गोरखा– सहीद लखन थापा गाउँपालिका वडा नम्बर ६ अँधेरीमा बुधवार बिहान पहिरोले घर भत्किँदा तीन जनाको मृत्यु भएको छ ।
अधेरीका स्थानीय नवराज कुँवरको घर पहिरोले भत्किँदा उनकी छोरी १० वर्षीय प्रमिना कुँवर, भान्जी २० वर्षीय सरु र सरुकी आठ महिने छोराको मृत्यु भएको स्थानीय रामकृष्ण श्रेष्ठले जानकारी दिए ।
राती देखि परेको अविरल वर्षका कारण पहिरो खस्दा उनीहरू बसेको कोठा पुरिए पछि उनीहरूको मृत्यु भएको उनले बताए । बिहान करिब ६ः ३० बजेतिर पहिरो गएको हो । कुँवरकी भान्जी सरु पूजाको निम्तो मान्न मामाकी घर गएकी थिइन् ।
पहिरोमा परी अन्य २ जना सामान्य घाइते भएको स्थानीयले बताएका छन् । घटना स्थलमा समयमा नै प्रहरी पुगी नसकेको स्थानीयवासीले आरोप लगाए । यता जिल्ला प्रहरी कार्यालय गोरखाले भने घटना स्थल तर्फ प्रहरी गइसेकेको जनाएको छ ।
लगातारको वर्षा पछि गाउँका अन्य केही घरहरू पनि जोखिममा रहेको स्थानीयवासीको भनाई छ । लगातारको वर्षाले त्यस क्षेत्रमा अन्यत्र पनि धेरै स्थानमा पहिरो गएको स्थानीय बासीहरूले बताएका छन् ।
पहिरोले एकै घरमा ३ जनाको मृत्यु भएपछि अहिले अधेरी गाउँ शोकमा डुबेको छ । पहिरोका कारण वरपर रहेको ६ घर समेत जोखिममा रहेकोले अहिले सबैलाई स्थानीयको सहयोगमा नजिकै रहेको श्री दुर्गा प्राथमिक विद्यालयमा राखिएको छ ।
त्यस्तै, घार्चे गाउँपालिका वडा नम्बर ७ खानीबेसीमा पहिरोका कारण छ घर जोखिममा परेको इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्षक सुरज कार्कीले जानकारी दिए ।
‘यहाँ पहिरोले सात घर जोखिममा परेको छ’ उनले भने ‘पहिरोका कारण भौतिक क्षति भए पनि अन्य कुनै क्षति भएको छैन ।’ पहिरोका कारण स्थानीय सुनामी गुरुङ, सुन्दर गुरुङ, करीस्मा गुरुङ, सर्प्सिंङ गुरुङ, दीप बहादुर गुरुङ, कमानसिंह गुरुङको घर जोखिममा परेको उनले बताए ।
जिल्लामा लगातार दुई दिनदेखि परेको अविरल वर्षाले जिल्लाका केयौ भागमा पहिरो खसेको छ । २०७२ सालको विनाशकारी महाभूकम्पको केन्द्रबिन्दु रहेको गोरखामा लगातार पानी परेपछि पहिरो गएको हो । पहिरोका कारण गोरखाका ११ स्थानीय तहमध्ये अधिकांश स्थानमा पहिरो खस्ने सम्भावना रहेको जानकारहरू बत्ताउँछन् ।
जिल्लामा दैविक उद्धार तथा प्रकोप नियन्त्रण गर्नका लागि प्रमुख जिल्ला अधिकारको संयोजकमा विभिन्न संघ तथा संस्थाहरू सहितको उद्धार समिति भएता पनि समयमा नै उद्धारको काम नभएको सहिद लखन गाउँपालिकाका स्थानीयले आरोप लगाए ।
केही दिनदेखि निरन्तर पानी पर्न थालेपछि हालै मोटर बाटो निर्माण गरिएको धार्चे गाउँपालिका ५ को लप्सीबोट, वडा नं. ७ को खानीबेशी र लापुगाउँका बासिन्दाले पहिरोको जोखिम बढेको जनाएका छन् । विकासका लागि निर्माण गरिएको मोटरबाटोले पहिरो निम्त्याएपछि धार्चेका तीन गाउँका बासिन्दा जोखिममा बस्न बाध्य भएका हुन् ।
भूकम्पपछि हालै निर्माण गरिएको घर पनि पहिरोको जोखिममा परेको स्थानीयवासीको भनाइ छ । ‘गाउँमाथि पनि, गाउँमुनि पनि मोटर बाटो मोटर बाटो बनाएका छन्’, लप्सीबोटका रामप्रसाद गुरुङले भने, ‘अहिले पानी पर्न थालेपछि घरमुनि पनि पहिरो गयो, घरमाथिबाट पनि पहिरो आएको छ ।’
गाउँका १० घर जोखिममा परेको उनले बताए । ‘रामबहादुर गुरुङ, सिताराम गुरुङ, आसमान गुरुङ, तिलबहादुर गुरुङ, सुपाल गुरुङ, पूर्णमाया गुरुङ, माहिला गुरुङ, पूर्णबहादुर गुरुङ, सन्तबहादुर गुरुङ र भीमबहादुर गुरुङको घर जोखिममा पर्याे’, उनले भने, ‘रामबहादुरको त गोठ पहिरोले लगिसक्यो ।’
प्रतिक्रिया