गोरखा– सोमवार अपरान्हवाट एक्कासि आएको हावाहुरीले भूकम्प प्रभावित गोरखाका उत्तरी क्षेत्रका बासिन्दा निकै समस्यामा परेका छन् ।
अस्थायी टहरा र त्रिपालमुनि बस्दै आएका उनीहरू हुरीतासले त्रिपाल र टहराको जस्ता पनि उडाएपछि वास बस्न , लत्ता कपडा राख्न र अन्नपात जोगाउन समेत समस्या भएको गुनासो गरेका छन् ।
गुम्दाका एक स्थानीयका अनुसार हावाहुरीका कारण जस्ता र त्रिपाल उडाएपछि उनीहरू त्रिपालको दुई छेउ समात्दै बसिरहेका छन् । ‘घर पनि भत्किएको र अस्थायी संरचना समेत क्षति पुगेपछि उनीहरू कष्टकर जीवन बिताइरहेका छन् ।’ लापुका एक शिक्षक श्याम बहादुर नेपालीले बताए ।
उता हावाहुरी र पानीका कारण चलिरहेको कक्षा ८ को जिल्ला स्तरीय परीक्षा समेत प्रभावित भएको छ । मुच्चोक गाविसको चर्तुमाला उमाविका शिक्षक वासु देवकोटाका अनुसार अस्थायी टहराको छानो उड्ने र क्षति पुग्ने डरले आजको परीक्षामा विद्यार्थीले रामे लेख्न सकेनन् ।
‘परीक्षा नै स्थगित गर्नुपरेन तर छाना उडाउने डरका कारण मनोवैज्ञानिक डरका कारण विद्यार्थीले राम्रो गर्न सकेनन् ।’ शिक्षक देवकोटाले भने ।
यता छोप्राकको धर्मावती माविको अस्थायी टहरामा क्षति पुग्ने भयले विद्यार्थीको परीक्षा एक सार्वजनिक भवनको एकै कोठामा राखेर सञ्चालन गर्नुपरेको थियो ।
एक शिक्षकका अनुसार विद्यालय सञ्चालन भइरहेको कटेरो उडाउने डरले सबै विद्यार्थीलाई पीयुसिडिको पुरानो भवनमा सञ्चालन गरिएको थियो । यता मुच्चोकको माथिल्लो भेगमा परेको असिनाका कारण त्यहाँका सागपात, तरकारी वाली, र भर्खरै उम्रेको मकै बालीमा क्षति पुगेको छ । ‘हावाहुरीले टहरा उडायो, असिनाले वाली सिद्धायो अव खाने के र बस्ने कहाँ ?’
मुच्चोकका हरि देवकोटाले टेलिफोनमा भने, ‘यो साल त हाम्रो लागि कालै बनेर आएको रहेछ ।’
हुरीले केही दिन अघि देखि आकाशमा देखिएको तुवाँलो हटे पनि पर्याप्त पानी भने पर्न नसक्दा किसानहरू भने चिन्तित भएका छन् ।
यता जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक शंकर आचार्यले भने हावाहुरीले सामान्य क्षति पुर्याएको हुन सक्नै भन्दै कुनै पनि अप्रिय घटनाको जानकारी कार्यालयमा प्राप्त नभएको दाबी गरे ।
यसैवीच भूकम्पले समेत ढलाउन नसकेको गोरखकाली रबर उद्योगको धुवाँ फाल्ने चिम्नी आजको हावाहुरीले ढालेको छ । उक्त चिम्नी वैशाख १२को भूकम्पको वेला समेत केही भएको थिएन ।
प्रतिक्रिया