काठमाडौं– चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (असोज मसान्तसम्म)को वित्तीय विवरण प्रकाशनको तयारीमा बैंक तथा वित्तीय संस्थाहरू व्यस्त छन् । तर यसपटकको रिपोर्टमा असुली कमजोर देखिँदै गएको छ, जसका कारण बैंकिङ क्षेत्र दबाबमा परेको छ ।
राष्ट्र बैंकले तिहारको कारण देखाउँदै असुलीका लागि समय कात्तिक १५ गतेसम्म बढाएको छ । त्यसअघि त्रैमास सकिएको सात दिनभित्रै विवरण प्रकाशन गर्नुपर्ने व्यवस्था थियो । अब भने बैंकले असोज मसान्तसम्म उठ्नुपर्ने रकम कात्तिक १५ भित्र असुली गरेमा पहिलो त्रैमासिक आम्दानीमा गणना गर्न पाउनेछन् ।
ग्लोबल आइएमई बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलका अनुसार अहिले पनि असुलीको प्रयास जारी छ । उनले भने, ‘असोजमा धेरै चाडबाड परे, अर्थतन्त्र कमजोर छ, त्यसैले असुलीमा दबाब बढेको छ । तर बैंकहरूले अन्तिम समयसम्म प्रयास गरिरहेका छन् ।’
तर बैंकरहरूका अनुसार असुली अघिल्ला वर्षको तुलनामा आधा पनि भएको छैन । छठको बिदा सकिएर कार्यालय खुलेसँगै केही सुधारको आशा गरिएको छ, तर ठुलो सुधारको सम्भावना देखिएको छैन ।
हाल बैंक तथा वित्तीय संस्थाहरू चौतर्फी समस्यामा छन् । विगतका वर्षदेखि चल्दै आएको अधिक तरलता, ऋण नतिर्ने अभियान, पछिल्लो समयको आन्दोलन र प्राकृतिक विपत्तिहरूले बैंकहरूको असुली क्षमतालाई कमजोर बनाएका छन् ।
बजारमा ऋणको माग अत्यन्तै घटेको छ, तर रेमिट्यान्स बढ्दै जाँदा बैंकमा निक्षेप थपिँदै गएको छ । बैंकहरूले चाहेर पनि निक्षेप घटाउन सकिरहेका छैनन्, जसका कारण न्यूनतम ब्याज तिर्नुपर्ने दबाब थपिएको छ ।
एक बैंकरका शब्दमा, ‘हामीलाई अहिले निक्षेप आवश्यक छैन, तर ग्राहकले राख्छु भने पछि अस्वीकार गर्न सकिँदैन । त्यसैले त्यसमा ब्याज तिर्नुपर्छ, तर त्यो पैसा लगानीमा जान सकिरहेको छैन ।’
यसबाहेक, ऋण नतिर्ने समूहहरू फेरि सक्रिय भएका छन् । ‘बैंकको ऋण मिनाहा हुन्छ’ भन्ने भ्रम फैलाउँदै हिँड्ने समूहका कारण साना ऋणीहरू पनि किस्ता तिर्न उदासीन बनेका छन् । राष्ट्र बैंकको तथ्यांकअनुसार गत असार मसान्तसम्म निष्क्रिय कर्जा दर ४.६२ प्रतिशत पुगेको छ, जुन ५५ खर्ब ९४ अर्ब रुपैयाँ लगानीमध्ये २ खर्ब ५८ अर्ब बराबर हो ।
साउन र भदौमा देशले भोगेका प्राकृतिक प्रकोप र आन्दोलनहरूले पनि व्यावसायिक गतिविधि ठप्प बनाएका थिए । खासगरी भदौको जेनजी आन्दोलनले ठुला व्यावसायिक घरानालाई असर पुर्यायो, जसले असुलीलाई थप चुनौती बनाएको छ । बैंकरहरूका अनुसार ऋणीहरूको प्राथमिकता पनि बदलिएको छ । अहिले धेरै ऋणीहरू तत्कालका खर्चमा ध्यान दिँदै किस्ता वा ब्याज भुक्तानीलाई पछाडि सारेका छन् ।
गत असार मसान्तसम्म बैंकहरूले उठाउन बाँकी ब्याज ५६ अर्ब ८ करोड रुपैयाँ थियो । चैतमा यो रकम ५६ अर्ब ३ करोड थियो, जसले केही सुधारको संकेत दिएको थियो । तर चालू आर्थिक वर्षको भदौसम्म आइपुग्दा बक्यौता बढेर ६४ अर्ब ६ करोड पुगेको छ, दुई महिनामै झन्डै ६ अर्बले वृद्धि ।
अहिले बैंकहरूले ७३ अर्ब ३१ करोड निक्षेप संकलन गरी ५६ अर्ब ३० करोड कर्जा प्रवाह गरेका छन् । कर्जा–निक्षेप अनुपात ७६.७९ प्रतिशतमा पुगेको छ । सिद्धान्ततः बैंकहरू अझै ९ खर्ब ६८ अर्ब ऋण प्रवाह गर्न सक्ने अवस्थामा छन्, तर असुली कमजोर हुँदा जोखिम बढेको छ ।
बैंकरहरूको मूल्याङ्कनमा, पहिलो त्रैमासको वित्तीय विवरण यसपटक ‘अपेक्षा अनुसारको नआउने’ सम्भावना उच्च छ ।
प्रतिक्रिया