+
Search

ताजा अपडेट +

पपुलर +

पालुङटारमा हाटबजार सुरु: स्थानीय उत्पादनमा जोड, उद्घाटनमै ६ लाख रुपैयाँको कारोबार

पालिका लाइभ
२०८२ आश्विन ११, शनिबार

गोरखा– पालुङटार नगरपालिकाले स्थानीय उत्पादनलाई प्रत्यक्ष बजारमा ल्याउने उद्देश्यका साथ हाटबजार सञ्चालनमा ल्याएको छ।

नगरपालिकाको कृषि शाखाको समन्वयमा प्रत्येक बिहीबार सञ्चालन हुने गरी सुरु गरिएको यस हाटबजारको उद्घाटन वडा नं ४ को बाह्रपिर्केमा नगर प्रमुख विवश चिन्तनले गरे।

5549948468 Palungtar hatbazar

नगर प्रमुख चिन्तनले उद्घाटन समारोहमा भने, ‘पालुङटार हाटबजार व्यापारको स्थल होइन, यो हाम्रो स्थानीय अर्थतन्त्रलाई सबल बनाउने माध्यम हो। यहाँ कृषकले आफ्ना उत्पादन उचित मूल्यमा बिक्री गर्न पाउनेछन् भने उपभोक्ताले ताजा र गुणस्तरीय वस्तु प्राप्त गर्नेछन्। यसले नगरको आत्मनिर्भर अर्थतन्त्र निर्माणतर्फ महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएको छु। नगरपालिकाले आगामी दिनमा यो बजारलाई अझ व्यवस्थित, आकर्षक र दिगो बनाउन निरन्तर सहयोग गर्नेछ।’

5549949868 Palungtar hatbazar

नगर उपप्रमुख वन्दना पाण्डेले हाटबजारले कृषक, महिला समूह, युवायुवती र उद्यमशील नागरिकलाई आफ्नो श्रम र सीप प्रत्यक्ष बजारसँग जोड्ने अवसर दिएको उल्लेख गरिन् ।

‘हाम्रो नगरको विकासको आधार नै स्थानीय उत्पादन र स्थानीय उद्यम हुन्। यसबाट विशेषगरी महिला तथा साना कृषकलाई सशक्तीकरण हुने र आत्मनिर्भर जीवनशैलीतर्फ अग्रसर हुने विश्वास लिएको छु,’ उनले भनिन् ‘नगरपालिकाले यस बजारलाई समावेशी, पारदर्शी र नियमित बनाउन आवश्यक सहयोग र अनुगमन गर्नेछ।’

देशभर आर्थिक मन्दीको प्रभाव फैलिरहेको अवस्थामा, परम्परागत चोक बजारहरू फुर्सदिला छन्। यस्ता समयमा नगरपालिकाले आफ्ना जनतालाई आर्थिक सक्रियतामा ल्याउने प्रयास गरेको छ।

5549948868 Palungtar hatbazar

‘ताजा उत्पादन, उचित मूल्य- पालुङटार हाटबजार हाम्रो साझा धरोहर’ भन्ने मूल नारा सहित सुरु गरिएको यस हाटबजारले उद्घाटनकै दिन करिब ५ लाख ४८ हजार ८०० रुपैयाँ बराबरको स्थानीय उत्पादन बिक्री भएको नगरपालिकाले जनाएकाे छ।

उद्घाटन कार्यक्रममा स्थानीय कृषकका तरकारी, फलफूल, अन्नबाली, जडीबुटी, कुखुरा तथा खसीबोका उत्पादन तथा तिनीहरूको प्रदर्शनी समावेश गरिएको थियो।

554994868 Palungtar hatbazar

आजको समयमा विषरहित र ताजा तरकारी सहज रूपमा उपलब्ध नहुनुले उपभोक्तामा स्वास्थ्य जोखिम उत्पन्न भइरहेको छ।

पालिकाको सक्रियतामा सञ्चालन भएको हाटबजारले यी समस्याको समाधान गर्दै कृषकलाई उत्पादन बिक्रीको प्रत्यक्ष अवसर प्रदान गरेको छ। यसले किसानलाई उत्साहित बनाएको र कृषि कर्ममा थप मनोबल थप्ने काम गरेको आयोजकहरूले बताएका छन्।

नगरपालिकाको पहलमा सुरु गरिएको यस हाटबजारले स्थानीय कृषकले उत्पादनलाई प्रत्यक्ष बजारसम्म पुर्‍याउन सहज हुने नगरपालिकाले जनाएको छ । यसबाट कृषकले आफ्नो उत्पादन उचित मूल्यमा बिक्री गर्ने अवसर पाउनेछन् भने उपभोक्ताले पनि ताजा र स्थानीय वस्तु सहजै खरिद गर्न सक्नेछन् ।

नगरपालिकाले कृषि व्यवसायलाई प्रोत्साहन गर्ने र कृषकलाई आत्मनिर्भर बनाउन योगदान पुर्‍याउने उद्देश्यले हाटबजार सञ्चालनमा हाे ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ