काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई बर्खास्त गर्ने तयारी गरेका छन् ।
भूमि आयोग र मालपोत सरुवासम्बन्धी घुस लेनदेनको अडियो सार्वजनिक भएपछि मन्त्री गुप्तामाथि चौतर्फी दबाब बढेको छ।
कर्मचारी सरुवा रोक्न र नियुक्ति दिलाउन ७८ लाख घुसको ‘डिल’ गरेको घटना बाहिरिएपछि उनलाई एक्सनको तयारी गरिएको बालुवाटार स्रोतले जनाएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले झापाको भद्रपुरबाट काठमाडौं फर्किए लगत्तै कुराकानी गर्ने भएका छन् ।
सार्वजनिक अडियोमा गुप्ता एक व्यक्तिसँग भूमि आयोग कास्कीको अध्यक्षमा खेम पुनलाई नियुक्त गर्न र मालपोत कार्यालयका एक अधिकृतको सरुवा रोक्न घुसको डिल गर्दै गरेको स्पष्ट सुन्न सकिन्छ।
मन्त्री गुप्ताले मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको सरुवा रोक्न ५३ लाख घुस लिएको दाबी गर्दै घुस रकम राखिएका दुई झोला, नोट नम्बर र नोटका बन्डलको फोटोसहित अख्तियारमा उजुरी परेको छ ।
त्यस्तै, मन्त्री गुप्ताले भूमि आयोग कास्कीको अध्यक्ष नियुक्त गरिदिन बिचौलियासँग २५ लाख घुस डिल गरेको छुट्टै अडियो पनि सार्वजनिक भएको छ । उनले भूमि व्यवस्थामन्त्री अधिकारीको पनि नाम लिएका छन् ।
गुप्ताले लमजुङ मालपोत प्रमुखको सरुवा रोक्न ५३ लाख घुस मागेका थिए भने भूमि आयोगमा नियुक्तिका लागि थप २५ लाखको माग गरिएको उल्लेख छ। यिनै प्रकरणले प्रधानमन्त्रीलाई मन्त्री फेर्ने सोचमा पुर्याएको स्रोतको भनाइ छ।
गुप्ता सत्तारूढ नेकपा एमालेका प्रभावशाली नेता तथा प्रधानमन्त्री ओलीका निकटतम मानिन्छन्।
उनीमाथि यसअघि पनि सरुवा र थमौतीमा चलखेल गरेको आरोप लागिसकेको छ।
केही महिनाअघि उनको स्वकीय सचिव शिव पटेलले प्रशासकीय अधिकृतसँग लाखौंको डिल गरेको ह्वाट्सएप च्याट सार्वजनिक भएको थियो।
प्रतिक्रिया