काठमाडौं- पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक स्तरोन्नतिका क्रममा घोप्टे भिरको भित्तो काट्ने काम सम्पन्न भएको छ। छ दिन रातको समयमा सडक आवागमन बन्द गरेर भित्तो काट्ने काम गरिएको हो।
नागढुंगा-मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्ड मुग्लिन-मलेखु सडकका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार घोप्टे भिरको २५० मिटर लामो सडकको छेउको भित्तो काटिएको हो। यहाँ करिब ५० मिटर माथिबाट भित्तो काटेर सडक थप चार मिटर फराकिलो बनाइएको छ। भित्तो काटिएसँगै अब सडक १२ मिटर फराकिलो भएको छ।
यही चैत १७ देखि २२ गतेसम्म राति १० बजेदेखि बिहान ४ बजेसम्म सडक आवागमन रोकेर काम गरिएको थियो। त्यस क्रममा तीन वटा एक्स्काभेटर, दुई वटा लोडर, १० वटा टिप्पर र सोही अनुपातमा जनशक्ति परिचालन गरिएको सूचना अधिकारी मिश्रले बताए।
यस्तै, मनकामना केबुलकारबाट रमाइलो डाँडा जाने सडकको बीच भागमा पर्ने अर्को एक भित्तो काट्ने काम आधा सकिएको र यहाँ ७० मिटर सडक छेउको भित्तो काटेर विस्तार गर्ने योजना रहेको उनले जानकारी दिए। एकैपटक लामो समय सडक रोक्न गाह्रो हुने भएकाले थप भित्तो काट्ने काम सकिएपछि यहाँ पनि काम गरिने मिश्रको भनाइ छ। समग्रमा यहाँ सडक विस्तारको काम ४१ प्रतिशत सम्पन्न भएको छ।
हाल कालोपत्रे गर्ने, कालोपत्रेको तयारी, नाला बनाउने, पर्खाल लगाउने जस्ता काम भइरहेका उनले बताए।
०७९ पुस १५ गते तीन वर्षमा सम्पन्न गर्ने गरी यो सडकको ठेक्का सम्झौता भएको थियो। समयमा काम नसकिएपछि छ महिना म्याद थप गरिएको छ। पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नागढुंगा खण्डलाई तीन चरणमा बोलपत्र आह्वान गरिएको हो। हाल काम भइरहेको क्षेत्र तेस्रो चरणअन्तर्गत पर्दछ। उक्त खण्डमा ३८.८६ किलोमिटर सडक पर्दछ। यस खण्डमा पर्ने मलेखु, बेनीघाट र मुग्लिनमध्ये दुई दशमलव दुई किमी छ लेन सडक बन्नेछ।
७.२ किमी सडक चार लेनको हुनेछ। चार लेन रमाइलो डाँडा, कुरिनटार, फिस्लिङ, चुम्लिङ, मझिमटार, चरौँदी र विशालटार क्षेत्रमा पर्दछ। दरैले उकालो–ओरालो खण्डमा तीन लेनको ‘क्लाइम्बिङ’ मार्ग बनाइने छ। ‘क्लाइम्बिङ’ मार्ग २.३ किमीको हुनेछ भने बाँकी सडक दुई लेनको हुनेछ।
शर्मा–जेडआइसिजीले ४ अर्ब ८० करोड ५९ लाख रुपैयाँमा यस खण्डमा स्तरोन्नतिको काम गरिरहेको छ। सडकका विभिन्न क्षेत्रमा कालोपत्रेसँगै नाला बनाउने, पहिरो रोकथामका लागि संरचना निर्माण, भित्तो काट्ने, पर्खाल लगाउने, सडक सुरक्षालगायत काम बाँकी छ।
विश्व बैंकको सहयोगमा बनाउन लागिएको यो सडक काठमाडौं प्रवेश गर्ने र बाहिरिने मुख्य नाकाका रूपमा रहेको छ।
-रासस
प्रतिक्रिया