काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२६ को क्रिकेट क्यालेन्डर सार्वजनिक गरेको छ।
शनिवार बिहान सार्वजनिक क्यालेन्डरमा क्यानले जनवरीदेखि डिसेम्बरसम्मका खेल तालिकाबारे जानकारी दिएको छ।
सन् २०२६ को फेब्रुअरीमा भारतमा आयोजना हुने आईसीसी पुरुष टी–२० विश्वकप नेपाली टोलीका लागि वर्षको सबैभन्दा ठुलो प्रतियोगिता हुनेछ। यसबाहेक, आईसीसी क्रिकेट विश्वकप लिग–२अन्तर्गत नेपालले मार्च, मे, जुलाई र अक्टोबरमा विभिन्न शृङ्खलाहरू खेल्नेछ।
मार्च र मे महिनामा नेपालले घरेलु मैदानमै ओमान, युएई, अमेरिका र स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। यस्तै अक्टोबर र नोभेम्बर महिनामा बहुप्रतीक्षित नेपाल प्रिमियर लिग आयोजना हुने तालिकामा उल्लेख छ।

जनवरीमा नेपालले आईसीसी महिला टी-२० विश्वकप छनोटको आयोजना गर्नेछ। जुन महिनामा संयुक्त अधिराज्यमा हुने आईसीसी महिला टी-२० विश्वकप र जुलाईमा हुने ‘महिला एसिया कप’ महिला टोलीका लागि मुख्य वैदेशिक भ्रमण हुनेछन्। साथै, अप्रिलमा कुवेतसँगको द्विपक्षीय सिरिज र अक्टोबरमा अन्तर्राष्ट्रिय त्रिकोणात्मक सिरिजको पनि प्रस्ताव गरिएको छ।
युवा क्रिकेटतर्फ यु-१९ महिला टोलीले मार्चमा भुटान र जुनमा मलेसियाको भ्रमण गर्नेछ। अगस्ट महिनामा एसीसी पुरुष यु-१९ प्रिमियर कप र यु-१६ इस्ट जोन कप जस्ता प्रतियोगिताहरू हुनेछन्। साथै, नेपाल ‘ए’ टोलीका लागि पनि अप्रिल र मे महिनामा विभिन्न शृङ्खलाहरू प्रस्ताव गरिएका छन्।

वर्षको अन्त्यमा अर्थात् डिसेम्बरमा पुरुष तथा महिला दुवै टोलीले अन्तर्राष्ट्रिय शृङ्खलाहरू खेल्ने गरी कार्यतालिका निर्माण गरिएको छ। धेरैजसो प्रतियोगिताहरू घरेलु मैदानमै हुने भएकाले नेपाली क्रिकेट समर्थकहरूका लागि सन् २०२६ उत्साहजनक हुने देखिएको छ ।
प्रतिक्रिया