काठमाडाैँ– बुधबार बसेको संसदीय सुनुवाई विशेष समितिको बैठकले पनि सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अनुमोदन गर्न सकेन ।
सर्वसम्मतिमा अस्वीकृत गर्ने सत्तारुढ नेकपाको प्रस्तावमा प्रमुख वपक्षी काँग्रेस असहमत भएपछि विवादबीच समिति बैठक शुक्रबार बिहान १० बजे बस्ने गरी स्थगित भएको छ ।
नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र रहेको भन्दै समितिमा रहेका नेकपा तर्फका सांसद जोशीको नाम अनुमोदन नगर्ने पक्षमा छन् । जोशीको सिफारिसबारे परेका उजुरी सम्बन्धमा समितिले गत बिहीबार उनीसँग छलफल गरेको थयो ।
तर, शैक्षिक योग्यताको विवाद, जोशी संलग्न इजलासले आर्थिक प्रलोभनमा परेर गरेको सरकारी जग्गा व्यक्तिका नाममा पार्ने तथा मुलुकलाई करोडौं नोक्सान पर्ने गरी एनसेलको लाभकर विदेश लान अनुमति दिनेजस्ता विवादित फैसलाबारे आफूहरुले सोधेको प्रश्नको जवाफै नदिएको भन्दै सांसदहरु उनीसँग रुष्ट छन् ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै ज्येष्ठ सदस्यका हैसियतमा समितिको अध्यक्षता गर्दै आएका सांसद लक्ष्मणलाल कर्णले सर्वसम्मतिको प्रयासका लागि शुक्रबारसम्म बैठक स्थगन गर्नुपरेको बताए ।
नेकपा सांसद योगेश भट्टराईले आफूहरुले बहुमतका आधारमा निर्णय गरे बहिस्कार गर्ने काँग्रेसतर्फका सदस्यहरुको चेतावनीका कारण बैठक सारिएको प्रतक्रिया दिए । ‘हामीले आजै (बुधबार) निर्णय गर्न खोजेका थियौं ।
काँग्रेसका साथीहरुले बहिस्कार गर्ने चेतावनी दिएपछि भरसक सर्वसम्मति गरौं भन्ने उद्देश्यले शुक्रबार बस्ने गरी बैठक स्थगित गरेका छौं’, ‘भट्टराईले भने, ‘हामीले स्पष्ट रुपमा उहाँहरुलाई भनेका छौं, यो अन्तिमक पटक हो । अब समय सर्दैन ।’ यसअघि समितिको बैठक चार पटकसम्म स्थगित भइसकेको छ ।
प्रतिक्रिया