गोरखा- लियो क्लब अफ गोरखाले सामाजिक सेवासँगै शिक्षा क्षेत्रमा पनि नयाँ कार्यक्रम सञ्चालन गरेको छ।
विगत ३० वर्षदेखि गोरखामा विभिन्न सामाजिक गतिविधिमा सक्रिय क्लबले यसपटक विद्यालयस्तरीय खुला हस्तलेखन प्रतियोगिता आयोजना गरेको हो।
क्लबले गोरखा नगरपालिका भित्र रहेका १६ माध्यमिक विद्यालयमा पुगेर हस्तलेखन प्रतियोगिता सञ्चालन गरिरहेको जनाएको छ। हालसम्म १४ विद्यालयमा प्रतियोगिता सम्पन्न भइसकेको छ। प्रतियोगितामा सहभागी विद्यार्थीहरूमध्ये प्रथम, द्वितीय र तृतीय हुनेलाई पुरस्कार प्रदान गरिएको छ भने प्रथम हुने विद्यार्थीलाई अन्तिम चरण (फाइनल) प्रतियोगिताका लागि छनोट गरिएको छ।
क्लबका अध्यक्ष यमबहादुर बस्यालका अनुसार बाँकी रहेका दुई विद्यालयमा पनि प्रतियोगिता सम्पन्न गरेपछि १६ वटै विद्यालयका विजेता विद्यार्थीहरूलाई समेटेर फाइनल प्रतियोगिता आयोजना गरिनेछ। फाइनलबाट उत्कृष्ट हस्तलेखन गर्ने एक विद्यार्थीलाई गोरखा नगरपालिकाभित्रका १६ माध्यमिक विद्यालयमध्ये उत्कृष्ट हस्तलेखनकर्ता घोषणा गरिनेछ। साथै दोस्रो, तेस्रो र सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीलाई पनि प्रमाणपत्र, शैक्षिक सामग्री तथा अन्य पुरस्कारसहित सम्मान गरिनेछ।
क्लबले आइतबार वडा नम्बर ३ स्थित विन्दवासिनी माध्यमिक विद्यालय र राष्ट्रिय माध्यमिक विद्यालय, घलागमा हस्तलेखन प्रतियोगिता तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको थियो। कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष रामबहादुर बोगटी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक-अभिभावक संघका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष बोगटीले क्लबले सञ्चालन गरेको कार्यक्रम सराहनीय रहेको बताउँदै विद्यालय र शिक्षकहरूले पनि यस्ता सिर्जनात्मक गतिविधिबाट सिक्नुपर्ने धारणा राखे।
त्यस्तै, विद्यालयका प्रधानाध्यापक रामबहादुर थापाले विद्यार्थीभित्र रहेको प्रतिभा उजागर गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रम प्रशंसनीय रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता गतिविधिको अपेक्षा रहेको बताए।
क्लबले हस्तलेखन प्रतियोगिता र शैक्षिक सामग्री वितरणसँगै लियो क्लबबारे जानकारी, प्रेरणामूलक कार्यक्रम तथा हाजिरीजवाफ प्रतियोगितासमेत सञ्चालन गरी अन्य विद्यार्थीलाई पनि पुरस्कृत गरेको जनाएको छ।
क्लबका सचिव बालकृष्ण परियारका अनुसार यो कार्यक्रम क्लबको वार्षिक कार्ययोजनाअन्तर्गतको एक गतिविधि मात्र हो। क्लबले स्वास्थ्य, खेलकुद, आर्थिक सहयोग तथा अन्य सामाजिक एवं सेवामूलक कार्यहरू पनि नियमित रूपमा सञ्चालन गर्दै आएको छ।
यसअघि लियो क्लब अफ गोरखाले गाईजात्रा पर्वको अवसरमा ‘रमाइलो गाईजात्रा साँझ’ कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्यक्रमबाट संकलित रकममार्फत विद्यालयमा अध्ययनरत अनाथ, असहाय तथा आर्थिक रूपमा विपन्न विद्यार्थीलाई सहयोग गर्दै आएको क्लबले जनाएको छ।
प्रतिक्रिया