काठमाडौं– वैदेशिक रोजगारीमा गएर सिकेको सीप, अनुभव र आत्मविश्वासलाई स्वदेशमै प्रयोग गरी सफल व्यवसाय सञ्चालन गर्ने युवाको सूचीमा गोरखा गण्डकी गाउँपालिका–८ घ्याल्चोकका भीम श्रेष्ठ पनि पर्छन्।
सामान्य परिवारबाट जीवनको यात्रा सुरु गरेका श्रेष्ठले अभाव, संघर्ष, वैदेशिक रोजगारी, पत्रकारिता र व्यवसाय हुँदै आज आफूलाई सफल उद्यमीका रूपमा स्थापित गरेका छन्।
बुबा रामजी श्रेष्ठ र आमा कवित्रमाया श्रेष्ठका तेस्रो सन्तान भीमले गाउँकै ज्ञानमार्ग माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षाको सपना बोकेर काठमाडौं आएका थिए।
मनमोहन मेमोरियल कलेजमा कक्षा १२ सम्म अध्ययन गरेका उनले विद्यार्थी जीवनमै आर्थिक अभाव र संघर्षको वास्तविकता नजिकबाट अनुभव गरे। सामान्य जीवनयापनका लागि समेत दैनिक खर्च जुटाउन कठिन हुने अवस्थामा मासिक एक हजार रुपैयाँको जागिरले उनलाई जीवनका कठोर यथार्थसँग परिचित गरायो।
विज्ञान विषय अध्ययन गरी चिकित्सक बन्ने उनको सपना आर्थिक अभावकै कारण अधुरै रह्यो।
पछि उनले पब्लिक युथ कलेजमा व्यवस्थापन संकायमा अध्ययन सुरु गरे। अध्ययनसँगै विद्यार्थी राजनीतिमा सक्रिय बन्दै अखिल क्रान्तिकारीमा आबद्ध भए। त्यही क्रममा पब्लिक युथ कलेजको स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीले ऐतिहासिक सफलता हासिल गरेको स्मरण उनी अझै गर्वका साथ गर्छन्।
आर्थिक अभावबीच राजनीतिमा सक्रिय रहनुपरेका ती दिन कठिन भए पनि जीवनका महत्वपूर्ण अनुभव बनेको उनी बताउँछन्।
स्नातक तहको अध्ययन पूरा गरेपछि उनले उच्च शिक्षा र आर्थिक अवसरको खोजीमा बेलायत जाने सपना बुने। तर त्यही समयमा बेलायतले विद्यार्थी भिसामा कडाइ गरेपछि उनको योजना सफल हुन सकेन। त्यसपछि वैदेशिक रोजगारीलाई विकल्प बनाउँदै उनी दुई महिनाको भिजिट भिसामा दुबई पुगे। सुरुवाती दिन सहज थिएनन्।
रोजगारी नपाउने चिन्ताले स्वदेश फर्किने सोच बनाइसकेका बेला उनले मासिक ४० हजार रुपैयाँको जागिर पाए, जसले उनको जीवनलाई नयाँ मोड दियो।
दुबईमा जागिरसँगै उनी सामाजिक गतिविधिमा पनि सक्रिय बने। गैरआवासीय नेपाली संघअन्तर्गत अमल क्विन क्षेत्रीय अध्यक्षको जिम्मेवारी सम्हालेका उनले ‘गोरखा सेवा समाज यूएई’मा सचिवदेखि अध्यक्षसम्मको भूमिका निर्वाह गरे।
प्रवासमा रहेका नेपालीहरूको हकहितका लागि काम गर्नुका साथै स्वदेशमा समेत विभिन्न सामाजिक सहयोगका कार्यक्रम सञ्चालन गरे। अहिले पनि गाउँघरका सामाजिक काम र सहयोगका गतिविधिमा उनी अग्रपंक्तिमै रहने गरेका छन्।
काठमाडौंमा मासिक एक हजार रुपैयाँको जागिरबाट सुरु भएको उनको पेशागत यात्रा दुबईको एक कम्पनीमा ‘अकाउन्ट म्यानेजर’सम्म पुग्यो, जहाँ उनले मासिक डेढ लाख रुपैयाँसम्म आम्दानी गर्न थाले। तर आर्थिक उपलब्धिले मात्र उनको मन सन्तुष्ट हुन सकेन। स्वदेशमै केही गर्ने चाहनाले उनलाई नेपाल फर्कायो।
नेपाल फर्किएपछि केही समय अन्योलमा बिताए पनि उनले पत्रकारितासँग आफ्नो सम्बन्ध जोड्न पुगे। काठमाडौंबाट प्रकाशित हुने ‘नवरस साप्ताहिक’मा कला संवाददाताको रूपमा काम गर्दै उनले नेपाली लोकसंगीत क्षेत्रका कलाकारहरूसँग नजिकबाट काम गर्ने अवसर पाए। यही अनुभवले उनलाई नेपाली कला, संस्कृति र मनोरञ्जन क्षेत्रसँग थप जोड्यो।
जीवनलाई दिगो बनाउने र नेपाली लोकसंस्कृतिको संरक्षणमा योगदान गर्ने उद्देश्यका साथ उनले नयाँ बसपार्कस्थित दूरसञ्चार कार्यालय अगाडि ‘चाँदनी रोदी नाचघर प्रालि’ स्थापना गरे। यही नाचघर अहिले उनको पहिचान बनेको छ। हालै नाचघरले वरिष्ठ गायक कुमार बस्नेतको प्रमुख आतिथ्यमा पहिलो वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ।
नाचघरमार्फत उनले लोपोन्मुख नेपाली लोकसंस्कृति, विशेषगरी मारुनी र सोरठी नृत्य तथा लोकसांस्कृतिक कार्यक्रमहरू संरक्षण र प्रवर्द्धन गर्दै आएका छन्।
भीम श्रेष्ठका अनुसार व्यवसायले आर्थिक रूपमा आत्मनिर्भर बन्न सहयोग गरेको छ भने नेपाली संस्कृति जोगाउने अभियानमा पनि योगदान पुर्याएको छ। आफूले रोजेको पेशाले सम्मानजनक जीवनयापनका साथै समाज र संस्कृतिप्रति उत्तरदायी बन्ने अवसर दिएको उनको भनाइ छ।
राजनीतिक रूपमा भने उनी पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति अभियानका अभियन्ता Baburam Bhattarai लाई आफ्नो आदर्श मान्छन्। नयाँ शक्ति अभियानले भविष्यमा पुनः प्रभावशाली भूमिका खेल्ने विश्वास व्यक्त गर्ने उनी हाल नयाँ शक्ति पार्टीको गण्डकी गाउँपालिका संयोजक तथा प्रवास सम्पर्क संयन्त्र प्रदेश–४ संयोजकको जिम्मेवारीमा छन्।
‘असल राजनीति र समावेशी विकासका लागि जनसंवाद यात्रा’ अभियानप्रति प्रतिबद्ध रहेको बताउँदै अवसर मिल्नेबित्तिकै सक्रिय सहभागिता जनाउने उनको योजना छ।
संघर्ष, परिश्रम, वैदेशिक अनुभव, सामाजिक सेवा र उद्यमशीलताको समिश्रण बनेको भीम श्रेष्ठको जीवनयात्रा आजका युवापुस्ताका लागि प्रेरणाको स्रोत बनेको छ। अभावलाई अवसरमा बदल्दै स्वदेशमै सम्भावना खोज्न सकिन्छ भन्ने सन्देश उनले आफ्नो कर्ममार्फत दिएका छन्।
प्रतिक्रिया