रौतहट– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले संघीय निजामती विधेयक प्रतिनिधि सभाबाट पारित हुने बताएका छन् ।
उनले विधेयक सदनमा टेबुल भइसकेकाले अबको आउने कार्यसूचीमा संघीय निजामती विधेयक प्रतिनिधि सभाबाट पारित हुने ठोकुवा गर्दै यही महिना तथा अधिवेशनको अन्त्यतिर देशमा संघीय निजामती विधेयक आउने बताए ।
रौतहटको गरुडा नगरपालिकाको नगर अधिवेशनमा उनले भिजिट भिषा प्रकरणका बारेमा बोल्दै अख्तियारले गम्भीर रूपमा छानबिन गर्दै आएकाले छानबिनको सुइँ कहाँ/कहाँ पुग्छ सबै कारबाहीको घेरामा पर्ने बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिषा प्रकरणमा गृहमन्त्रीको नैतिकताको आधार देखाएर राजीनामा माग्नु जायज नभएको तर्क राखे ।
अहिलेका गृहमन्त्री स्वच्छ छविका भएको उनले टिप्पणी गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिमाथि पाँच वटा ठगीको मुद्दा लागेर जेलमा रहेको उल्लेख गर्दै उनले नैतिकताको पाठ सिकाउने अध्यक्ष रवि लामिछानेले राजीनामा नदिएको प्रसंग पनि जोडे ।
गरुडा नगरपालिकाको १३ औँ नगर सभा तथा ९ औँ बजेट अधिवेशनबाट आगामी आर्थिक वर्ष ०८२/०८३ का लागि नीति तथा कार्यक्रममार्फत कुल ६९ करोड २६ लाख १७ हजार ३ सय ६७ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ ।
कार्यक्रम मार्फत कृषि, स्वास्थ्य र शिक्षालाई विशेष प्राथमिकता दिएको छ ।
प्रतिक्रिया