काठमाडौं– रेमिट्यान्स आप्रवाहमा उल्लेख्य वृद्धि भएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२÷८३ माघमसान्तसम्मको तथ्यांकमा रेमिट्यान्स आप्रवाहमा उल्लेख्य वृद्धि भएको हाे।
चालू आर्थिक वर्ष २०८२/८३ को सात महिनामा रेमिट्यान्स आप्रवाह ३९.८ प्रतिशतले वृद्धि भई १२ खर्ब ६१ अर्ब १ करोड भित्रिएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ७.५ प्रतिशतले बढेको थियो । माघ महिनामा मात्रै रेमिट्यान्स आप्रवाह एक खर्ब ९८ अर्ब ८ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह एक खर्ब ३७ अर्ब ५० करोड रहेको थियो ।
यस अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३३.० प्रतिशतले वृद्धि भई ८ अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.५ प्रतिशतले बढेको थियो ।
चालू आवको सात माघसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको सङ्ख्या २ लाख ४५ हजार १५३ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख २७ हजार ४२४ रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः २ लाख ७४ हजार ६२२ र एक लाख ९० हजार ८८६ रहेको थियो ।
प्रतिक्रिया