रुपन्देही- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुक परिवर्तनका लागि युवाशक्तिको नेतृत्व अपरिहार्य रहेको बताएका छन् । उनले रुपन्देही निर्वाचन क्षेत्र नं १ अन्तर्गत खैरेनीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अहिलेको चुनावलाई सामान्य राजनीतिक प्रक्रिया नभई इतिहास लेख्ने अवसरका रूपमा चित्रण गरे ।
सभालाई सम्बोधन गर्दै लामिछानेले भने, ‘यो सभा होइन, जमघट हो । मुलुकले इतिहास लेख्ने अवसर पाएको छ, यस्तो अवसर विरलै पाइन्छ । अब्बल युवा नेतृत्वले मात्रै देशको विकास गर्न सक्छ ।’ उनले विगतका निर्वाचन परिणामतर्फ संकेत गर्दै धेरै उम्मेदवारले जिते पनि देशले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको टिप्पणी गरे। ‘धेरैपटक धेरै उम्मेदवारले जिते, तर देशले जितेन । हामी देशलाई जिताउन हिँडेका हौँ,’ उनले भने ।
लामिछानेले जनताको शक्तिलाई कसैले पनि नजरअन्दाज गर्न नहुने बताए । उनले विगतमा सत्तामा पुगेका नेताहरू जनताको अपेक्षाभन्दा आफ्नै इतिहास र शक्ति केन्द्रित राजनीतिमा अल्झिएको आरोप लगाए । ‘जनताको ताकतलाई नजरअन्दाज गर्नु हुँदैन । अहिलेसम्म जनतालाई नजरअन्दाज गर्नेहरू आफ्नै इतिहासमा केन्द्रित भए, र हुनेछन् अब जनताले उनीहरुलाई पत्याउने छैनन्,’ उनले भने ।
रास्वपाभित्रको एकता र आन्तरिक समझदारीबारे उल्लेख गर्दै उनले पद र भागबण्डाको राजनीतिभन्दा माथि उठेर नयाँ पुस्ता एक ठाउँमा उभिएको दाबी गरे। ‘हामी नयाँ साथीहरू एकठाउँमा उभिएर आएका हौं, पदमा कुनै भागबण्डा नगरी आएका हौँ,’ लामिछानेले स्पष्ट पारे ।
स्थिर सरकार निर्माणको एजेन्डा अघि सार्दै उनले आगामी पाँच वर्ष देशलाई राजनीतिक अस्थिरताबाट मुक्त गरिने प्रतिबद्धता जनाए । ‘५ वर्षको स्थायी सरकार बनाउने हो, एकै प्रधानमन्त्री रहने हो, त्यसका लागि स्थायी सरकार आवश्यक छ,’ उनले भने।
उनले विगतमा निर्वाचित जनप्रतिनिधिहरू जनताको मन र काममा कत्तिको पुगे भन्ने कुरा अहिले स्पष्ट भएको पनि उल्लेख गरे । त्यसै सन्दर्भमा उनले नयाँ पुस्ताका उम्मेदवारप्रति विश्वास गर्न मतदातालाई आग्रह गरे । ‘अब युवा साथीहरू पहिलो पटक उम्मेदवार बन्दै हुनुहुन्छ, तपाईंको मत खेर जाने छैन,’ उनले मतदातालाई आश्वस्त पारे ।
उनले रुपन्देही क्षेत्र नं १ बाट पार्टीका महामन्त्री सुनील लम्साललाई उम्मेदवार बनाइएको जानकारी दिँदै उनलाई विजयी गराउन आह्वान गरे । ‘यहाँबाट महामन्त्री सुनील लम्साललाई उम्मेदवार बनाएका छौँ, उहाँको क्षमता कस्तो छ भन्ने कुरा स्थानीयले बुझेको विषय हो मैले भन्नुपर्दैन, हामीले उम्मेदार बनाएका अधिकांश युवा समूहबाटै हुनुहुन्छ त त्यही क्षेत्रको प्रतिनिधित्व गर्नुभएको छ,’ उनले भने ।
उनले चुनावी अभियानलाई जनअभियानका रूपमा अघि बढाउन कार्यकर्तालाई निर्देशन दिए । ‘यो चुनावी सभा मात्रै होइन, अर्को चुनावी सभालाई लिएर आउने जमघट हो, हामी आउन नसके पनि तपाईंहरू नै चुनावी प्रचारमा लाग्नुहोला,’ उनले आग्रह गरे ।
युवामुखी राजनीतिक नेतृत्व, स्थायी सरकार र जनमतको सम्मानजस्ता एजेन्डा अघि सार्दै उनले आगामी निर्वाचनलाई परिवर्तनको निर्णायक मोडका रूपमा प्रस्तुत गरेका छन् ।
प्रतिक्रिया