+
Search

ताजा अपडेट +

पपुलर +

उत्तरी गोरखामा भारी हिमपात, गोठमै थन्किए चौंरी र याक

पालिका लाइभ
२०७४ माघ ७, आईतवार

गोरखा– उत्तरी गोरखामा भारी हिमपात भएको छ।

जिल्लाको उत्तरी सिमानामा पर्ने सामागाउँ, ल्हो, स्याला, प्रोक, बिही, सिर्दिबास, चुम्चेत, छेकम्पार, लाप्राकका गाउँहरु तथा करौंजा, काशिगाउँ, उहिया, गुम्दाका लेकमा हिउँ परेको हाे ।

जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी भेषराज रिजालले जानकारी दिए। मंगलबार रातिदेखि नै हिउँ पर्न थालेपछि उत्तरी क्षेत्रको जनजीवन कष्टकर हुँदै गएको छ।

लाप्राक लगायतका क्षेत्रमा डेढ फिटभन्दा बढी हिमपात भइसकेको छ। हिमपात अझै जारी रहेको रिजालले बताए। पश्चिमी वायुको प्रभावका कारण आज देशभरको मौसम परिवर्तन भएको छ।

उत्तरी गोरखाका २ हजार ५ सय मिटर उचाइभन्दा माथिका गाँउमा हिमपात भएको हो। चिसो बढेसँगै बिहानदेखि हिमपात भएको छ।

हिउँ परेपछि उत्तरी गोरखावासी बेँसी झर्ने गरेका छन्। तिब्बतसँग सीमा जोडिएको गोरखाको गाउँ साम्दोमा भने केही दिनअघि पनि सामान्य हिमपात भएको थियो।

‘ढिलो भए पनि हिउँ पर्‍यो,’ सामागाउँका छिरिङ हिराचनले भने, ‘अब भने खेती लगाउन पाइने भयो भनेर गाउँलेहरूमा पनि खुसीयाली छाएको छ।’

यो वर्ष सामागाउँमा पहिलो पटक हिउँ परेको हो।हिमपातका कारण चिसो बढेपछि दैनिक काम गर्न पनि समस्या भएको सामागाउँका वीरबहादुर लामाले बताए। उनले भने, ‘बाटोमा हिउँ थुप्रिएपछि आउजाउमा गाह्रो छ।

चरन पनि हिउँले ढाक्यो। याक र चौरीहरु गोठमै छन्।’हिमपात भएपछि आलु उत्पादन वृद्धि हुने स्थानीय कृषकले अपेक्षा गरेका छन्। जिल्लाको सामागाउँ, ल्हो, प्रोक, बिही र सिर्दिवास गाउँमा हिउँदको समयमा अत्यधिक हिमपात हुन्छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ