काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई दिनभित्र पार्टी एकीकरणका बाँकी कामलाई पनि पूर्णता दिने बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित ‘कार्ल मार्क्स : २ सय १ जन्म स्मृति’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले जिल्ला कमिटीहरूको एकीकरणको काम सकिएको दाबी गर्दै जनसंगठनहरूको एकीकरण र नेताहरूको जिम्मेवारी बाँडफाँडको काम पनि २ दिनभित्र सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
उनले पार्टी एकीकरणको बाँकी काम पूरा हुनेबित्तिकै करिब ८ महिना भित्र पार्टीका जिल्ला अधिवेशन सम्पन्न गर्ने योजना पनि अघि सारे । त्यसका लागि सोमबार पार्टी केन्द्रीय सचिवालय बैठक बोलाइएको पनि अध्यक्ष दाहालले जानकारी दिएका थिए।
पार्टीका जिल्ला अधिवेशनहरूमा पार्टी निर्माणका लागि ‘ग्रेट डिबेट’ सञ्चालन गर्ने अध्यक्ष दाहालको भनाइ छ। अध्यक्ष दाहालले पार्टी निर्माणका लागि ‘ग्रेट डिबेट’मा सहभागी हुन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।
अध्यक्ष दाहालले पार्टी समाजवादी कित्तामा उभिएकाले त्यसैलाई वैचारिक आधार मानेर पार्टी निर्माणको बहसलाई व्यापक बनाउने प्रतिबद्धता पनि व्यक्त गरे।
भने ‘पूँजीको विकास हुँदैमा समाजवाद आउँदैन। दलाल नोकशाही पूँजीवाद प्रतिस्थापन नगरी समाजवाद आउँदैन। चीनले हामी अझै समाजवादको प्रारम्भमा छौं भनिरहेको छ। समाजवादका लागि सचेत धक्का चाहिन्छ। हामीले त्यसकै लागि काम गर्नुपर्छ। हामीमा विचार र संगठनमा गति चाहिन्छ, विकास चाहिन्छ, राष्ट्रिय पूँजीको विकास चाहिन्छ।’
यस्तो छ अध्यक्ष प्रचण्डको सम्बोधनको मूल अंश।
‘मैले अस्ति घनश्यामजीलाई भनेको थिएँ। आजको कार्यक्रम धेरै महत्वपूर्ण कार्यक्रम हो। कार्यक्रममा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधव नेपाललाई पनि बोलाउनु होला।
त्यस कार्यक्रममा कार्ल मार्क्सका योगदान, मार्क्सवादका शिक्षा र नेपाली समाजमा यसको प्रयोगबारे गम्भिर बहस हुन जरुरी छ।
तर, कमरेडहरुले प्रधानमन्त्री र माधव कमरेड आउन नसकेको जानकारी दिनुभयो। सचिवालयका २ जना स्थायी समितिका धेरै र केन्द्रीय समितिका अधिकांश नेता हुनुहुन्छ।
मभन्दा अघि झलनाथ कमरेडले धेरै गम्भिर ढंगले आफ्ना कुरा राख्नुभएको छ।
उहाँले मार्क्सवादको आलोकमा वर्गसङ्घर्षको अनुभव, मार्क्सवादका शिक्षा, भौतिकवाद, द्धन्द्धवाद लगायतका विषयमा आफ्नो प्रवचनात्मक मन्तव्य राख्नुभएको छ।
यसका साथै उहाँले विश्वभरिका क्रान्ति र प्रतिक्रान्तिका अनुभव, रुसी क्रान्ति, चिनियाँ क्रान्ति र प्रतिक्रान्तिबारे पनि गहन विचार राख्नुभएको छ। उहाँले गहन र राम्रो भाषण गर्नुभएको छ, यसका लागि म उहाँलाई धन्यवाद दिन चाहन्छु।
कार्ल मार्क्सकै योगदानका कारण वैज्ञानिक समाजवादको विकास भयो, श्रमजीवीका लागि नयाँ युगको सुत्रपात भयो। विश्वमा ठूलठूला क्रान्ति भए। हामी कार्ल मार्क्स जन्मिएको २०० वर्ष मनाउँदैछौं।
मानव जातिको इतिहासमा कार्ल मार्क्सको निकै ठूलो योगदान रहेको छ।
मानव जातिले कार्लमार्क्सलाई १००० वर्षयताकै महान व्यक्ति, महान् दार्शनिक ठान्छ, जसका विचारले संसारलाई नै प्रभावित ग¥यो। आजसम्म त्यसको वैज्ञानिक खण्डन कसैले गर्न सकेको छैन।
सर्वहारा वर्गले मात्र होइन, उहाँलाई पूँजीवादी शिविर र दुनियाँले मानेको छ।
मार्क्सका सिद्धान्त सार्वभौम छन्। वैज्ञानिक समाजवाद, वर्गसङ्घर्ष, अतिरिक्त मूल्यको सिद्धान्त, उत्पादन सम्बन्ध सम्बन्धि मार्क्सको खोज र व्याख्यालाई कसैले वैज्ञानिक रुपले खण्डन गर्न सकेको छैन।
तर, २०० वर्षको अवधिमा सर्वहारा वर्गले धेरै ठूला उतारचढाव बेहा¥यो। यसका बारेमा तपाईहरुलाई धेरैथोरै जानकारी छ। विश्व सर्वहारा वर्गले धेरै ठूला घुम्ती र मोडहरु छिचोलेर यहाँसम्म आइपुगेको छ।
हामी सुरुमा थोरै मानिस थियौं। सत्ता प्रतिक्रियावादी वर्गको हातमा थियो। संगठन सानो थियो, जनआधार पनि सानै संख्यामा थियो। तर, हामी अति धेरै आत्मविश्वासी थियौं।
जनताप्रति समर्पित थियौं।
२००६ सालमा पार्टी स्थापना गर्दा होस् वा रुस चीनको बहसमा नेपालको अन्तरविरोधको कुरा होस्, झापा विद्रोहको बेला होस् वा जनयुद्धको बेला, हामी निकै संकल्पवद्ध थियौं।
झापा विद्रोह वा केन्द्रीय न्युक्लियस हुँदा पनि हामी संकल्पवद्ध थियौं। त्यो बेला हामीमा निकै ठूलो उर्जा थियो। थोरै युवानहरुले पञ्चायती कालारात्री उल्टाउन लागेका थियौं।
वर्गसङ्घर्ष गर्ने हो, हतियार उठाउने हो भन्ने आत्मविश्वास थियो। त्यसमा ठूलो संकल्प थियो।
हामी निकै ठूलो विचित्र सपना देख्थ्यौं। घरको सबै बेचेर, गोरु भैंसी बेचेर पार्टीलाई बुझाइन्थ्यो। रातभरि मिटिङ गर्थ्यौं। हामी हप्तौं सुत्दैनथ्यौं। रातभरि संगठन र संघर्षको काम गर्थ्यौं। त्यसमा छुट्टै उर्जा र गौरव थियो।
हामी थोरै पूर्णकालीन कार्यकर्ता थियौं। हामी दलित बस्तीमा जाँदा गौरवको अनुभूति हुन्थ्यो।
अन्तरजातीय विवाह गराउँदा गौरव हुन्थ्यो। झुपडीमा जाँद बेग्लै आनन्द आउँथ्यो। असीम त्यागको अनुभूति हुन्थ्यो।
अहिले हामी लाखौं कार्यकर्ता छौं। ठूलो शक्ति पनि छौं। तर, हिजोको निष्ठा कता छ, हामी कता छौं ? अहिले सोच्दा विचित्र लाग्छ। हिजो थोरै हुँदा दुनियाँ बदल्छौं भन्ने मनोबल अहिले कता पुग्यो ? यति ठूलो पार्टी हुँदा पनि हामी किन एक्लो महशुस गर्दैछौं ?
हिजो पश्चिमको साथी पूर्व जाँदा हार्दिकता हुन्थ्यो।
कसिलो हात मिलाइन्थ्यो। हृदयदेखि भावना जागृत हुन्थ्यो। आफ्नोपनको अनुभूति हुन्थ्यो। हामीले जतिसुकै ठूला दुखकष्ट र चुनौति बिर्सन्थ्यौं। तर, अहिले किन त्यस्तो हुँदैन ? हिजो जङ्गलमा सुतियो।
तर, जङ्गलको अनुभूति भएन। हामी जङ्गलमा भएजस्तो अनुभूति पनि भएन। तर, अहिले काठमाडौंमा लाखौंको बीचमा हुँदा एक्लै भएको महशुस हुन थालेको छ। अहिले के विचित्र भइराखेको छ ?
हामी ६÷७ लाख कार्यकर्ता उठ्ने हो भने त हामीले दलाल नोकरशाही पूँजीवाद परास्त गर्न सक्छौं। तर, हामी हिम्मत हार्दैछौं। किन एक्ला भएका छौं ? हामी समूहमा भएर पनि किन कमजोर हुँदैछौं ? हामीले संकल्प र समीक्षा गर्ने यही हो।
हामीले मार्क्सबाट सिक्ने यहीँनेर हो। कार्ल मार्क्सले जिन्दगीभर सङ्घर्ष गर्नुभयो। त्यहाँ गाडी थिएन, घर थिएन।
जिन्दगीभर दुखकष्टको जिन्दगी बिताउनुभयो। हामीसँग अहिले घर छ, गाडी छ। तर, कता हरायौं, हाम्रो उर्जा र संकल्प कहाँ गयो ? हाम्रो गल्ती यहीँनेर छ। समीक्षा यही गर्नुपर्छ।
हाम्रो आदर्श के हो ? हिजो जेल बस्दा आत्मसमर्पणका लागि २ शब्द नलेख्ने, तर आज कता गयौं ? किन यति छिटै गलेका छौं ? यसको खोजी गर्नुपर्छ। तर, खोजी कल्पनामा होइन, यथार्थमा उभिएर गर्नुपर्छ।
हाम्रो वस्तुगत धरातलमा उभिएर गर्नुपर्छ। मैले एकतापछि केही गम्भिर कुरा सोचेको छु। नेपालमा ठूलो बहस र छलफलको आवश्यकता छ।
बहस र छलफलबिना विचारको विकास गर्न सकिँदैन। हामीले एउटा सांस्कृतिक क्रान्तिको घोषणा गर्नुपर्छ। नयाँ बहसको आवश्यकता छ, एउटा अभियानको घोषणा गर्न जरुरी छ।
मेरो आलोचना होस्, म सधैं तयार छु। म आलोचनालाई स्वागत गर्छु। तर, यथार्थमा उभिएको हुनुपर्छ। भ्रामक होइन, यथार्थ आलोचना होस्। म सधैं श्रमजीवी वर्गको पार्टी बनाउन संकल्पवद्ध छु, त्यसका लाग आलोचना सुन्न र सच्चिन तयार छु।
लेनिनले साम्राज्यवादी युगमा सर्वहारा वर्गको एक मात्र हतियार संगठन हो, सर्वहारा वर्गसँग संगठन चाहिन्छ भन्नुभएको छ।
हामीलाई एउटा परिस्कृत र परिमार्जित पार्टी चाहिएको छ। हामीलाई क्रान्ति र प्रतिक्रिान्तिका अनुभवसहितको विचार चाहिएको छ, कार्यशैली चाहिएको छ, संगठन चाहिएको छ। समाजवादको यात्रामा अघि बढ्ने पार्टी चाहिएको छ।
महान बहसबाट मात्र सही विचार आउँछ। सही विचार वर्गसङ्घर्ष, उत्पादन सङ्घर्ष र वैज्ञानिक प्रयोगबाट आउँछ। सही विचार विद्धानले मात्र ल्याउने होइन। मार्क्सले नगरेको भए सर्वहारा विचारको विकास अरु कसैले गर्थ्यो।
त्यो कुरा मार्क्सले नै भन्नुभएको छ। वस्तुगत परिस्थितिले त्यो अवस्था आयो, मार्क्सवादको विकास भयो। तर, मार्क्सजस्तो विलक्षण प्रतिभाको विद्धान र दार्शनिक नभएको भए मार्क्सवाद जन्मन अझै धेरै समय लाग्न सक्थ्यो।
हाम्रो सन्दर्भमा पनि त्यही कुरा लागू हुन्छ। हामी २१ औं शताब्दीमा छौं। यो पार्टीले २१ शताब्दीको विचार र संगठनात्मक सिद्धान्त दिन सक्नुपर्छ। हामीले यो कार्यभार पूरा गर्नैपर्छ, हामीले पार्टीमाथि, जनतामाथि भरोसा गर्नैपर्छ।
मार्क्सवाद कुनै जमेको पोखरीको पानीजस्तो होइन। मार्क्सवादले वैज्ञानिक प्रयोग मान्छ। खुरुखुरु सुत्रले यो हुँदैन, बहस र प्रयोगमा जानुपर्छ। मार्क्सले आफ्नै जीवनमा त्यो प्रयोग गर्नुभएको छ।
कम्युनिष्ट अन्तर्राष्ट्रिय बनाउने र भत्काउने, पार्टी बनाउने र बिघटन गर्ने प्रयोग उहाँले नै गर्नुभयो।
तर, हामीकहाँ नयाँ प्रयोग गर्दा अस्थिरको आरोप लाग्छ। हामीले समयअनुसार कदम चाल्नुपर्छ।
परिस्थितिअनुसार कदम चाल्ने नेता अस्थिर होइन, गतिशील हो। हामीले पोखरीको पानी भत्काउनुपर्छ। मलाई त्यो पोखरी भत्काएर गड्गडाउने खोलो बनाउन मन लाग्छ।
मैले विश्वका कम्युनिष्ट आन्दोलन जति पढें, क्रान्ति र प्रतिक्रान्तिका अनुभव जति पढें, बुझें, त्यहाँबाट सिकेको त्यही हो।
म सानो समहूको महासचिव थिए। मैले त्यही पार्टी भत्काएँ।
मलाई मेरै पार्टी भत्काउन मन लाग्यो। सानो नाङ्लो पसल थापेर हुँदैन भन्ने लाग्यो। मैले पार्टी भत्काउन थालें। नयाँ पार्टी बनाउने कोशिस गरें। मैले नै ध्रुवीकरणको प्रक्रिया सुरु गरेको थिएँ।
हामीले ध्रुवीकरणको सोंच त्यतिमै सीमित राखेका थिएनौं। म र मदन भण्डारीबीच पार्टी एकताबारे कुरा गर्ने सल्लाह भयो। तर, त्यो दिन आएन। बीचमै मदन भण्डारीको अवसान भयो।
तर, पर्खिदै गएर हामी यहाँ आयौं। अहिले २ शक्तिशाली पार्टीबीच एकता भएको छ।
मदन भण्डारीको अवसानपछि हामी २ वटा प्रयोगमा गयौं। शान्तिपूर्ण राजनीतिलाई जनतासँग जोड्ने मदन भण्डारीको प्रयोग थियो। अर्को प्रयोग मेरो नेतृत्वमा जनयुद्ध भयो।
केही वर्ष त एकले अर्कालाई निषेध गर्न नखोजेको होइन। केही वर्ष शत्रुतापूर्ण सङ्घर्ष पनि भयो। तर, यो वैज्ञानिक सावित भएन। परिस्थितिले दुवै कम्युनिट पार्टी मिल्नु नै राम्रो बनायो।
जनताले पनि हामीलाई मिल्न आदेश दिए। हाम्रो बीचमा धेरै अन्तरक्रिया र बहसहरु भए। जनयुद्धकै बेला पनि हाम्रो बीचमा ठूलो बहस सुरु भएको थियो। हामीमा नयाँ परिस्थिति पैदा भयो। हामीले एकताका लागि गहन छलफल र बहस ग¥यौं।
विश्वमा क्रान्तिका २ मोडेल छन्। विश्वमा धेरै सशस्त्र सङ्घर्ष पराजित भएका छन्, तिनले कुनै पनि प्रणाली परिवर्तन गर्न सकेनन्। विश्वमा केही सफल क्रान्ति छन्, जसले पूरै सत्ता उल्टायो।
विश्वमा २ मोडल र परिणाम मात्र छन्। मलाई पछिल्लो समय के महशुस भयो भने सशस्त्र क्रान्तिबाट जाँदा हामीले पनि उपलब्धि रक्षा गर्न नसक्ने परिस्थितिमा जान्छौं।
त्यही विश्लेषणका कारण पूरै सत्ता कब्जा गर्ने भने पनि हामीले शान्ति र लोकतन्त्रको बाटो लियौं। प्राप्त उपलब्धिको रक्षा गर्ने बाटो रोज्यौं।
यो पनि आफैंमा जोखिम थियो। त्यहाँ सजिलो थिएन। युद्धका जोखिम जति थिए, प्राप्त उपलब्धि जोगाउन शान्ति र लोकतन्त्रको मार्ग हिँडाउनु पनि त्यत्तिकै जोखिम थियो।
त्यसका लागि बलियो नीति र नेतृत्व चाहिन्थ्यो। वैज्ञानिक विचार र कुशल नेतृत्वका कारण सफल भयो। हामीले पूरै युटर्न गर्न सकेका कारण यहाँ आयौं। आन्दोलनमा सर्वस्वीकार्य नेतृत्व नभई यो सम्भव हुने कुरा होइन।
पार्टी एकता ठूलो काम हो, ऐतिहासिक काम हो, असाधारण काम हो। २ अलग बाटोमा हिडेका पार्टी एक ठाउँमा ल्याउनु सामान्य कुरा होइन। मार्क्सवादका शिक्षालाई ठीक ढंगले नबुझी यो सम्भव थिएन।
हामीले यो ठूलो प्रयोग ग¥यौं। हामी त्यसमा सफल भयौं। एकताको प्रस्तावकका नाताले ममा गर्व छ, एमाले र माओवादीका रुपमा हामीले चुनावी प्रतिस्पर्धा पनि ग¥यौं, हामीले जित्यौं पनि, हा¥यौं पनि। हामी दुवै पार्टीमा जीत र हारको अनुभव भयो।
त्यसले एक ठाउँमा आउन बल मिल्यो। हामीमा सशस्त्र र शान्तिपूर्ण आन्दोलनबाट अगाडि बेढेर संविधान दिने, समाजवादको यात्रामा अघि बढ्ने कुरा सामान्य कुरा होइन।
नेकपा एमालेको नवौं महाधिवेशन र एकीकृत नेकपा माओवादीको हेटौंडा महाधिवेशनबाट पनि समाजवादी क्राज्तिमा जाने निष्कर्ष निस्कियो, पार्टी एकताको आधार त्यो पनि हो।
त्यो वैचारिक आधारले नै हामीलाई नजिक ल्यायो। संविधानका अन्तर्वस्तु र समाजवादको अवधारणामा समान सोंच भएकाले नै हामीलाई यहाँ ल्यायो।
नेताहरुको चाहनाले मात्र पनि भएको होइन। तर, यसमा नेताहरुको आँट पनि छ।
हामीले फेरि पनि पूराना पार्टीहरु भत्काएका छौं। एमालेका रुपमा र माओवादीका रुपमा जमेको पोखरी हामीले भत्काएका छौं। गड्गडाएर अघि बढ्ने मान्यताबाट यो एकता भएको हो।
सानो बहसको नजिता पनि सानै हुन्छ। तर, ठूलो बहसले ठूलै परिणाम दिन्छ। सानो पोखरीमा पौडी खेल्ने कि ठूलो पोखरीमा ? ठूलो बहसले मात्र ठूलो परिणाम दिन्छ। हामी समाजवादमा जानुछ, त्यसका लागि महान् विचार, ठूलो संगठन चाहिन्छ।
त्यही संकल्पका साथ एकता गरिएको हो। कतिपय साथीहरुले वैचारिक बहस नगरेर एकता गर्न हुँदैन भन्नुभएको थियो।
तर, हामीले हिजोकै मान्यतामा बहस गरेको भए एकता हुने थिएन। हामीले शान्तिपूर्ण रुपमा समाजवादमा जाने संकल्पका आधारमा एकता गरेका हौं। बाँकी कुरा बहस हुँदै जान्छ, निष्कर्षमा पुग्दै जान्छ।
राम्रै काममा जानुछ भने हाम फाल्नुपर्छ। मुल कुरा ठीक लागेपछि हाम फाल्नु नै राम्रो हो, त्यहीबाट नै सबै कुराको छिनोफानो हुन्छ। सबै कुरा बन्दै जान्छ। हामीले एकदमै ठीक गरेका छौं। हामीले अस्तिसम्म आउँदा एकता टुंगाएका छौं।
फलामे ढोका फोरेका छौं। बाँकी काम १÷२ दिनमा टुगाउँछौं। जनसंगठन र कार्यविभाजनको काम छिटै टुंगिन्छ। त्यसपछि हामी हामी तुरुन्तै अधिवेशनमा जान्छौं।
अब युद्ध स्तरमा अधिवेशन हुन्छ। त्यो बहसमा जानु पनि हो। हामीमा धेरै कन्फ्युजन छैन। विचारमा अहिले एउटा कुरा नै मूख्य हो। हामी समाजवादी कित्तामा कि पूँजीवादमा ? हाम्रो बहस यहीँनेर हो।
अरु धेरै कुरा छैन। अहिले नै समाजवादको आधार बनेको छैन। पूँजीको विकासविना अहिल्यै समाजवाद बन्दैन।
त्यसका लागि हामीले सङ्घर्ष गर्नुछ। हामीले उत्पादक शक्तिको विकास गर्ने, राष्ट्रिय पूँजीको विकास गर्नेतिर जानुपर्छ। हामीले विकास र रोजगारी सिजर्ना गर्नुपर्छ। त्यसले मात्रै समाजवादको जग बसाल्न सकिन्छ।
पूँजीको विकास हुँदैमा समाजवाद आउँदैन। दलाल नोकशाही पूँजीवाद प्रतिस्थापन नगरी समाजवाद आउँदैन। चीनले हामी अझै समाजवादको प्रारम्भमा छौं भनिरहेको छ। समाजवादका लागि सचेत धक्का चाहिन्छ।
हामीले त्यसकै लागि काम गर्नुपर्छ। हामीमा विचार र संगठनमा गति चाहिन्छ, विकास चाहिन्छ, राष्ट्रिय पूँजीको विकास चाहिन्छ।
पार्टीमा कमरेडली व्यवहार चाहिन्छ। त्यता लैजानुछ। हामीले कमरेड बनाउँछौं। कम्युनिष्ट पार्टीमा बदमास थोरै हुन्छन्। तर, हामीमा समस्या छ। त्यसको समाधान खोज्नुपर्छ।
अब हामीले महान् बहस सुरु गर्नुपर्छ। सम्पूर्ण करेडहरु यो बहसमा जानुपर्छ। हामीले महान विचार निर्माण गर्नुछ, समाजवादी संस्कृति निर्माण गर्नुछ। हामी दुनियाँमा सबैभन्दा आक्रमक छौं। नयाँ विचार, नयाँ कार्यदिशा दिने हामीले नै हो।
अहिले नै अरुबाट आशा गरेर हुँदैन। हामीले गर्न सकेनौं भने दुनियाँमा ५० वर्ष अर्को क्रान्ति हुँदैन। विश्वलाई नयाँ विचार र कार्यदिशा दिने रणनीतिक उद्देश्यसहित पार्टी एकता गरिएको हो। सरकार कब्जा गर्न र प्रधानमन्त्री हुन एकता गरिएको होइन।
हामीले संसारभरिका श्रमजीवीलाई नयाँ सन्देश दिन एकता गरिएको हो। पार्टी एकता महान चीज हो। तर, यो आरामसाथ अघि बढ्दैन। पार्टी एकता महान विवाद, महान सङ्घर्षको सुरुवात पनि हो।
यो सजिलो कुरा पनि होइन। हामीले नयाँ सङ्कल्प गर्नैपर्छ। त्यसका लागि तयार हुन म सबै कमरेडहरुलाई अपील गर्न चाहन्छु।
म फेरि एकपटक सम्पूर्ण त्याग गरेर सङ्घर्षमा होमिन तयार छु। मलाई कुनै कठिनाई छैन। तर, म एक्लै हिँडेर मात्र पनि हुँदैन। त्यसका लागि तपाईहरुको साथ चाहिन्छ।
(कार्ल मार्क्सको २०० औं जन्म जयन्तीका अवसरमा काठमाडौंमा आयोजित विचार गोष्ठीमा अध्यक्ष प्रचण्डले गरेका सम्बोधनको सम्पादित अंश।)
प्रतिक्रिया