+
Search

ताजा अपडेट +

पपुलर +

कर्मचारीका लागि नयाँ आचारसंहिता, कार्यालय र सार्वजनिक स्थलमा मदिरा तथा धूम्रपान निषेध

पालिका लाइभ
२०८३ असार ३०, मंगलवार

काठमाडौं– सरकारले सरकारी कर्मचारीका लागि नयाँ आचारसंहिता लागू गर्दै कार्यालय तथा सार्वजनिक स्थलमा मदिरा सेवन, धूम्रपान, जुवातासलगायतका अमर्यादित गतिविधिमा संलग्न हुन रोक लगाएको छ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको ११ बुँदे आचारसंहितामा कर्मचारीले कार्यसम्पादन, अनुशासन, सेवाप्रवाह र आचरणका क्रममा पालना गर्नुपर्ने व्यवस्था समेटिएको छ।

आचारसंहिताको दफा ६(झ) अनुसार कर्मचारीले कार्यालय वा सार्वजनिक स्थलमा मदिरा सेवन गर्ने, धूम्रपान गर्ने, जुवातास खेल्ने वा अन्य अमर्यादित गतिविधिमा संलग्न हुन पाउने छैनन्।

त्यसैगरी, कार्यालय समयभित्र अत्यावश्यक कामले बाहिर जानुपरेमा सम्बन्धित सुपरिवेक्षकको स्वीकृति लिएर लगबुकमा विवरण उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ। साथै, आफू मातहतका शाखा तथा कर्मचारीलाई जानकारी गराई सेवा प्रवाहमा असर नपर्ने व्यवस्था मिलाउनुपर्ने पनि आचारसंहितामा उल्लेख छ।

मन्त्रालयले कर्मचारीलाई कुनै पनि प्रकारको अनुचित दबाब, प्रभाव वा प्रलोभनबाट मुक्त भई निष्पक्ष रूपमा काम गर्न, सेवाग्राही तथा सरोकारवालासँग कार्यालयबाहिर कामसम्बन्धी भेटघाट नगर्न तथा निजी स्वार्थ जोडिने निर्णय प्रक्रियामा संलग्न नहुन निर्देशन दिएको छ।

आचारसंहितामा सरकारी सम्पत्तिको प्रयोग सरकारी कामबाहेक अन्य प्रयोजनमा गर्न नपाइने व्यवस्था पनि गरिएको छ।

मन्त्रालयका अनुसार सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र सेवाग्राहीमैत्री बनाउनुका साथै अनावश्यक प्रक्रियागत ढिलाइ, अनुशासनहीनता र अमर्यादित व्यवहारलाई निरुत्साहित गर्ने उद्देश्यले नयाँ आचारसंहिता लागू गरिएको हो।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ