+
Search

ताजा अपडेट +

पपुलर +

बेलायती लाहुरेले बनाइदिए जनज्योति उच्च माविको विद्यालय भवन

पालिका लाइभ
२०७२ चैत्र ६, शनिबार

गोरखा– बेलायती सेनाका कार्यरत सैनिक जवानहरूले गोरखा जौवारिमा भूकम्पबाट ध्वस्त भएको एक विद्यालय निर्माण गरेका छन् ।

सेनामा कार्यरत बेलायती नागरिकसहित नेपाली युवाले जौवारि ५, चिप्लेटीडाँडास्थित जनज्योति उच्च माविको भवन निर्माण गरेका हुन् । विद्यालय भवन निर्माणका लागि बेलायती सेनाको एल टुकडी ७० गोर्खा फिल्ड स्क्वाड्रन, द क्वीन्स् गोर्खा इन्जिनियर्सको टोली खटेको थियो ।

लेफ्टिनेन्ट जोन्सको नेतृत्वमा खटिएका ३० जनाको टोलीले एक महिनाको अवधिमा ६ कोठे भवन निर्माण गरेका हुन् । उनीहरूले आमा समूहको मातहतमा रहने गरी ३ कोठे सामुदायिक भवनको पनि निर्माण गरेका छन् । सार्जन्ट वीरेन्द्रकुमार काङबाङका अनुसार ‘प्रि फेब्रिकेटेड’ सामग्री र प्रविधिबाट भवन निर्माण गरिएको छ ।

बेलायती संस्था गोर्खा वेलफेयर ट्रस्ट (जिडब्ल्यूटी) को सहयोगमा गोर्खा वेलफेयर स्किम (जिडब्ल्यूएस) इकाई कार्यालय गोरखाले सो भवन निर्माण गरेको हो । ‘वैशाख १२ गते भूकम्पले विद्यालय ध्वस्त बनाएपछि बनाइदिन आग्रह गर्दै १७ ठाउँमा निवेदन दियौँ’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्छर बहादुर थापामगरले भने, ‘जिडब्ल्यूएस र गोर्खा फाउन्डेसनले हाम्रो माग सम्बोधन गर्‍यो । बेलायतबाट लाहुरेहरू आएर विद्यालय बनाए’ ।

विद्यालयका प्रधानाध्यापक मुनप्रसाद देवकोटाका अनुसार भूकम्पले विद्यालयको १४ कोठे भवन सबै ध्वस्त बनाएको थियो ।

भूकम्पले विद्यालय भवन भत्किएर विद्यार्थी पढ्नबाट वञ्चित भएको खबरले स्तब्ध बनाएपछि स्वदेश फर्केर विद्यालय भवन निर्माणमा जुटेको सार्जन्ट विष्णु गुरुङले बताए ।

‘घटना सुन्दा दुःख लाग्यो । विपद्को बेला आफ्नै देशको सेवा गर्नुपर्छ भन्ठान्यौँ र आयौँ’ उनले भने, ‘हाम्रो साथ स्थानीयले पनि धेरै श्रमदान दिए । सबै निर्माणमा जुट्यौँ र सफल भयौँ ।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ