काठमाडौं– शिक्षकहरूले १६ दिनदेखि काठमाडौं केन्द्रित सडक आन्दोलनलाई जारी राखेका छन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा जारी आन्दोलन थप आक्रामक हुँदै गइरहेको छ ।
जसको प्रभाव उपत्यकासहित देशभरका सामूदायिक विद्यालयमा परेको छ । नयाँ शैक्षिक सत्रको सुरु भएपनि भर्ना कार्यक्रम सुरु हुन सकेको छैन । काठमाडौं उपत्यकाको सवारी आगमनमा समस्या भइरहेको छ ।
१६ दिनदेखि शिक्षकहरूको राजधानी केन्द्रित सडक आन्दोलन बिहीबार पनि जारी राखेका छन् । बिहीबार नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरूले माइतीघरबाट प्रदर्शनसहित बानेश्वर पुगेर धर्ना दिएका छन् ।
मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले शिक्षकहरूको माग सम्बोधन गर्न वैशाख १२ गतेलाई संसद बैठक आव्हान गरेपनि शिक्षकहरूले आन्दोलनलाई थप चर्काएका हुन् ।
मन्त्रिपरिषद् बैठकले विद्यालय शिक्षा विधेयक छिटो पारित गर्ने समेतका प्रयोजनका लागि संघीय संसद्को अधिवेशन वैशाख १२ गते बोलाउन सिफारिस गर्ने निर्णय गरेको थियो ।
शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी नगरेसम्म आन्दोलन जारी रहने बताउँदै आएका छन् ।













प्रतिक्रिया