कतार- दोहास्थित सनैया वेलफेयर रेस्टुरेन्टको सभाहलमा गोरखा सेवा समाज कतारको १३ औँ अधिवेशन तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।
समाजका अध्यक्ष ओमराज गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा ग्लोबल गोरखा समाजका उपाध्यक्ष तथा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का मध्यपूर्व उपसंयोजक श्रीकृष्ण भट्टराई प्रमुख अतिथिको रूपमा उपस्थित थिए।
सन् २००३ मा स्थापना भएको गोरखा सेवा समाज कतार नेपाली समुदायभित्रको अग्रणी संस्था मानिन्छ।
स्थापना कालदेखि नै परोपकारी तथा सामाजिक सेवामा सक्रिय रहँदै आएको यस संस्थाले जिल्ला अस्पताल, गोरखालाई इसिजी मेसिन र चारवटा स्ट्रेचर बेड प्रदान गर्नुका साथै विभिन्न विद्यालय भवन निर्माणमा सहयोग पुर्याएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
हालसम्म पच्चीस लाख रुपैयाँको अक्षयकोष स्थापना गरी जिल्लाका विपन्न, असहाय र संरक्षित बालबालिकाहरूलाई निरन्तर सहयोग गर्दै आइरहेको जानकारी पनि सभामा प्रस्तुत गरिएको थियो।
संस्थाले नेपाली कला, भाषा र संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि मनकामना कला केन्द्र स्थापना गरी कलाकार उत्पादनमा टेवा पुर्याउँदै मौलिक संस्कृति जगेर्नामा सफलता हासिल गरेको संरक्षक बुधबल गुरुङले बताएका थिए।
समाजले जिल्लाभित्र सडक र गल्लीहरूमा भौँतारिरहेका बेसहाराहरूलाई सेवा पुर्याउन मानव सेवा आश्रमसँग सहकार्य गर्दै जनचेतनामूलक, ज्ञानवर्धक र मानवीय गतिविधिहरूलाई प्राथमिकता दिँदै चरणबद्ध रूपमा काम गर्दै आएको जानकारी दिइयो।
हालै मात्र मानव सेवा आश्रमलाई पाँच लाख एघार हजार एक सय एघार रुपैयाँ हस्तान्तरण गरिएको समाचार पनि कार्यक्रममा प्रस्तुत गरिएको थियो।
समारोहका प्रमुख अतिथि भट्टराईले सन् २००३ देखि हालसम्म समाजले गरेका योगदानहरू प्रेरणादायी रहेको उल्लेख गर्दै संस्थाले नेपाली समुदायको सेवामा पुर्याएको योगदानलाई गौरवका रूपमा लिएका थिए।
उनले समाजले प्रवासी भूमिमा नेपाली स्वाभिमान र एकताको प्रतिनिधित्व गरिरहेको बताए।
१३ औँ अधिवेशनमार्फत सन् २०२५ देखि २०२७ कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरिएको छ।
नवनिर्वाचित कार्यसमितिमा अध्यक्षमा विकास श्रेष्ठ चयन भएका छन्। वरिष्ठ उपाध्यक्ष अर्जुन संग्रौला, उपाध्यक्षहरू राजेन्द्र पराजुली र रामचन्द्र गिरि, महासचिवमा रुद्र बहादुर भट्ट, सचिवहरू पवन गुरुङ र पूर्ण बहादुर गुरुङ, कोषाध्यक्ष अशोक श्रेष्ठ तथा सह कोषाध्यक्ष दिनेश थापा चयन भएका छन्।
त्यस्तै, विभिन्न स्थानीय तह समन्वयकर्ताको रूपमा पालुङटार नगरपालिकाबाट नन्दलाल श्रेष्ठ, सिरानचोक गाउँपालिकाबाट सूर्य बहादुर गुरुङ, अजिरकोट गाउँपालिकाबाट राजु गुरुङ, शहीद लखन गाउँपालिकाबाट दीपक बिक, आरुघाट गाउँपालिकाबाट रश्मि गुरुङ चयन भएका छन्। साथै केन्द्रीय सदस्यमा दुर्गा भुजेल, मालती गुरुङ, मदन बखाती र प्रदीप मल्ल ठकुरी मनोनयन भएका छन्।
प्रवासी नेपालीहरूको एकता, सेवा भावना, सांस्कृतिक पहिचान र सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्धता दर्साएको थियो।
कतारस्थित नेपाली समुदायबीच गोरखा सेवा समाजको यो सक्रियता अन्य संस्थाहरूका लागि पनि प्रेरणा बन्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया