तनहुँ– आँबुखैरेनी गाउँपालिकामा पछिल्लो तीन आर्थिक वर्षमा बेरुजु निरन्तर बढ्दै गएको पाइएको छ। महालेखा परीक्षकको ६०औँ, ६१औँ र ६२औँ वार्षिक प्रतिवेदनको अनुसार गाउँपालिकाको बेरुजु तीन वर्षमै झन्डै पाँच गुणाले बढेको देखिएको हो। चालु आर्थिक वर्षको लेखा परीक्षण गर्न बाँकी नै छ ।
२०७९ को स्थानीय तह निर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित शुक्र चुमान गाउँपालिका अध्यक्ष बनेका थिए। उनी नेतृत्वमा आएको पहिलो आर्थिक वर्ष २०७९/०८० मा गाउँपालिकाको बेरुजु ८५ लाख ४५ हजार रुपैयाँ रहेको थियो। यो उनको भन्दा पनि अघिल्लो गाउँपालिकाको नेतृत्वले गरेको खर्चको विवरण हो ।
आर्थिक वर्ष २०८०/०८१ मा यो रकम बढेर १ करोड ८४ लाख ६३ हजार ४६ रुपैयाँ पुगेको थियो। यो नै गाउँपालिका अध्यक्ष चुमानको पहिलो वर्षको महालेखा परीक्षण प्रतिवेदन हो ।
महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/०८२ मा गाउँपालिकामा ४ करोड २ लाख १८ हजार ८ सय १ रुपैयाँ बेरुजु देखिएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा पछिल्लो वर्ष बेरुजु २ करोड १७ लाख ५५ हजार ७ सय ५५ रुपैयाँले बढेको हो।
तीन वर्षको तथ्याङ्कलाई हेर्दा गाउँपालिकाको बेरुजु पाँच गुणाभन्दा बढीले वृद्धि भएको छ। महालेखाको प्रतिवेदनले गाउँपालिकाको आर्थिक अनुशासन, खर्च व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणालीमाथि केयाैं प्रश्न उठाएको छ।
महालेखा परीक्षकको प्रतिवेदनअनुसार पछिल्लो तीन आर्थिक वर्षमा प्रमाण कागजात पेश हुन बाँकी रहेको रकमसमेत बढ्दो क्रममा छ। आर्थिक वर्ष २०७९/०८० मा २४ लाख ७४ हजार रुपैयाँ, २०८०/०८१ मा ४७ लाख ४९ हजार रुपैयाँ र २०८१/०८२ मा ९६ लाख ४२ हजार रुपैयाँ बराबरको खर्चको प्रमाण कागजात पेश गर्न बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ।
तीन वर्षमा यस्तो रकम १ करोड ६८ लाख ६५ हजार रुपैयाँ पुगेको छ।
पछिल्लो प्रतिवेदनमा आँबुखैरेनी आधारभूत अस्पतालको राजस्व व्यवस्थापन, आन्तरिक नियन्त्रण प्रणाली, खर्चको अभिलेखीकरण तथा बेरुजु फर्स्योट प्रक्रियालाई थप प्रभावकारी बनाउन सुझाव दिइएको छ।
स्थानीय तहका वित्तीय व्यवस्थापनसम्बन्धी जानकारहरूका अनुसार सार्वजनिक निकायले खर्चसँग सम्बन्धित बिल, भरपाई, निर्णय, कार्यसम्पन्न प्रतिवेदन र अन्य कागजात व्यवस्थित राख्नुपर्ने कानुनी दायित्व हुन्छ। यस्ता कागजात समयमै पेश हुन नसक्दा बेरुजु बढ्ने र वित्तीय सुशासनमा प्रश्न उठ्ने गर्छ।
यसबारे गाउँपालिका अध्यक्ष चुमान प्रतिक्रिया दिन चाहेनन् ।
प्रतिक्रिया