काठमाडौं- जेनजी आन्दोलनका क्रममा संसद् भवनभित्र रहेको राष्ट्रिय वाणिज्य बैंकको नयाँबानेश्वर शाखाबाट ठुलो परिमाणमा नगद र सुन लुटपाट भएको खुलासा भएको छ।
नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले सुशान्त प्रधानसँगको पडकास्टमार्फत करिब ५ करोड रुपैयाँ नगद र १८ किलो सुन चोरी भएको पुष्टि गरेका छन्। उनका अनुसार यो करिब ३८ करोड रुपैयाँ बराबरको सम्पत्ति हो।
गभर्नर पौडेलले भने, ‘संसद् भवनभित्रकै शाखाबाट ठुलो लुटपाट भएको छ। अहिले पनि सिसिटिभी फुटेज र अन्य प्रमाणको आधारमा अनुसन्धान भइरहेको छ।’
अहिले राष्ट्र बैंकले संसद् भवनमा रहेको वाणिज्य बैंकको शाखा कार्यालयबाहेकका अन्य क्षतिग्रस्त कार्यालयहरुबाट रकम लुटपाट नभएको जनाएको छ। लुटपाटको प्रयास भए पनि सफल हुन नसकेको देखिएको छ।
‘उनीहरुको उद्देश्य बैंकभन्दा पनि संसद् र भाटभटेनी थिए। भाटभटेनीभित्र रहेका एटीएम, सरकारी अफिसभित्र र बिजनेस कम्प्लेक्सभित्र भएका शाखाहरुमा अट्याक गरेका छन्’, उनले भनेका छन्, ‘भरतपुरमा एटीएम मेसिन लुटे तर लुटे पनि पैसा भने निकाल्न सकेनन्। एटीएम लुटे पनि पैसा निकाल्नै सकिँदैन। यो लुटेर केही हुनेवाला छैन।’
उनले नबिल बैंकको चाबहिल शाखा, वाणिज्य बैंककै दुहबी शाखामा पनि लुट्ने गम्भीर प्रयास भएको बताउँदै बैंककै कर्मचारीको तदारुकताले बचेको उल्लेख गरेका हुन्। यद्यपि प्रदर्शनको इपिसेन्टर बनेको संसद् भवनमा रहेको वाणिज्य बैंकको शाखा भने बचाउन सक्ने अवस्थाभन्दा बाहिर थियो। जसले मानिसहरुको हुलले नै शाखा कार्यालयमा रहेको लकर तोडफोड गरी नगद र सुन चोरेर भागेका थिए।
राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्र रमण खनालले पनि उक्त शाखामा भएको क्षतिको अनुसन्धान अन्तिम चरणमा पुगेको जानकारी दिए। ‘हामीले अनुसन्धान अन्तिम चरणमा पुर्याएका छौँ, आज र भोलिमै सकिनेछ। त्यसपछि मात्रै कति क्षति भयो भन्ने यकिन हुनेछ,’ उनले बताए।
उक्त शाखाबाहेकका अन्य शाखाहरू भने कर्मचारी र प्रदर्शनकारी दुवैको संयमका कारण लुटपाटबाट जोगिएका थिए। गभर्नर पौडेलका अनुसार संसद् भवनमा रहेको शाखा बाहेक अरू सबै शाखा सुरक्षित रहेका छन्।
आन्दोलनका क्रममा मुलुकभर ६८ वटा बैंक शाखामाथि आक्रमण र ६९ वटा एटिएममा क्षति पुगे पनि समग्र बैंकिङ प्रणाली सुरक्षित रहेको गभर्नर पौडेलले बताए। उनका अनुसार आन्दोलनका बेला पनि पेमेन्ट सिस्टमलाई निरन्तरता दिन राष्ट्र बैंक र अन्य वित्तीय संस्थाहरू सक्रिय तैनाथ गरिएका थिए।
घटना लगत्तै बैंकर्स एसोसिएसनले प्रारम्भिक क्षतिको विवरण सार्वजनिक गरे पनि अन्तिम विवरण भने अझै सार्वजनिक भएको छैन। सम्भवतः केही दिनभित्र राष्ट्र बैंकले विस्तृत विवरण सार्वजनिक गर्ने जनाइएको छ।
गभर्नर पौडेलले पनि घटना घट्ने बित्तिकै बैंक सीईओहरूसँग भेटेर क्षतिको विवरण मागेको र अझै केही विवरण आउन बाँकी रहेको बताए।
प्रतिक्रिया