषक कल्याणलाई केन्द्रमा राखेर सञ्चालन गरिएको यस पहलले अन्य स्थानीय तहलाई पनि प्रेरणा दिएको बताइन्छ। नगरपालिकाले यस अभियानलाई स्थायी बनाउने तयारी गरिरहेको छ, जस अन्तर्गत आगामी आर्थिक वर्षदेखि ‘कृषक उत्पादन संरक्षण कोष’ स्थापना गर्ने योजना रहेको छ।

नगरपालिकाले किसानलाई उत्पादनमा प्रोत्साहित गर्न अनुदान र नीति समेत लागू गरेको छ। वडा नं. ४, बड्डाँडाका किसानहरूले दुई रोपनीभन्दा बढी जग्गामा तरकारी खेती गर्दा ५० प्रतिशत अनुदान पाउने नीति लागू गरिएको छ। यदि उत्पादन बजारमा खपत नभएमा नगरपालिका न्यूनतम २५ प्रतिशत मूल्यमा खरिद गरेर अन्यत्र बेच्ने कार्यक्रम पनि घोषणा गरिएको छ। कृषि उत्पादन ढुवानीका लागि नगरपालिका कृषि एम्बुलेन्स सञ्चालन गरिरहेको छ।

त्यसैगरी, नगरपालिकाले विभिन्न वडा क्षेत्रलाई उत्पादन–केन्द्रित ब्लक घोषणा गरेको छ। वडा नं. ६ अमिलो जात पकेट, वडा नं. ३ आलु पकेट, वडा नं. १ र ९ धान पकेट, तथा वडा नं. ७, ८, ९ र ४ दूधमा आत्मनिर्भर घोषणा गरिएको छ। त्यस्तै, वडा नं. ६, ७ र ८ लिची ब्लकको रूपमा समावेश छन्।

‘ताजा उत्पादन, उचित मूल्य–पालुङटार हाटबजार हाम्रो साझा धरोहर’ भन्ने मूल नारासहित सुरु गरिएको हाटबजार उद्घाटनकै दिन करिब ५ लाख ४८ हजार ८०० रुपैयाँ बराबरको स्थानीय उत्पादन बिक्री भएको थियो। अब किसानहरूले आफ्नो पसिनाको मूल्य नष्ट हुन नदिने वातावरण पाएका छन् भने पालिका ‘कृषि–केन्द्रित सुशासन’को उदाहरण बनेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ