+
Search

ताजा अपडेट +

पपुलर +

रामकुमारी भन्छिन्:

माधव नेपाललाई रामकुमारीले गरिन् ‘मरेको सिनो’सँग तुलना, एकीकृत समाजवादीमा ‘खैलाबैला’ (भिडिओ)

भिडिओ स्राेत: रेखा तामाङ लोप्चन
पालिका लाइभ
२०८२ असार १५, आईतवार

बुटवल- एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष माधव नेपाल लक्षित गर्दै गरेको कडा टिप्पणीले अहिले पार्टीभित्र ‘खेलाबैला’ मच्चिएको छ ।

नेकपा एससम्बद्ध युवा संघ नेपालको लुम्बिनी प्रदेश भेलालाई शनिबार सम्बोधन गर्दै उनले ‘मरेको सिनोलाई काँधमा राखेर हिँड्न नसकिने’ कडा अभिव्यक्ति दिएकी थिइन् ।

पार्टी अध्यक्ष लक्षित उनको यस अभिव्यक्तिले अहिले नेकपा एसभित्र खैलाबैला मच्चिएको छ ।

उनले अब पार्टी पुनर्गठनका लागि ‘अर्ली महाधिवेशन’ मा जानुपर्ने समेत बताएकी छन् । झाँक्रीको भाषणाको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

‘तपाईहरूलाई थाहा छ, पार्टीमा संकट छ । अध्यक्षकै बारेमा संकट आयो । अब के गर्ने ? अब पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो’, उनले भनेकी छन्, ‘संकट आयो भनेर भाग्ने भनेको होइन । पार्टीलाई पुनर्गठन गरौं । कसरी गर्ने ? अर्ली महाधिवेशन गरौं । अर्ली महाधिवेशनबाट पुनर्गठन गरेर अध्यक्ष बनाऔँ ।’ उनले भनेकी छन्, ‘कहाँ हुन्छ यसरी ? म त भन्छु–अब अर्ली महाधिवेशन गरौं। कानुनी, संवैधानिक हिसाबले अध्यक्षमाथि संकट आयो । अरू कैयौँ पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ । अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन । होइन भने, हामी सुध्रिने हो भने नयाँ ढंगले जानको लागि केही डिपार्चर गर्नुपरेन ? अर्ली महाधिवेशन गरौँ, हलबाट नेतृत्व छानौँ । तपाईंमध्ये जोकोही पनि नेतृत्वमा आउन सक्छ ।’

कुनै समय अध्यक्ष नेपालको नजिकको नेता मानिने झाँक्रीले अहिले एकाएक कडा अभिव्यक्ति दिएपछि एकीकृत समाजवादीभित्र खैलाबैला भएको छ । पूर्व प्रधानमन्त्री समेत रहेका एकीकृत समाजवादीका अध्यक्ष नेपालले पतञ्जलि जग्गा प्रकरणमा यही असार ११ गते मात्र विशेष अदालतमा ३५ धरौटी बुझाएका थिए । पतञ्जलि जग्गा घोटाला प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको मुद्दामा सुनुवाइ गर्दै विशेष अदालतले असार ११ गते पूर्व प्रधानमन्त्री नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

झाँक्रीको अभिव्यक्तिको अंश :-

पार्टी बनाउने….यस्तै संकटहरूबाट हामी उठ्नुपर्छ । पार्टीमा अर्को ठूलो संकट छ । तपाईंहरू सबैलाई थाहा छ, पार्टीमा संकट छ । अध्यक्षकै बारेमा संकट आयो । अब के गर्ने ? अब पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो । संकट आयो भनेर भाग्ने भनेको होइन । पार्टीलाई पुनर्गठन गरौं । कसरी गर्ने ? अर्ली महाधिवेशन गरौं । अर्ली महाधिवेशनबाट पुनर्गठन गरेर अध्यक्ष बनाऔँ । कहाँ हुन्छ यसरी ? म त भन्छु, अब अर्ली महाधिवेशन गरौँ । कानूनी, संवैधानिक हिसाबले अध्यक्षमाथि संकट आयो । अरु कैयौं पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ । अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन ।

होइन भने, हामी सुध्रिने हो भने नयाँ ढंगले जानको लागि केही डिपार्चर गर्नुपरेन ? गरौँ न त, अर्ली महाधिवेशन गरौँ । अर्ली महाधिवेशन गरौँ, हलबाट नेतृत्व छानौँ । तपाईंमध्ये जो कोही पनि नेतृत्वमा आउन सक्छ । होइन भने मतदाता नामावली सारेर ल्याएका मान्छेहरूबाट, टीका लगाएर बनाएको केन्द्रीय समितिबाट चुनाव लडेर यही पार्टी बनाउने हो भने तपाईंहरुले यो पार्टी बनाउनुहुन्न…।

भिडिओ

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ