+
Search

ताजा अपडेट +

पपुलर +

अपराधको घटना बढ्दो

धादिङको उत्तरी क्षेत्रमा राधे समूहको आतंक : अस्पतालमै युवामाथि खुकुरी प्रहार

पालिका लाइभ
२०८२ जेष्ठ २, शुक्रबार

धादिङ– गुण्डागर्दी, हप्ता असुली र अपराधमा चर्चित नाम हो, राधाकृष्ण भण्डारी उर्फ राधे ।

कुनै समय दिनेश अधिकारी चरिलाई गोली प्रहार गरेको घटनामा जेल समेत बसेर आएका राधे हिजो आज काठमाडौं आउँदैनन् । उनी धादिङमै गुण्डागर्दी मार्फत ठेक्का पट्टा हत्याउने व्यवसायमा छन् ।

जेल भित्रै रहेका समिरमान बस्नेतसँग केही महिनाअघि खटपट भए पनि जेलभित्रबाट १० लाख रुपैयाँ पठाइ दिएपछि राधेले बाहिरबाट समिरमानको धन्दा समेत सम्हालिरहेका छन् । उनै राधे समूहले धादिङको निकै दुर्गम मानिने उत्तरी क्षेत्रमा समेत सक्रियता बढाएको छ ।

राधे समूहका गुन्डा नाइके राम अकिलसिंह गुरुङसहितका व्यक्तिले गत वैशाख २६ गते अशोक समूहमा रहेका विवश तामाङ र अशोक तामाङका छोरामाथि खुकुरी प्रहार गरेको छ । यसअघि कर्तव्य ज्यान मुद्दामा समेत कैद सजाय भागेर बाहिर आएका अमर तामाङ, झ्याप्ले भन्ने अमर तामाङ, राम अकिल सिंह गुरुङ,  सौजल गुरुङ र प्रवीण कटुवालको समूहले खुकुरी प्रहार गरेको स्थानीयले बताएका छन् ।

सुत्केरी महिलालाई उपचारका लागि खनियावास गाउँपालिका ४ दार्खास्थित स्वास्थ्य चौकीमा पुगेका दुई युवामाथि खुकुरी प्रहार भएको घटना सार्वजनिक भएको छ । खुकुरी प्रहारबाट विवश तामाङ गम्भीर घाइते भएको पाइएको छ । स्रोतका अनुसार गत वैशाख २६ गते राती ११ बजेर ३५ मिनेट जाँदा विवशमाथि खुकुरी प्रहार भएको हो ।

घटनाबारे प्रतिक्रियाका लागि जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी सुवास हमाललाई प्रतिक्रिया माग्दा जाहेरी आएको स्वीकार गरे । घाइते तामाङको उपचारका लागि धादिङ हुँदै काठमाडौं ल्याइएको छ । काठमाडौँमा सिटिस्क्यान र एमआरआई गरिएको रिपोर्टमा देखिन्छ ।

घटनापछि पीडित परिवारले अभियुक्तहरू विरुद्ध किटानी जाहेरी समेत दिए पनि प्रहरीले त्यसलाई गम्भीरतापूर्वक अनुसन्धान नगरी पक्राउ नगरेको पीडित परिवारको गुनासो छ । यद्धपी डिएसपी हमाल भने आफूहरूले अनुसन्धान गरिरहेको र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिनका लागि प्रहरी निरीक्षकको नेतृत्वमा कमान्ड नै पठाउने तयारी रहेको बताए । राधे समूहमा रहेका राम अकिल सिंह र झ्याप्ले भनिने अमर तामाङ खुंखार अपराधमा संलग्न छन् ।

२०६९ मंसिर १८ गते भाषण सिम्खडासहितको समूहमा रहेका यो घटनामा समेत फरार रहेका अमर लामा समेतका व्यक्तिहरूले स्थानीय विजय तामाङको हत्या गरेका थिए ।  विजय समर्थित समूहले घटना भएको १२ घण्टा नबित्दै भाषण सिम्खडाको अपहरणपछि हत्या गरेको थियो । यो घटना सार्वजनिक भएपछि धादिङको खनियाबासमा हत्याको बदला हत्याले लिने गरेको तथ्य बाहिर आएको थियो  ।

भाषण हत्यापछि फरार रहेको समूहले नै सत्यदेवी गाविस ३ स्थित गंगालाल तामाङको हत्या गरेका थिए । २०६७ कार्तिक १ गते दार्खाकै स्थानीय एमाले नेता शिव थापाको हत्या भएको थियो । प्रहरीले घटनालाई समयमै अनुसन्धान गरी कारबाही गर्न नसक्दा यो क्षेत्रमा अपराधको घटना बढ्दो छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ