+
Search

ताजा अपडेट +

पपुलर +

नेकपाको चुनावी घोषणापत्रः ५ प्रतिशत ब्याजमा १ करोडसम्म सहुलियतपूर्ण ऋण

पालिका लाइभ
२०८२ माघ २७, मंगलवार

काठमाडाैं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) आगामी २०८२ फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आज मंगलबार आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।

पार्टीले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा ‘उद्यमशीलता विकास’लाई उच्च प्राथमिकतामा राखेको छ, जसअनुसार दलित, अल्पसंख्यक र शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई १ करोड रुपैयाँसम्म सहुलियतपूर्ण ऋण दिने घोषणा गरिएको छ ।

नेकपाको प्रतिबद्धतामा स्पष्ट रूपमा उल्लेख गरिएअनुसार उत्पादन तथा रोजगारीमूलक उद्यम गर्न चाहने दलित, अल्पसंख्यक र शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई १० वर्षका लागि १ करोड रुपैयाँसम्म ऋण उपलब्ध गराइनेछ । यो ऋणमा लाग्ने ब्याजदर जम्मा ५ प्रतिशत मात्र हुने भनिएको छ।

पार्टीले उद्यमशीलता विकासका लागि अन्य थुप्रै महत्त्वपूर्ण योजनाहरू पनि अघि सारेको छ । ‘शिल्पी उद्यमशीलता’ अन्तर्गत दलित समुदायका परम्परागत सीपहरू, जस्तैः लोहारकला, छाला उद्योग, निर्माण तथा हस्तकलालाई आधुनिक व्यावसायिक रूपमा रूपान्तरण गर्न विशेष अनुदान, तालिम, प्राविधिक सहयोग र बजार पहुँच कार्यक्रम सञ्चालन गरिनेछ ।

त्यसैगरी, आदिवासी जनजाति उद्यमशीलतालाई प्रवर्द्धन गर्न आदिवासी समुदायका परम्परागत सीपहरू र उत्पादनहरू, जस्तैः हस्तकला, चित्रकला, काष्ठकला, जडीबुटी प्रशोधन, सांस्कृतिक पर्यटन तथा स्थानीय रक्सी उत्पादनलाई व्यावसायिक बनाउन गुणस्तर नियन्त्रण, ब्रान्डिङ र निर्यात प्रवर्द्धन गरिने घोषणापत्रमा उल्लेख छ ।

महिला नेतृत्वको उद्यमशीलताु लाई प्रोत्साहन दिन महिलाहरूलाई घरेलु उद्योग, कृषि प्रशोधन, हस्तकला, आईटी तथा पर्यटन क्षेत्रमा सहुलियतपूर्ण कर्जा, तालिम, बजार सहयोग तथा मेन्टरिङ कार्यक्रमहरू सञ्चालन गरिने पनि उल्लेख छ । महिला उद्यमीहरूका लागि महिला उद्यम विकास कोषु पनि स्थापना गरिने घोषणा गरिएको छ ।

युवा नवप्रवर्तन र डिजिटल अर्थतन्त्रको विकासका लागि स्टार्टअप तथा आईटी उद्यमलाई पनि पार्टीले विशेष प्राथमिकता दिएको छ । स्टार्टअप कार्यक्रमको पुनरवलोकन गरी निःशुल्क दर्ता, सुरुका ५ वर्षसम्म शुल्क छुट तथा त्यसपछि प्रगतिशील सुविधा दिने, विशेष इन्क्युबेसन केन्द्र स्थापना गर्ने र आईटी पार्कहरूमार्फत डिजिटल उद्यमशीलता प्रवर्द्धन गरिने उल्लेख छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ