काठमाडाैं- मलेसिया रहेको ए एच एम सेक्युरिटी एन्ड कन्सल्टेन्सीले नेपालका केही म्यानपावरको मिलेमतोमा अवैध धन्दा गरेको खुलासा भएको छ । कम्पनीले कानुन विपरीत १२ सय ९७ नेपाली कामदारको माग पत्रको लागि नेपाली दूतावास मलेसियामा प्रमाणीकरणका लागि निवेदन दिएर प्रक्रिया सुरु गर्नु पर्नेमा सो नगरेको पाइएको छ ।
कम्पनीले मागेको माग पत्रमा समस्या छ भन्दै नेपाली राजदूतावासले हालसम्म कम्पनीलाई मानपत्र प्रमाणीकरण दिएको छैन । मानपत्र प्रमाणीकरण नभए पनि ए एच एम सेक्युरिटी कन्सल्टेन्सीले नेपालका एक दर्जन भन्दा बढी म्यानपावरहरूलाई आफ्नो कम्पनीको मानपत्र विक्री गरी करौंडौं रकम असुली गरेको छ ।
नेपालका मेनपावरहरुले पनि दूतावासको प्रमाणीकरणलाई बेवास्ता गर्दै कम्पनीलाई रकम बुझाई पाँच सय भन्दा बढी कामदारको डकुमेन्ट बुझाइसकेका छन् ।
स्रोतका अनुसार दूतावासले अनुमति नदिईकन नै नेपालका मेनपावरहरुबाट नेपाली कामदारको कागजपत्र, स्वास्थ्य परीक्षण तथा पासपोर्ट लिई पाँच सय जना भन्दा बढीको कलिङ भिषा निकालिसकेको छ । सो कम्पनीले वैधानिक रूपमा नेपाली कामदार मलेसिया ल्याउन सम्भव देखिएको छैन । यस कार्यबाट ए एच एम सेक्युरिटी एन्ड कन्सल्टेन्सीमा आवेदन गरेर भिषा प्राप्त भएका नेपाली कामदारहरू प्रत्यक्ष रूपमा पीडित हुने निश्चित छ । उक्त कम्पनीमा आउने कामदारहरूले नेपालका म्यानपावर र एजेन्टहरूलाई रकमसमेत बुझाइ सकेका छन् ।
राजदूतावासले पहिलो चरणमा तीनसय जनाको कोटा पास गर्छ भन्ने जानकारी हुँदा हुँदै पनि ए एच एम सेक्युरिटी एन्ड कन्सल्टेन्सीले नेपालका एक दर्जनभन्दा बढी म्यानपावर कम्पनीको नाममा १ हजार ९७ जनाको माग पत्रका लागि दूतावासमा निवेदन पेस गरेको छ । मलेसियन र मलेसियन कानुन व्यवसायीहरूले ए एच एम सेक्युरिटी एन्ड कन्सल्टेन्सीका विरुद्ध कम्पनीको डाइरेक्टरसहितलाई मलेसिया प्रहरीमा उजुरी गरिसकेको स्रोतले बतायो । स्रोतका अनुसार विभिन्न व्यक्तिसँग कानुनी तथा गैर कानुनी कागजपत्रहरूमा सहिछाप गरी आर्थिक लेना देना गरेको छ ।
नेपालका तथा मलेसियामै रहेका केही बिचौलियाहरूले यसमा चलखेल गरेको पनि स्रोतको दाबी छ ।
मलेसियास्थित नेपाली दूतावासका लेबर कन्सुलर कृष्णप्रसाद भुसालका अनुसार ए एच एम सेक्युरिटी एन्ड कन्सल्टेन्सीले विगत पाँच महिना अगाडि नै राजदूतावास मा माग पत्र प्रमाणीकरणको लागि पेस गरेको भएता पनि विभिन्न कारणले हालसम्म मानपत्र प्रमाणीकरण हुन नसकेको बताए ।
ए एच एम सेक्युरिटी एन्ड कन्सल्टेन्सीले नेपालमा रहेको उत्सव एच आर प्रा. ली., रेडियन्ट ओभरसीज प्रा. ली., एमिनेन्स रिक्रुटमेन्ट इन्टरनेशनल प्रा. ली., विज्ञान एच आर म्यानेजमेन्ट प्रा. ली., ट्रस्ट इन्टरनेशनल ओभरसीज प्रा. ली., अनमोल ओभरसीज प्रा. ली., अमन ओभरसीज प्रा. ली., स्विफ्ट गोर्खा इन्टरनेशनल प्रा. ली., ह्याप्पी नेपाल इम्प्लोयमेन्ट प्रा. ली., सनराइज एच.आर. सोलुसन प्रा.ली. र मनि होम ओभरसिज प्रा. ली. नामक म्यानपावर कम्पनीको नाममा विगत केही महिना अघि नै मानपत्र प्रमाणीकरणका लागि आवेदन दिइसकेको छ ।
यी १२ म्यानपावरलाई अन्तिममा दूतावासमा उक्त कम्पनीले प्रमाणीकरणका लागि आवेदन दिए पनि त्यो भन्दा पहिला नै ए एच एम सेक्युरिटी एन्ड कन्सल्टेन्सीले विभिन्न एजेन्टहरू प्रयोग गर्दै अन्य दुई दर्जनभन्दा बढी मेनपावरहरुलाई पनि उक्त कम्पनीको मानपत्र नमुना बनाउँदै विक्री वितरण गर्दै आएको स्रोतको भनाइ छ । वैदेशिक रोजगार ऐन अनुसार नेपाली राजदूतावासले मानपत्र प्राप्त भएपछि प्रमाणीकरण गर्नुपर्छ ।
प्रमाणीकरणको कार्य सकेपछि वैदेशिक रोजगार विभागबाट पूर्वस्वीकृत लिनुपर्छ । पूर्वस्वीकृतको विज्ञापन नेपालको राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशन गरी अन्तरवार्ताको मिति तय गरिन्छ ।
अन्तरवार्तामा छनौट भएका कामदारहरूको मेडिकल परीक्षण गरी उत्तीर्ण भएका कामदारहरू मात्र कलिङ भिषाका लागि मलेसियाको अध्यागमनमा एप्लाई गर्न योग्य ठहरिन्छ । तर एएचएम सेक्युरिटी एन्ड कन्सल्टेन्सीले नियम उल्लंङ्घन गरी पाँच सय जनाभन्दा बढीको कलिङ भिषा निकालेको हो ।
प्रतिक्रिया