+
Search

ताजा अपडेट +

पपुलर +

डेटलाइन फागुन २१:

चर्चामा मोरङ–६ : बदलिँदो राजनीतिक समीकरणबीच शेखर कोइरालाको परीक्षा

पालिका लाइभ
२०८२ माघ २६, सोमबार

काठमाडाैं- कोशी प्रदेशको राजनीतिक रूपमा महत्त्वपूर्ण मानिने मोरङ–६ प्रतिनिधि सभा निर्वाचन क्षेत्र यस पटकको निर्वाचनमा पुनः राष्ट्रिय स्तरमै चासोको केन्द्र बनेको छ।

नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला लगातार यही क्षेत्रबाट उम्मेदवार बन्दै आएका कारण मात्रै होइन, पछिल्लो समय देशभर बदलिँदो राजनीतिक प्रवृत्ति, नयाँ दलहरूको उदय र पुराना गठबन्धन टुटेका कारण पनि यो क्षेत्रको चुनावी प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ।

मोरङ निर्वाचन क्षेत्र नम्बर ६ अन्तर्गत बुढीगंगा गाउँपालिका, सुन्दरहरैचा नगरपालिकाका वडा नम्बर २ देखि ७ सम्म तथा विराटनगर महानगरपालिकाका वडा नम्बर ४, ५, ६, ७, ९, ११ र १२ समेटिएका छन्। भौगोलिक तथा जनसंख्या संरचनाको हिसाबले पनि यो क्षेत्र विविध सामाजिक र राजनीतिक धारणा मिसिएको क्षेत्रका रूपमा चिनिन्छ।

निर्वाचन आयोगका अनुसार यस क्षेत्रमा मतदान गर्न सक्ने मतदाता संख्या १ लाख ३७ हजार ८३२ रहेको छ। आगामी निर्वाचनका लागि यहाँ १४९ मतदान केन्द्र निर्धारण गरिएको छ। मतदाताको यो आकारले नै यो क्षेत्रको चुनावी नतिजालाई प्रदेश र केन्द्र दुवै स्तरमा अर्थपूर्ण बनाउने विश्लेषण गरिएको छ।

२०७९ सालको आम निर्वाचनमा यस क्षेत्रबाट नेपाली कांग्रेसका कोइराला निर्वाचित भएका थिए। उनले ३५ हजार २२४ मत प्राप्त गर्दै स्पष्ट जित निकालेका थिए। त्यतिबेला एमालेका उम्मेदवार लालबाबु पण्डितले २२ हजार ९४६ मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेका थिए। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधानले ९ हजार १४० मत प्राप्त गरेका थिए भने राप्रपाका गोपाल क्षेत्रीले ८ हजार ९२५ मत प्राप्त गरेका थिए।

समानुपातिक निर्वाचनतर्फ पनि यस क्षेत्रमा कांग्रेस पहिलो शक्ति बनेको थियो। कांग्रेसले २३ हजार ७१० मत प्राप्त गर्दा एमालेले १९ हजार ३८९ मत ल्याएको थियो। रास्वपाले ११ हजार ५२६ मत प्राप्त गरेको थियो भने राप्रपाले १० हजार ६४१ मत प्राप्त गरेको थियो। तत्कालीन माओवादी केन्द्रले पनि ८ हजार १८५ मत प्राप्त गर्दै उल्लेखनीय उपस्थिति देखाएको थियो।

आगामी निर्वाचनका लागि यस क्षेत्रबाट राजनीतिक दल तथा स्वतन्त्र गरी १७ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। कांग्रेसले पुनः कोइरालालाई उम्मेदवार बनाएको छ। एमालेले विनोद ढकाललाई उम्मेदवार बनाएको छ भने नेकपाबाट ओपेन्द्रकुमार राय उम्मेदवार बनेका छन्। रास्वपाले रुबिना आचार्यलाई उम्मेदवार बनाएको छ भने राप्रपाबाट सबिन निरौला चुनावी मैदानमा छन्।

यस पटकको निर्वाचनमा सबै दल एक्लाएक्लै प्रतिस्पर्धामा उत्रिएका कारण चुनावी समीकरण अघिल्लो निर्वाचनभन्दा फरक बन्ने देखिएको छ। २०७९ सालमा माओवादी केन्द्रसँगको गठबन्धनका कारण कांग्रेसलाई सहज वातावरण बनेको थियाे । तर अहिले गठबन्धनको संरचना परिवर्तन भएकाले डा. कोइरालाले यस पटक थप चुनौती सामना गर्नुपर्ने देखिएको छ। यद्यपि उनी अझै पनि बलिया उम्मेदवारका रूपमा हेरिएका छन्।

पार्टीभित्रको आन्तरिक राजनीतिले पनि चुनावी प्रभाव पार्न सक्ने देखिएको छ। कांग्रेसको विशेष महाधिवेशनका क्रममा उनले अपनाएको तटस्थ भूमिकाका कारण पार्टीभित्र र बाहिर आलोचना भएको थियो। देशभर देखिएको परिवर्तनको राजनीतिक नाराले पनि केही मतदातालाई प्रभावित पार्न सक्ने विश्लेषण गरिन्छ।

उता एमालेले विनोद ढकाललाई उम्मेदवार बनाएको छ, जसलाई पार्टी अध्यक्ष केपी ओलीका आलोचकका रूपमा पनि चिनिन्छ। यस्तो अवस्थामा एमालेभित्रको आन्तरिक एकता र ओली समर्थक समूहको भूमिकाले पनि चुनावी नतिजामा प्रभाव पार्न सक्ने देखिएको छ।

रास्वपाको देशव्यापी प्रभाव र नयाँ मतदातामाझ बढ्दो आकर्षणले मोरङ–६ मा पनि केही प्रभाव पार्ने अपेक्षा गरिएको छ। यद्यपि हालसम्मको चुनावी वातावरणले रास्वपालाई प्रत्यक्ष रूपमा जित सुनिश्चित हुने अवस्था भने देखाएको छैन। राप्रपाको पनि यस क्षेत्रमा स्थिर मत आधार रहेको मानिन्छ, जसले प्रतिस्पर्धालाई बहुदलीय बनाएको छ।

मोरङ–६ मा यस पटक कांग्रेस, एमाले र रास्वपाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। बदलिँदो राजनीतिक समीकरण, पार्टीभित्रका आन्तरिक अवस्था र नयाँ मतदाताको झुकावले यस क्षेत्रको अन्तिम नतिजा निर्धारण गर्ने देखिएको छ। यी सबै चुनौतीका बीच पनि कोइराला चुनावी दौडमा अग्रस्थानमा रहेको आकलन गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ