काठमाडौं– संस्कृति, पर्यटन तथा नगरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थललाई राष्ट्रिय गौरवका संरचनाको रुपमा राख्नुपर्ने बताएका छन् ।
बिहीबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा मन्त्री पाण्डेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थल निर्माण सम्पन्न भैसकेकोले यी दुई आयोजना अब राष्ट्रिय गौरवका संरचनामा राख्नुपर्ने बताएका हुन् ।
मन्त्री पाण्डेले यी आयोजनालाई राष्ट्रिय गौरवका संरचनामा राख्दै फाइदा लिन सक्नुपर्नेमा जोड दिए । उनले पशुपति र लुम्बिनीको गुरु योजना अनुसार काम अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको धारणा राखे ।
पशुपति गुरुयोजनालाई कार्यान्वयन गर्न भारतबाट सहयोग प्राप्तभएको उनको भनाइ छ ।
मन्त्री पाण्डेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई राष्ट्रिय गौरव आयोजनाको रुपमा राखेको भएपनि यो निर्माणमा नै अन्योल रहेको बताए ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल देशको लागि अपरिहार्य रहेकाले यसको निर्माण र संचालन मोडालिटी बनाएर आगाडी बढ्ने मन्त्रीले पाण्डेले जानकारी दिए ।
उनले भैरहवा र पोखरा विमानस्थल नचल्नुमा रुटको समस्यामात्र नभएको र सरकारका कतिपय निकायले नै सरकारले तयार पारेको कार्ययोजना लागू नगर्दा समस्या आएको तर्क गरे ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवको आयोजनाहरुको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानको लागि भएका प्रयासका बारेमा समितिले छलफल गरेको हो ।
प्रतिक्रिया