काठमाडौं– वाणिज्य बैंकहरूको नाफा लगातार घट्ने क्रम यस वर्ष पनि रोकिएको छैन। गत भदौमा भएको जेनजी आन्दोलनपछिको आर्थिक प्रभाव अहिले बैंक तथा वित्तीय संस्थाहरूको ‘ब्यालेन्ससिट’मा स्पष्ट रूपमा देखिन थालेको छ।
कर्जा असुली कमजोर हुनु र कर्जा विस्तार नबढ्नुले बैंकहरूको आम्दानी घटेको बैंकिङ क्षेत्रका विश्लेषकहरूको भनाइ छ।
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनासम्म वाणिज्य बैंकहरूको नाफा १३.११ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ। गत वर्षको कार्तिक मसान्तसम्म २२ अर्ब २९ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएका बैंकहरूले यो वर्ष सोही अवधिमा १९ अर्ब ३७ करोड ५४ लाख रुपैयाँ मात्र आर्जन गरेका छन्।
नाफा घट्नुको प्रमुख कारण खराब कर्जा (एनपीए) वृद्धि हो।
कर्जा असुली सुस्त हुँदा बैंकहरूले जोखिम व्यवस्थापनका लागि ठुलो मात्रामा प्रोभिजन राख्नुपरेको छ, जसले नाफामा प्रत्यक्ष धक्का पुगेको हो। धेरै बैंकको खराब कर्जा पाँच प्रतिशतभन्दा माथि पुगेको देखिन्छ। अतिरिक्त प्रोभिजनको बाध्यताले लागत बढेको र कर्जा तिर्ने दर कमजोर रहँदा बैंकहरू थप दबाबमै परेको विश्लेषण सम्बन्धित क्षेत्रमा गरिन्छ।
अर्कोतर्फ, आर्थिक गतिविधि सुस्त हुँदा कर्जाको माग घटेको छ। बैंकहरूमा तरलता प्रशस्त भए पनि लगानीयोग्य क्षेत्र नबढेपछि ब्याज आम्दानी खुम्चिएको छ। हाल बैंकहरूका लागि ११ खर्बभन्दा बढी रकम लगानीयोग्य अवस्थामा छ, तर त्यसको ठुलो हिस्सा करिब ८ खर्ब ७५ अर्ब राष्ट्र बैंकका विभिन्न उपकरणमा नै लगानी गर्नुपरेको छ। यसले बैंकहरूको ब्याज आम्दानी घटाउँदै लगेको हो।
निक्षेप तथा कर्जाको ब्याजदर विगत अढाई वर्षदेखि लगातार घट्दै आएको छ। ब्याजदर घटेपछि ब्याज अन्तर (स्प्रेड दर) पनि खुम्चिएको छ, जसले बैंकहरूको नाफामा थप संकुचन ल्याएको छ।
देशभर सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १५ बैंकको नाफा यस अवधिमा घटेको छ भने पाँच बैंकले मात्र वृद्धि देखाएका छन्। सबैभन्दा धेरै नाफा घट्नेमा सिटिजन्स बैंक इन्टरनेशनल पहिलोमा पर्न आएको छ। गत वर्ष ४३ करोड ८६ लाख रुपैयाँ कमाएको बैंकको नाफा यो वर्ष १६ लाख रुपैयाँमा झरेको छ।
नेपाल इन्भेस्टमेन्ट मेगा, लक्ष्मी सनराइज, प्रभु, नेपाल एसबीआई, कुमारी, स्ट्यान्डर्ड चार्टर्डलगायतका बैंकको नाफा पनि उल्लेख्य रूपमा घटेको छ। यद्यपि, केही बैंकले भने सुधार देखाएका छन्।
कृषि विकास बैंकले गत वर्षको घाटामुक्त हुँदै यो वर्ष ७४ लाख रुपैयाँ नाफा कमाएको छ। राष्ट्रिय वाणिज्य बैंकको नाफा १०५.२३ प्रतिशतले बढेको छ, जबकि सानिमा, ग्लोबल आईएमई र एभरेस्ट बैंकको नाफामा पनि वृद्धि दर्ता भएको छ।
उद्योगमा ‘अर्ब क्लब’का रूपमा चिनिने एक अर्बभन्दा बढी नाफा हुने बैंकको संख्या यस अवधिमा सात पुगेका छन्।
ग्लोबल आईएमई बैंक २ अर्ब ५१ करोड ३७ लाख रुपैयाँ नाफासहित शीर्षस्थानमा छ। त्यसपछि नबिल, प्राइम कमर्शियल, एभरेस्ट, एनएमबी, कुमारी र राष्ट्रिय वाणिज्य बैंक क्रमशः अर्बभन्दा माथिको नाफा आर्जन गर्ने सूचीमा रहेका छन्।
प्रतिक्रिया