+
Search

ताजा अपडेट +

पपुलर +

‘बजेट प्रभावकारी’ बनाउन गण्डकीले काठमाडौँमा अन्तरक्रिया गर्दै

पालिका लाइभ
२०८० जेष्ठ १५, सोमबार

गोरखा– गण्डकी गाउँपालिकाले बजेट, नीति तथा कार्यक्रम निर्माणका लागि सक्रियता बढाएको छ ।

सही नीति र कार्यक्रममार्फत प्रभावकारी बजेट ल्याएर गाउँपालिकाको समग्र विकास गर्ने उद्देश्यका साथ गण्डकीले सरोकारवालासँगको छलफल र परामर्शलाई प्राथमिकता दिएको छ ।

यस्तो छलफल र परामर्शलाई स्थानीय तहभित्र मात्रै सीमित नगरेर गण्डकी गाउँपालिकाले काठमाडौँमा विभिन्न पेसा व्यवसाय गरेर बस्दै आएका पालिकाबासीसँग पनि परामर्श गर्ने भएको छ ।

गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिनाले त्यसका लागि आगामी जेठ २० गते राजधानीमा वृहत् अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

‘संघीय लोकतान्त्रिक व्यवस्थाअनुसार देश सङ्घीयतामा गइसकेपछि संघ सरकारले जेठ १५ गते बजेट निर्माण गर्नुपर्ने हुन्छ । प्रदेश सरकार असार १ गते र स्थानीय असार १० बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने स्थिति भएको कारणले हामीले १० गते बजेट, नीति तथा कार्यक्रम तर्जुमा गर्दा गण्डकी गाउँपालिकाको विकास र समृद्धिका लागि सबै पक्षसँग छलफल र परामर्श गर्ने कार्यपालिका बैठकबाटै निर्णय गरेको छ’, उनले भने, ‘सोहीअनुसार गण्डकी गाउँपालिकाभित्र स्थायी बसोबास भई विभिन्न पेसा व्यवसायका क्रममा काठमाडौँमा रहनु भएका पालिकाबासीसँग जेठ २० गते काठमाडौँको नयाँ बजारमा बृहत अन्तरक्रिया गर्न लागेका छौँ ।’

350246025 gandaki

उनले गाउँपालिकाको विकासका लागि सबै पक्षको सुझाव, सल्लाह र परामर्शका साथसाथै सहयोगको आवश्यकता रहेको बताए । उनले छलफलबाट निस्केका निष्कर्षलाई बजेट, नीति तथा कार्यक्रममा समेटेर अघि बढिने प्रतिबद्धता पनि जनाए ।

‘कार्यक्रममा दिइएका सुझावका विषयलाई बजेटमा समेटेर प्रभावकारी ढङ्गले विकासमा लाग्छौँ । यसले विशेष गरी पूर्वाधारको क्षेत्रमा, सामाजिक विकासको क्षेत्रमा, आर्थिक विकासको क्षेत्रमा, सुशासनको क्षेत्रमा थप प्रकारको ऊर्जा मिल्छ । उपत्यकामा बस्नुभएका गाउँपालिकाबासी सबैको सुझाव हामीलाई अमूल्य रहन्छ’, उनले भने ।

गाउँपालिकामा ठुलो सङ्ख्यामा चेपाङ समुदाय, दलित तथा आदिवासी समुदायहरूको बसोबास छ । उक्त समुदायहरूको सर्वाङ्गीण विकासमा सबैको हातेमालो, सोच तथा सल्लाह सुझाव लिन छलफल कार्यक्रमले ठुलो सहयोग गर्ने तिमल्सिनाले बताए ।

यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिजेश उपरकोटीले जेठ २० गते नयाँबजारस्थित सगुन क्याफेमा सञ्चालन हुने अन्तरक्रियामा सहभागी हुन सबै सरोकारवालालाई आग्रह गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ